सिजनमा फलफूलको आपूर्ति बढी हुँदा राम्रो मूल्य नपाउनु र उत्पादन कुहिएर जानु किसानहरूको नियमित पीडा हो।
यसलाई व्यावसायिक अवसरमा बदलेका छन्, २६ वर्षीय आइज्याक थापाले।
ताजा फलफूल काटेर निश्चित तापक्रममा राखेपछि त्यसमा रहेको पानी सुक्छ। बोलीचालीको भाषामा 'ड्राई फ्रुट्स' भनिने यस्तो सुख्खा फलफूल कम्तिमा १२ महिना बिग्रिँदैन। ताजा फलफूलको स्वाद र पौष्टिक तत्त्व पनि खेर जाँदैन।
आपूर्ति बढी हुँदा सही दाम नपाउने वा कुहिएर जाने समस्याबाट किसानलाई मुक्ति दिने यो उपाय 'जेनजी' व्यवसायी आइज्याकले अपनाएका छन्।
उनले बिक्री नभएर खेर जाने अवस्थामा पुगेका फलफूलबाट 'ड्राई फ्रुट्स' बनाउने व्यवसाय सुरू गरेका छन्।
ललितपुरको महालक्ष्मी नगरपालिका–५ का आइज्याक पहिले सफ्टवेयर इन्जिनियर बन्न चाहन्थे। यही रूचि पछ्याउँदै सफ्टवेयर इन्जिनियरिङमा स्नातक गरे। तर इन्जिनियरिङ पढ्दा पढ्दै उनलाई बिजनेसमा रूचि बढ्यो र यही विषय लिएर स्नातकोत्तर पढ्न थाले।
पढाइ सँगसँगै सन् २०२५ अप्रिलबाट 'मन्दिरा फुड्स' नामको कम्पनी पनि खोले।
उनले यो कम्पनीबाट अचारको अनलाइन व्यवसाय सुरू गरे। एक जना कर्मचारीको भरमा चलाएको अचार व्यवसाय जमेपछि आइज्याकलाई नयाँ क्षेत्रमा हात हाल्ने हुटहुटी जाग्यो।
उनले काठमाडौंका डिपार्टमेन्ट स्टोर र मार्टहरूमा विदेशबाट आयातीत ड्राई फ्रुट्स बढी खपत भइरहेको देखेका थिए। त्यसमा स्वाद बढाउन अतिरिक्त चिनी मिसाइएको उनलाई मन परेको थिएन। यसलाई परिवर्तन गर्न उनले स्वदेशमै उत्पादित फलफूलमा आधारित र प्राकृतिक तरिकाले बनाइएको ड्राई फुट्स व्यवसाय गर्ने सोच बनाए।
यही सोच अनुसार आइज्याकले सन् २०२५ नोभेम्बरबाट कागतीको ड्राई फ्रुट उत्पादन र बिक्री सुरू गरे।

सुरूको तीन महिनामै मन्दिरा फुड्सले उत्पादन गरेको ड्राई फ्रुट सामाजिक सञ्जालमा भाइरल भयो।
अहिले मन्दिरा फुड्सले सिजन अनुसार ६–७ थरीका फलफूल सुकाएर ड्राई फ्रुट्स उत्पादन गर्दै आएको छ। यसका लागि विभिन्न जिल्लाका किसानकहाँ पुगेर सिधै फलफूल किनिरहेको आइज्याक बताउँछन्।
'हामी किवी इलामबाट ल्याउँछौं, स्याउ जुम्लाबाट ल्याउँछौं र स्ट्रबेरी ककनीबाट ल्याउँछौं,' आइज्याकले भने।
उनका अनुसार मन्दिरा फुड्सले पछिल्लो चार महिनामा १६ सयदेखि १७ सय किलो किवीको ड्राई फ्रुट बिक्री गरेको छ भने करिब दुई हजार किलो जुनारको ड्राई फ्रुट बेचेको छ।
ड्राई फ्रुट बनाउन अत्याधुनिक प्रविधि प्रयोग गरिरहेको जानकारी पनि उनले दिए।
यसका लागि सबभन्दा पहिला ताजा फलफूललाई धोइपखाली मेसिनमा राखिन्छ। त्यो मेसिनले फलफूललाई पातलो गरेर काट्छ। त्यसपछि ६५ देखि ७५ डिग्री तापक्रममा सुकाइन्छ। राम्रोसँग सुकेन भने फलफूल बिग्रिने सम्भावना हुन्छ।
'सामान्यतया फलफूल सुकाउन १२ देखि १५ घन्टा लाग्छ। कागती र जुनार जस्ता धेरै रस हुने फलफूल सुक्न १२ घन्टाजति लाग्छ भने स्ट्रबेरी ७–८ घन्टामै सुक्छ,' उनले भने।
कारखानाको क्षमता अनुसार अहिले एक पटकमा सय किलो ड्राई फ्रुट्स उत्पादन हुन्छ। बिहान र राति गरी दुईचोटि उत्पादन गरिने आइज्याकले बताए।
उनले यो व्यवसायमा करिब १५ लाख रूपैयाँ लगानी गरेका छन्। फलफूल काट्न र सुकाउन चीनबाट आयातीत मेसिन प्रयोग गरिन्छ। प्राकृतिक स्वाद कायम रहोस् भनेर चिनी लगायत अन्य कुनै पनि प्रकारको कृत्रिम स्वाद नमिसाउने उनले दाबी गरे।
'हाम्रा प्रायः ग्राहकले आफ्ना बालबच्चा र धेरैजसो बिरामीहरूका लागि किन्ने भएकाले यसमा अप्राकृतिक स्वाद मिसाउँदैनौं,' उनले भने।
उनका अनुसार सामान्यतया एक किलो फलफूल सुकाएपछि सय ग्रामको ड्राई फ्रुट उत्पादन हुन्छ। मन्दिरा फुड्सले हरेक फलफूलको सय ग्रामको प्याकेट बेच्दै आएको छ।
अहिले यहाँ ९ जना कर्मचारी काम गर्छन्। सिजनमा थप कामदार पनि लिइन्छ।
कम्पनीले अहिलेसम्म आफ्नै स्टोर खोलेको छैन। यसका उत्पादन अनलाइन र विभिन्न सहरका मार्टहरूमा उपलब्ध छन्। विराटनगर, चितवन, पोखरा, हेटौंडा, सुर्खेत र इटहरीमा राम्रो बजार लिएको कम्पनीले जनाएको छ। चाँडै दमक, बुटवल र भैरहवामा पनि बिक्री गर्ने तयारी छ। दैनिक ६०–७० वटा अनलाइन अर्डर आउने गरेको आइज्याक बताउँछन्।
मन्दिरा फुड्सले आफ्नो उत्पादन दुबई र अस्ट्रेलियामा पनि निर्यात गरिरहेको छ।
'खासमा हामीले सिजनमा उत्पादन गरेर अफ–सिजनमा बेच्ने योजना बनाएका थियौं। तर बनाउनेबित्तिकै बिक्री हुने भएकाले स्टक राख्न सकेका छैनौं,' उनले भने।

अहिले मन्दिरा फुड्सले मासिक करिब ५ देखि ६ लाख रूपैयाँको कारोबार गर्दै आएको छ। मूल्य भने फलफूल अनुसार फरक पर्छ। कागतीको ड्राई फ्रुट प्रतिप्याकेट (सय ग्राम) १९० रूपैयाँ पर्छ भने किवीको २९०, जुनारको ३४० देखि ३९० र मेवाको ४६० रूपैयाँ पर्छ।
ललितपुरको टिकाथलीमा कारखाना रहेको मन्दिरा फुड्सले व्यवसाय विस्तारको तयारी पनि गरेको छ। दुई महिनाभित्र थप मेसिन ल्याएर दैनिक २०० देखि ३०० किलोसम्म उत्पादन बढाउने र २२ जनासम्मलाई रोजगारी दिने योजना रहेको आइज्याक बताउँछन्।
आइज्याकले आफ्नी आमाको नामबाट 'मन्दिरा फुड्स' को नामाकरण गरेका हुन्। पछिल्लो समय यो कम्पनी किसानहरूसँग प्रत्यक्ष जोडिँदै आएको छ। किसानहरू आफै फलफूल बेच्न आउन थालेका छन्।
'प्रायः किसानहरू गोलभेडा खेर गयो भन्दै आउनुहुन्छ। हामीले गोलभेडा सुकाएर पाउडर बनाउने विचार गरेका छौं,' उनले भने, 'भविष्य अरू पनि फलफूलको पाउडर, मसला र तेलबिनाको चिप्स उत्पादन गर्ने योजना पनि छ।'
'नेपालमै केही गर्छु भन्ने मेरो सपना हो, मन्दिरा फुड्सलाई ठूलो ब्रान्ड बनाउने इच्छा छ,' उनले भने।

***