अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढ्दा नेपाल आयल निगमको घाटा बढ्ने संकेत देखिएको छ।
सरकारी स्वामित्वमा सञ्चालित नेपाल आयल निगमले भारतबाट प्रशोधित तेल आयात गरी बिक्री–वितरण गर्दै आएको छ।
निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट तेल किन्छ।
निगमले पूर्ण स्वचालित मूल्य लागू गरे पनि भदौ २३ र २४ गते भएको जेनजी आन्दोनलपछि यसलाई निरन्तरता दिन नसकिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए
'जेनजी आन्दोनपछि मुलुकको अवस्था अर्कै बन्यो। त्यसपछि तुरून्तै ठूला चाडपर्व सुरू भयो,' उनले भने, 'त्यतिखेर आइओइसीबाट बढेर आएको बराबर नै मूल्य समायोजन गर्न सकनौं। घाटामा चल्यौं। त्यसपछि इरान–इसराइलको द्वन्द्वले घाटा झनै बढ्यो।'
उनका अनुसार जेनजी आन्दोलन पछिको अवस्था र चाडपर्वको समयमा उपभोक्तालाई महँगीको भार नपरोस् भनेर पूरा मूल्य समायोजन नगरिएको हो।
त्यो समय आइओसीबाट मूल्य धेरै बढेर नआएकाले घाटा न्यून थियो। तर इरान–इसराइलको द्वन्द्वपछि भने आइओसीबाटै धेरैले मूल्य बढेर आउँदा घाटा पनि बढेको छ।
निगमलाई आइओसीले १५/१५ दिनमा नयाँ मूल्य सूची पठाउँछ।
मार्चदेखि निगमको घाटा बढ्न सुरू भएको देखिन्छ। १५ दिनमा (१६ मार्चदेखि ३१ सम्म) ४ अर्ब रूपैयाँ घाटा हुने देखिएको मनोजले जानकारी दिए।
त्यसअघि निगमलाई १ मार्चदेखि १५ सम्म करिब ४८ देखि ५० करोड रूपैयाँ घाटा छ भने त्यसअघिको १० करोड रूपैयाँ घाटा बाँकी छ।
'जेनजी आन्दोलनदेखि अहिलेसम्म पूर्ण स्वचालितमा जान सकेका छैनौं। समायोजन गर्दै जाँदा पुरानो घाटा १० करोड थियो। मार्चको सुरूदेखि नै घाटामा छौं,' मनोजले भने।
१५ मार्चमा आइओसीबाट पेट्रोलमा ३१ र डिजेलमा ५४ रूपैयाँ बढेर आएको थियो भने खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर दुई सय १६ रूपैयाँ वृद्धि भएको थियो।
तर निगमले भने नेपाली उपभोक्तालाई आइओसीबाट आएको मूल्य कायम नगरी ग्यासको मूल्य यथास्थितिमा राख्दै पेट्रोलमा १५ र डिजेलमा १० रूपैयाँ मात्रै बढाएको थियो।
तर घाटा समायोजन गर्न निगमले फेरि २५ मार्चमा राति एक बजेबाट लागु हुनेगरी पेट्रोल र डिजेलमा १५/१५ रूपैयाँ वृद्धि गर्यो।
त्यसपश्चात पनि अहिले निगमलाई पेट्रोलमा करिब ५ रूपैयाँ, डिजेलमा ३० रूपैयाँ र ग्यासमा प्रतिसिलिण्डर २१६ रूपैयाँ घाटा रहेको निगमका प्रवक्ता मनोज बताउँछन्।
'अहिले नै घाटामा छौं हामी। अझै ३१ मार्चमा कति बढेर आउँछ आइओसीबाट थाहा छैन। घाटा कति पुग्ने हो,' उनले भने।
उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य अझै बढ्ने संकेत देखिएको छ। मार्च ३१ मा भारतीय आयल कर्पोरेसनले नयाँ मूल्य पठाउने भएकाले घाटा अझ बढ्ने जोखिम बढेको छ।
निगमले आइओसीबाट तेल खरिद गरेबापत ८ र २३ तारिकमा भुक्तानी गर्नुपर्छ। हालसम्म आइओसीलाई तेल खरिद गरेको सबै पैसा भुक्तानी गरेको छ।
तर अब भने कसरी भुक्तानी गर्ने भन्ने यकिन नभएको मनोज बताउँछन्।
'व्यापार घाटामा छ। ८ तारिकमा पैसा बुझाउन पर्छ। कसरी व्यवस्थापन गर्ने छलफल भएको छैन,' मनोजले भने।
समयमा भुक्तानी गर्न सकिएन भने पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या हुनेछ।
रूस–युक्रेन द्वन्द्वको समयभन्दा अहिले पेट्रोलियम पदार्थको मूल्य अझ धेरै बढेको मनोज बताउँछन्।
उनका अनुसार त्यतिबेला कच्चा तेल र प्रशोधित तेल दुवै उत्पादन भइरहेका थिए र उत्पादन क्षेत्रमा आक्रमण पनि भएको थिएन।
तेल ढुवानी गर्ने स्टेट अफ होर्मुज पनि बन्द भएको थिएन।
आपूर्ति केही समयका लागि अवरुद्ध भए पनि छिटै सामान्य अवस्थामा फर्किएको थियो।
तर अहिले अवस्था फरक छ। द्वन्द्वमा कच्चा र प्रशोधित तेल उत्पादन केन्द्र नै निसानामा छन्। अहिले विश्व बजारमा कच्चा तेल र प्रशोधित तेल दुवैको मूल्य बढेको छ।
यी दुईबीचको अन्तर मूल्य प्रतिब्यारेल १२० देखि १५० डलरसम्म पुगेको मनोज बताउँछन्।
'सामान्य अवस्थामा कच्चा तेललाई प्रशोधन गर्न लाग्ने खर्च कम हुने भएकाले कच्चा र प्रशोधित तेलबीच प्रति ब्यारेल १० देखि २० डलरसम्म मात्र अन्तर हुन्छ। रूस–युक्रेन द्वन्द्वका बेला यो अन्तर बढेर ५० देखि ६० डलरसम्म मात्र पुगेको थियो,' उनले भने।
तेल उत्पादन गर्ने देशहरूमा आक्रमण हुँदा उत्पादन घटेको छ।
कच्चा र प्रशोधित तेल उत्पादन हुने क्षेत्रमा पनि असर परेकाले आपूर्ति सीमित भएको छ, तर माग भने विश्वभर धेरै नै छ।
स्टेट अफ होर्मुज मार्ग तेल ढुवानीका लागि छोटो दुरी पर्छ।
उक्त मार्ग अवरोध भई लामो दूरी प्रयोग गर्नुपर्दा तेलको मूल्य बढाएको छ।
द्वन्द्वका कारण जोखिम बढेकाले तेल ढुवानी गर्ने ट्यांकरको समेत अभाव भएको छ।
सवारी साधन प्रयोग नगर्ने वा समूहमा हिँडेर पुग्न सकिने ठाउँमा अनावश्यक इन्धन प्रयोग नगर्न निगमका प्रवक्ता मनोज सुझाउँछन्।
'इन्धनको अतिरिक्त खपतले निगमको घाटा बढाउँछ। उपभोक्ताले पनि महँगीको भार सहनु पर्छ। अनावश्यक खपत नगरौं,' उनले भने।