काठमाडौंको बौद्धस्थित तारागाउँ नेक्स्टमा नेपाली एब्स्ट्र्याक्स पेन्टिङको कला झल्किने गरी ‘फम्र्स अफ एब्स्ट्र्याक्सन’को प्रदर्शनी सकिएको छ। बिहीबारदेखि सुरू गरिएको यो प्रदर्शनी सोमबार सकिएको हो।
सराफ फाउन्डेसन फर हिमालयन ट्रेडिसन एन्ड कल्चरको सहयोगमा आयोजित यो प्रदर्शनीमा नेपालका २६ जना कलाकारका ४९ वटा एब्स्ट्र्याक्स पेन्टिङ राखिएका थिए।
तारागाउँ नेक्स्टका निर्देशक रोशन मिश्रले नेपाली एब्स्ट्र्याक्स पन्टिङ कला नेपाली इतिहास र परम्परासँग जोडिएको बताएका छन्।
‘इतिहास र परम्परासँग जोडिएको यसलाई हामीले सबैको सामु चिनाउन जरूरी छ र अद्भुत कला भएका कलाकारलाई यस्तो प्रदर्शनीले चिनाउने र अवसर दिने काम पनि गर्छ। यसका साथै युवा पुस्तामा पनि एब्स्ट्र्याक्स पन्टिङ एकदमै मन पराइएको हुनाले यस्तो प्रदर्शनीले थप जानकारी लिन पनि सहयोग पुग्छ,’ उनले भने।
प्रदर्शनीमा सहभागी कलाकारहरूले नेपालको इतिहास, आध्यात्मिकता, संस्कृति र प्रकृतिलाई रङमार्फत, कलाकारितामार्फत पेन्टिङमा उतारेका छन्। कतिपय कलाकृतिमा ज्यामितिय र वास्तुकलाको प्रभाव देखिन्छ।
आयोजकले नेपालमा एब्स्ट्र्याक्स कला करिब ६५ वर्षदेखि अभ्यास हुँदै आए पनि यसबारे खासै छलफल नभएको र यसप्रति खासै ध्यान नदिएको निर्देशक मिश्रले बताएका छन्।
‘यसबारे धेरैले ध्यान दिँदैनन्। चित्रकलालाई प्रवर्द्धन गर्नुपर्छ भनेर सरकार पहल गरेको पनि देखिँदैन। जति पनि प्रवर्द्धन र संरक्षण गरेका छन्। त्यो सबै कलाकारले मात्र गरेका छन्। यसबारे पनि विशेष ध्यान दिनु आवश्यक छ। यस प्रदर्शनीले नेपाली कलालाई विश्वभर चिनाउन पनि मद्धत गर्दछ,’ उनले भने।
-1775480291.jpg)


