विराटनगरमा पहिलो पटक घर निर्माण सम्बन्धी प्रदर्शनी आयोजना हुने भएको छ।
उद्योग संगठन मोरङले बिहीबार पत्रकार सम्मेलन गरेर यो जानकारी दिएको हो।
संगठनले घर निर्माण प्रदर्शनी २०८२ आयोजना गर्न लागेको जानकारी दिएको हो। प्रदर्शनी आगामी चैत १२ देखि १६ गतेसम्म जैन भवन विराटनगरमा सञ्चालन हुनेछ।
संगठनका अध्यक्ष नन्दकिशोर राठीका अनुसार निर्माण क्षेत्रसँग सम्बन्धित व्यवसाय–देखि–व्यवसाय (बिटुबी) र व्यवसाय–देखि–उपभोक्ता (बिटुसी) नेटवर्किङ प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो।
निर्माण क्षेत्रको समग्र इकोसिस्टम विकास, स्वदेशी उत्पादन प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको राठीले जानकारी दिए।
प्रदर्शनीमा घर निर्माणसँग सम्बन्धित कच्चा पदार्थदेखि लिएर आन्तरिक सजावटका सामग्री तथा सेवाहरू प्रदर्शन गरिनेछन्।
निर्माण मूल्य शृंखलामा संलग्न उत्पादक, सेवा प्रदायक, डिजाइनर, नीति–निर्माता र उपभोक्तालाई एउटै थलोमा ल्याउने लक्ष्य आयोजकले लिएको छ।
प्रदर्शनीमा ७५ भन्दा बढी स्टल रहने जनाइएको छ। जसमा सिमेन्ट, इँटा, स्टिल, स्यानिटरी, प्लम्बिङ, विद्युत् तथा ऊर्जा, स्मार्ट होम प्रविधि, फर्निचर, इन्टेरियर डिजाइन, निर्माण सेवा र निर्माणसम्बन्धी सफ्टवेयर लगायतका सामग्री तथा सेवाहरू समेटिनेछन्। साथै बैंक तथा बीमा कम्पनीका वित्तीय सेवाहरू पनि उपलब्ध रहनेछन्।
आयोजकका अनुसार ‘सुरक्षित घर, स्मार्ट जीवन’ भन्ने नारासहित हुने प्रदर्शनीमा आधुनिक निर्माण प्रविधि, हरित भवन अवधारणा तथा स्मार्ट होम प्रणालीबारे विशेषज्ञको प्रस्तुति हुनेछ। यस विषयमा अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन गरिनेछन्।
प्रदर्शनीमा निर्माण क्षेत्रका व्यवसायी, इन्जिनियर, वास्तुविद्, रियल इस्टेट विकासकर्ता, विद्यार्थी तथा घर निर्माण वा मर्मत गर्न इच्छुक सर्वसाधारणको सहभागिता रहने अपेक्षा आयोजकको छ।