लर्ड बुद्ध एजुकेसन फाउन्डेसन एलबिइएफका १ सय ५० जना विद्यार्थी दीक्षित भएका छन्।
राजधानीमा आयोजित दीक्षान्त समारोहमा सन् २०२५ मा स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेका फाउन्डेसनका १ सय ५० जना विद्यार्थी दीक्षित भएका हुन्।
फाउन्डेसनका अनुसार स्नातक तहअन्तर्गत सूचना प्रविधि बी.एस.सी. आइटीतर्फ १०२ जना र बीबीएमतर्फ २ जना विद्यार्थी दीक्षित भएका छन्।
त्यसैगरी स्नातकोत्तर तहअन्तर्गत एम.बी.ए तर्फ २१ जना र एम.एस.सी. आइटी एम. तर्फ २५ जना गरी कुल १ सय ५० जना विद्यार्थी दीक्षित भएका हुन्।
एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन ए.पी.यू, मलेसियाबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध एजुकेशन फाउन्डेसन नेपालकै पहिलो सूचना प्रविधि कलेज हो।
ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप काठमाडौंमा सम्पन्न दीक्षान्त समारोहमा एसिया प्यासिफिक विश्वविद्यालय अफ टेक्नोलोजी एण्ड इनोभेसनका प्रमुख सञ्चालन अधिकृत गुरपर्दीप सिंह, एलबिइएफ समूहका अध्यक्ष इञ्जिनियर पंकज जालान तथा कार्यकारी निर्देशक इञ्जिनियर प्रकाश कुमार केजरीवाल लगायतको उपस्थिति रहेको थियो।
दीक्षान्त समारोहमा फाउन्डेसनका कार्यकारी निर्देशक इञ्जिनियर प्रकाश कुमार केजरीवालले एलबिइएफको यात्रालाई निरन्तर विकास र रूपान्तरणको यात्राका रूपमा व्याख्या गरे।
उनले एलबिइएफले विद्यार्थीहरूसँगै आफूलाई पनि समयअनुसार परिष्कृत गर्दै आएको उल्लेख गर्दै विद्यार्थीहरू शैक्षिक यात्राबाट व्यावसायिक जीवनतर्फ विकसित भएकोमा गर्व गरे।
समारोहका प्रमुख अतिथि एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन एपियूका प्रमुख सञ्चालन अधिकृत गुरपर्दीप सिंहले एपीयूको विश्वव्यापी शैक्षिक उपलब्धिबारे जानकारी गराए।
त्यसैगरी एलबिइएफ समूहका अध्यक्ष इञ्जिनियर पंकज जालानले संस्थाको २७ वर्षे यात्रालाई सम्झँदै एलबिइएफले सामान्य स्नातक उत्पादन नगरी गुणस्तरीय र दक्ष स्नातक तयार पार्दै आएको बताए।
उनले संस्थाले सुरूदेखि नै महिला शिक्षालाई विशेष प्राथमिकता दिँदै आएको र हालसम्म १० हजारभन्दा बढी व्यक्तिलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गरिसकेको जानकारी दिए।
सन् १९९८ मा स्थापना भएको नेपालकै पहिलो सूचना प्रविधि केन्द्रित शैक्षिक संस्था एलबिइएफले एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन एपियू, मलेसियासँगको शैक्षिक सहकार्यमार्फत अन्तर्राष्ट्रिय मान्यता प्राप्त डिग्री प्रदान गर्दै आएको छ।
संस्थाले नवीन सोच, क्रिटिकल थिंकिङ र व्यावहारिक सीप लाई अग्रता दिँदै विद्यार्थीहरूलाई उद्योग र रोजगारी बजारसँग जोड्दै आएको छ।
हाल एलबिइएफले सूचना प्रविधि, व्यवस्थापन तथा सम्बन्धित क्षेत्रमा उच्च शिक्षा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र प्रत्येक वर्ष उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति, उद्योगसँग सम्बन्धित तालिम, तथा वेबमार्फत शतप्रतिशत इन्टर्नशिप सम्भावना प्रदान गर्ने उद्देश्यले विभिन्न पहलहरू अघि बढाइरहेको छ।