अमेरिका र क्यानडामा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्टरनेशनल एण्ड ग्लोबल करिअर समिट २०२६’ आयोजना हुने भएको छ।
अर्बिट इन्टरनेसनल एजुकेसन र स्ट्र होल्डिङ्सको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रम अमेरिकास्थित एमपावर फाइनान्सिङ कम्पनीको सहकार्यमा सञ्चालन हुन लागेको हो।
एमपावरले अमेरिका र क्यानडा पढ्न चाहने विद्यार्थीका लागि विना धितो शैक्षिक ऋण प्रदान गर्छ।
आगामी चैत १४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सो समिट सञ्चालन हुने स्ट्र होल्डिङ्सले जनाएको छ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा एमपावरका अन्तर्राष्ट्रिय विशेषज्ञहरू सहभागी हुनेछन्।
विदेश अध्ययनका क्रममा देखिने आर्थिक चुनौती, विशेष गरी शैक्षिक ऋण व्यवस्थापनका विषयमा उनीहरूले विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने आयोजकले जनाएको छ।
विशेषज्ञहरूले धितो बिना शैक्षिक ऋण कसरी प्राप्त गर्न सकिन्छ भन्नेबारे जानकारी दिनुका साथै अमेरिका र क्यानडामा अध्ययनका लागि आवश्यक वित्तीय योजना कसरी बनाउने भन्ने विषयमा पनि स्पष्ट मार्गदर्शन गर्ने बताइएको छ।
विदेश अध्ययन केवल विद्यार्थी मात्र नभई अभिभावकको समेत महत्वपूर्ण निर्णय हुने भएकाले कार्यक्रममा दुवै पक्षलाई लक्षित विशेष सत्रहरू राखिएको आयोजकले जनाएको छ।
विदेशमा बसाइका क्रममा सुरक्षा, स्वास्थ्य बीमा, र विद्यार्थीहरूको जीवनशैली व्यवस्थापनबारे जानकारी दिइने छ।
साथै, अध्ययनपछिका अवसरहरू जस्तै अमेरिकाको व्यवहारिक बैकल्पिक प्रशिक्षण र क्यानडाको वर्क परमिट प्रणालीका फाइदाबारे पनि छलफल हुनेछ।
यसका साथै, समिटलाई अझ रोचक बनाउन एमपावरले 'आइसब्रेकर’ गतिविधि र 'कहुट' हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गर्नेछ। जहाँ सहभागीहरूले आकर्षक उपहार जित्न सक्नेछन्।
प्रारम्भिक रूपमा सहभागी हुनेहरूलाई पावर बैंक र थर्मल टम्बलर उपहार दिइनेछ भने एक जना भाग्यशाली सहभागीले आई प्याड जित्ने अवसर पाउनेछन्।
समिटमा सहभागी हुन कुनै शुल्क लाग्ने नलाग्ने तर, सीमित सिटका कारण इच्छुक विद्यार्थी र अभिभावकले अग्रिम दर्ता गर्नुपर्ने आयोजकले जानकारी दिएको छ ।
विदेश अध्ययनको योजना बनाइरहेका विद्यार्थीका लागि यो सम्मेलन उपयोगी अवसर बन्ने अपेक्षा गरिएको छ ।