अपांगता भएका व्यक्तिको हेरचाहका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अभिभावक तथा संरक्षकलाई पाँच दिने तालिम दिएको छ।
पोखराको लेकसाइडस्थित माई होटलमा पुस २६ देखि ३० गतेसम्म उक्त तालिम दिइएको थियो।
तालिममा गण्डकी प्रदेश भित्रका २५ जना बौद्धिक अपांगता, अटिजम तथा श्रवण–दृष्टिविहीन अपांगता भएका व्यक्तिका अभिभावक तथा संरक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।
परिवारका सदस्य र संरक्षकलाई हेरचाह सम्बन्धी आधारभूत सीप प्रदान गरी अपांगता भएका व्यक्तिको दैनिक जीवन सहज बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।
अपांगता सम्बन्धी आधारभूत जानकारी, वैयक्तिक अधिकार, हेरचाह र व्यक्तिगत सहयोगीको भूमिका, सञ्चार सीप, सहायक सामग्रीको प्रयोग, सामाजिक र जीवनोपयोगी सीप, थेरापी सेवा, विपद् पूर्वतयारी, हिंसा तथा विभेदजस्ता विषयमा प्रशिक्षण दिएको उपस्थित विज्ञले बताएका छन्।
‘यस्ता तालिमहरू बेलाबेलामा आयोजना गरिरहनु पर्छ। यसले गर्दा अपांगता भएका व्यक्तिको हेरचाह कसरी गर्नुपर्छ भन्नेमा स्पष्ट भइन्छ र राम्रोसँग हेरचाह गर्न सकिन्छ,’ उपस्थित अभिभावक विजय पौडेलले भने।
तालिम अत्यन्त प्रभावकारी भएको उनले बताए।
प्रशिक्षकको तर्फबाट टीकाराम सापकोटाले मन्त्रालयले आफ्नै स्वामित्व र व्यवस्थापनमा कार्यक्रम सञ्चालन गर्दा नतिजामूलक भएको धारणा व्यक्त गरेका छन्।
उक्त तालिममा उपस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ आगामी दिनमा पनि मन्त्रालयले यस्तो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छन्।
‘अपांगता भएका व्यक्तिको हेरचाह राम्रोसँग गर्नुपर्छ। तर, हामीलाई कसरी हेरचाह गर्ने भन्नेबारे केही थाहा नभएको हुन सक्छ। जसले गर्दा हेरचाह नै राम्रोसँग हुँदैन। त्यसैले गर्दा पनि यसबारे सबैलाई जानकारी हुनुपर्छ। सबैले बिरामीको हेरचाह राम्रोसँग गर्नुपर्छ भनेर नै यस्तो कार्यक्रम आयोजना गरिएको हो,’ उनले भनिन्।