नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्न थालेसँगै सेयर बजारमा सुधार देखिएको छ।
बिहीबार नेप्से परिसूचक ६४.६९ अंकले बढेर २८७७ विन्दुमा आयो।
बिहीबार कारोबारमा आएका सबै १३ समूहगत परिसूचक बढे। यसमध्ये पनि धेरै बढ्नेमा विकास बैंक र वाणिज्य बैंक समूह रह्यो।
धेरै बढ्ने दोस्रोमा वाणिज्य बैंक समूह थियो। सो दिन यो समूह ३.१६ प्रतिशतले बढेर १५२२ विन्दुमा पुग्यो।
यसबीच वाणिज्य बैंकको मूल्यमा सुधार हुन सक्ने प्राविधिक संकेतहरू देखा परेका छन्।
अहिले बैंकिङ समूहमा ५० दिने मुभिङ एभरेज रेखाले २ सय दिने मुभिङ एभरेज रेखालाई काटेर माथि लाग्न थालेको जस्तो देखिएको छ। यसरी नेप्सेमा केही समयअघि 'गोल्डेन क्रस–ओभर' देखिएकोमा अहिले वाणिज्य बैंक समूहमा पनि यस्तो संकेत देखिन थालेको छ।
गोल्डेन क्रस–ओभर भएमा वाणिज्य बैंकहरूको मूल्यमा थप सुधार हुन सक्ने देखाउँछ।
वाणिज्य बैंक समूहलाई समग्र बजार बढाउन सक्ने मुख्य क्षेत्र समेत मानिन्छ। किनभने अहिले पनि बजारमा सबभन्दा ठूलो क्षेत्र भनेकै वाणिज्य बैंक हो। नेप्सेको गत फागुन अन्त्यको तथ्यांक अनुसार अहिले वाणिज्य बैंकको हिस्सा करिब २५ प्रतिशत छ।
कुल ४७ खर्ब ४४ अर्ब रूपैयाँको बजारमा वाणिज्य बैंकको मात्रै ११ खर्ब ४८ अर्ब रूपैयाँ छ। यो क्षेत्रमा सुधार आएमा समग्र बजार थप बढ्न सक्छ।
आधारभूत पक्ष (फन्डामेन्टल आधारमा) वाणिज्य बैंक समूहमा सुधार आउन सक्ने सम्भावना पनि छ।
अहिले पनि सेयर बजारमा पाइने सबभन्दा सस्ता सेयरहरूमा धेरै वाणिज्य बैंकहरूका पनि पर्छन्। बजार बढ्न थाल्दा यस्ता सस्ता सेयरमा लगानीकर्ताको आकर्षण समेत बढिरहेको छ।
अहिले पनि बजारमा प्रतिकित्ता तीन सय रूपैयाँभन्दा कममा पाइने सेयरमा वाणिज्य बैंक धेरै छन्। सेयर बजारमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये १० वटाको मूल्य तीन सय रूपैयाँभन्दा कम छ।
नेपाल इन्भेस्टमेन्ट मेगा, प्रभु, हिमालयन, सिटिजन्स, कुमारी ग्लोबल आइएमई बैंकको सेयर २५० रूपैयाँभन्दा कममा कारोबार भइरहेको छ।
प्राइम कमर्सियल, एनएमबी, माछापुच्छ्रे र नेपाल बैंकको सेयर २५० रूपैयाँभन्दा माथि तर तीन सय रूपैयाँभन्दा कममा कारोबार भइरहेको छ।
तुलनात्मक रूपमा सेयर बजारमा सूचीकृत कम्पनीहरूमा सबभन्दा धेरै पुँजी हुनेमा पनि वाणिज्य बैंकहरू नै अघि छन्। यसले गर्दा यसको सेयर आपूर्ति पनि बढी छ। त्यसैले, वाणिज्य बैंकको सेयर अन्य कम्पनीहरूको जस्तो तीव्र उतारचढाव हुँदैन। कम उतारचढावमा कम नाफा भएसँगै जोखिम पनि कम हुन्छ।
पछिल्लो समय बैंकहरूमा खराब कर्जा उच्च दरमा बढेकाले पनि मूल्यमा सुधार हुन सकिरहेको थिएन। तर, बैंकहरूको अवस्थामा केही सुधार हुन थालेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ।
राष्ट्र बैंकले जारी गर्ने बैंकहरू सम्बन्धी प्रतिवेदनले बैंकले यसअघि कर्जा नोक्सानी व्यवस्थाका लागि राखेको प्रावधान फिर्ता ल्याउने दर बढेको, धितो बिक्री नभएर आफूले सरकारेको गैर बैंकिङ सम्पत्ति घटेको देखाएको छ।
तथ्यांक अनुसार पुसमा प्रावधानबाट फिर्ता ल्याएको रकम (राइट ब्याक) ३१ अर्ब ६५ करोड भएकामा माघमा ३२ अर्ब ६५ करोड रूपैयाँ पुगेको छ। असारमा यस्तो रकम ५८ अर्ब ४५ करोड रूपैयाँ थियो।
त्यस्तै, गैरबैंकिङ सम्पत्ति पनि सामान्य घटेको छ। पुसमा ४३ अर्ब ५७ करोड रहेकामा अहिले घटेर ४३ अर्ब ४४ करोड रूपैयाँ छ।
बैंकहरूले कर्जा नोक्सानी व्यवस्था पनि घटाइरहेका छन्। असारमा ७४ अर्ब रूपैयाँसम्म कर्जा नोक्सानी व्यवस्था गरेका बैंकहरूको माघमा यस्तो रकम ५७ अर्ब रूपैयाँ छ।
बैंकहरूमा सामान्य दरमै भए पनि सुधार भइरहेकाले यसले बजारलाई सकारात्मक प्रभाव पार्न सक्छ।
