आर्थिक कूटनीतिमार्फत नेपालमा अन्तर्राष्ट्रिय लगानीलाई थप सहजीकरण र प्रवर्द्धनमा समन्वय गर्न लगानी बोर्ड नेपालले उपसचिव मनोज रेग्मीलाई आर्थिक कूटनीति सम्पर्क व्यक्ति तोकेको छ।
लगानी बोर्डका सहसचिव हेमराज तामाङका अनुसार आर्थिक कूटनीति सम्पर्क व्यक्तिले परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग समन्वय गरी नेपालमा लगानी वृद्धिका लागि सहजीकरण गर्नेछन्। त्यसैगरी नेपालमा लगानीबारे अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन, सूचना आदानप्रदान गर्न र देखापरेका समस्याहरूलाई समाधान गर्न पनि भूमिका निर्वाह गर्नेछन्।
केही समयअघि लगानी बोर्डको सहकार्यमा परराष्ट्र मन्त्रालयले आयोजना गरेको बैठकमा विदेशस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूले सम्पर्क व्यक्तिको व्यवस्था भए नेपालमा लगानीबारे बुझ्न र लगानी वृद्धिका लागि सकारात्मक भूमिका निर्वाह गर्न सक्ने धारणा व्यक्त गरेका थिए।
लगानी बोर्डले आर्थिक कूटनीति सम्पर्क व्यक्ति तोकेको जानकारी परराष्ट्र मन्त्रालयलाई गराएको छ।