रोटरी इन्टरनेसनलअन्तर्गत रोटरी प्रेसिडेन्ट एक्सन ग्रुप २०२५/२६ ले नेपालमै पहिलोपटक ‘रोटरी हाट बजार’ आयोजना गर्ने भएको छ।
उक्त हाट बजार माघ १० र ११ गते दुई दिनसम्म काठमाडौंको थापाथलीस्थित रोटरी भवन, रोटरी क्लब अफ काठमाडौंको परिसरमा सञ्चालन हुनेछ।
साना उद्यमशीलता प्रवर्द्धन, महिला सशक्तीकरण, स्थानीय उत्पादनको प्रोत्साहन तथा कला–संस्कृति र समुदायलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने कार्यक्रममा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
हाट बजारमा स्थानीय तथा घरेलु उद्यमीहरूले उत्पादन गरेका हस्तकला सामग्री, खाद्य परिकार, पहिरन तथा विविध सिर्जनात्मक वस्तुहरूको प्रदर्शनी तथा बिक्री हुनेछ।
साथै, कार्यक्रममा निःशुल्क दन्त परीक्षण, बालबालिकाका लागि खेल तथा मनोरञ्जन क्षेत्र, खानाका स्टलहरू, चित्रकला प्रतियोगिता, सार्वजनिक वक्तृत्वकला प्रशिक्षण तथा प्रतियोगिता, जादु प्रदर्शन र अनुहार रङ्ग्याउने कार्यक्रमसमेत समावेश गरिनेछ।
परिवारसहित रमाउन मिल्ने सामुदायिक उत्सवका रूपमा आयोजना हुने यस कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक गतिविधि, खेलकुद तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकको भनाइ छ। यसले बालबालिका, युवा तथा परिवारका सबै सदस्यलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
रोटरी इन्टरनेशनलका अनुसार जनवरी महिना व्यावसायिक सेवा महिनाका रूपमा मनाइने भएकाले साना उद्यमशीलता प्रवर्द्धन र व्यावसायिक उत्थानलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको हो।
उपत्यकाभित्र र बाहिरका रोटरी, रोटार्याक्ट, इन्टरएक्ट क्लबका सदस्य तथा स्थानीय समुदायका करिब पाँच हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रम सयथरी इभेन्ट व्यवस्थापन कम्पनीको सहकार्यमा आयोजना हुन लागेको हो।
आयोजकले महिला उद्यमशीलताको समर्थन, स्थानीय उत्पादनको प्रवर्द्धन तथा परिवारसहित सांस्कृतिक, शैक्षिक र मनोरञ्जनात्मक अनुभव लिन सम्पूर्ण सर्वसाधारणलाई कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गरेका छन्।