उद्योगी–व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघभित्र जतिबेला ‘संघीयता’ कार्यान्वयन भयो, झापा धुलाबारीका नरेन्द्रकुमार खड्का पहिलोपटक प्रदेश अध्यक्ष बनेका थिए। उनी पछाडि झापाकै टीकाराज ढकाल अध्यक्ष बने। यी दुवै अध्यक्षका ‘ब्याक बोन’ थिए राजेन्द्र राउत।
प्रदेश राजधानी विराटनगरका बासिन्दा राउतको सक्रियताले महासंघ प्रदेश समितिलाई स्थापित हुन सहयोग गरेको अघिल्ला दुवै अध्यक्ष स्वीकार्छन्। यसरी अघिल्ला दुई कार्यकाल उपाध्यक्ष बनेका उनै राउत यसपटक निर्वाचनमार्फत अध्यक्षमा दोहोरिएका छन्।
निजी क्षेत्रको आन्तरिक चुनावका आफ्ना पुराना प्रतिष्पर्धी विराटनगरकै उद्योगी नविन रिजाललाई पराजित गर्दै राउतले महासंघको प्रदेश नेतृत्वको दोस्रो इनिङको पनि जिम्मा पाएका छन्। २०७४ मा मोरङ व्यापार संघमा राउत र रिजालको टिम आपसमा भिड्दा रिजाल समूहले चुनावी सफलता पाएको थियो।
नेपालको चर्चित औद्योगिक समूह शिवम् अर्गनाइजेसनका प्रमुख राउतले सफल उद्योगीको छवि बनाएका छन्।
अब उनलाई निजी क्षेत्रको सफल नेतृत्वकर्ता बन्ने चुनौती सामुन्नेमा छ।
नयाँ तर शक्तिशाली सरकार बनेको बेला उद्योगी व्यवसायीहरूमाथि सरकारले धरपकड गरिरहेको छ। राउत आफैले समर्थन गर्ने नेता चन्द्र ढकाल नेतृत्वको महासंघ नेतृत्व यसबारे पूरै मौनता साधेर बसेको छ।
उद्योगीहरू धमाधम पक्राउ परिरहेका बेला महासंघ किन मौन भनेर आइतबार विराटनगरमा सञ्चारकर्मीले प्रश्न गर्दा महासंघ केन्द्रका अध्यक्ष चन्द्र ढकाल केही बोलेनन्। ‘मेरो जहाज छुट्न लाग्यो’ भनेर उनले प्रश्नलाई टारेका थिए।
मध्यपूर्वमा चर्केको तनावले इन्धनको मूल्य लगातार आकाशिइरहेको छ।
यस्तो बेलामा दोस्रो कार्यकालका लागि प्रदेश अध्यक्ष चुनिएका राउत नेतृत्वको महासंघ प्रदेश समितिको भूमिका के हुनेछ?
‘हो, अहिले संकटको अवस्था छ। तर, हामी सबैले केही निश्चित कामहरू नगरी नहुने अवस्था छ, हामी निजी क्षेत्रले त्यसका लागि दबाबकारी भूमिका निर्वाह गर्नुपर्नेछ,’ उनले भने ‘ नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र निजी क्षेत्रप्रतिको विश्वास पुनःस्थापना अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो।’
आफू नेतृत्वको महासंघले विगतबाटै वैदेशिक रोजगारीबाट फर्किएका युवालाई आर्थिक गतिविधिमा जोड्ने कार्यक्रमसमेत सञ्चालन गरिएको बताउँदै उनले यसलाई निरन्तरता दिने, उद्योगी व्यवसायीहरूको हकहितलाई प्राथमिकतामा राखेर दबाबकारी भूमिका निर्वाह गर्ने बताएका छन्।
महासंघको आफ्नै भवन निर्माण प्रक्रिया पनि अघि बढिरहेको जानकारी दिँदै उनले भने, ‘जग्गा खरिद भइसकेको छ, निर्माण कार्य तीव्र रूपमा अघि बढेको छ, आगामी कार्यकालभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छौं।’
विप्रेषणमा निर्भर अर्थतन्त्रका जोखिमबारे उनले भने, ‘मध्यपूर्वको अस्थिरताले रोजगारी र आम्दानीमा असर पार्न सक्छ, जसले दीर्घकालमा अर्थतन्त्र नै संकुचित हुन सक्छ।’
यसको समाधानका लागि देशभित्र उत्पादन र रोजगारी बढाउनुपर्ने उनले जोड दिए।
कोशी प्रदेशमा धेरै सम्भावना रहेको उल्लेख गर्दै उनले थपे ‘कृषि, पशुपालन, पर्यटन र जलविद्युतलाई मुख्य आधारका रूपमा अघि सारेर ती क्षेत्रमा काम हुनुपर्छ भन्ने आवाज सशक्त बनाइनेछ। चिया, अदुवा, अलैंची, कफी, दूध, मासुजस्ता क्षेत्रमा अपार सम्भावना छ। यी क्षेत्रको विकासले प्रदेश मात्र होइन, सिंगो देशको अर्थतन्त्रलाई टेवा पुर्याउन सक्छ भन्ने कुरा स्थापित गर्न हामी सशक्त वकालत गर्नेछौं।’
गत भदौमा भएको ‘जेनजी आन्दोलन’ले निजी क्षेत्रमाथि गम्भीर असर पारेको उल्लेख गर्दै उनले भने ‘व्यावसायिक प्रतिष्ठानमाथि भएको तोडफोड र आगजनीले निजी क्षेत्रको आत्मविश्वासमा गहिरो चोट पुर्याएको छ। निजी क्षेत्र कुनै व्यक्ति होइन, यो देशको अर्थतन्त्रको मेरूदण्ड हो। यो वास्तविकता स्थापित हुने गरी हामीले संस्थागत पहल गर्नुपर्नेछ।’
यसपटक उद्योग वाणिज्य महासंघ कोशीको प्रदेश समितिको निर्वाचनमा राउत प्यानलले एकतर्फी भन्न मिल्ने जीत निकालेको छ। पाँच पदाधिकारीमध्ये तीन उपाध्यक्ष र कोषाध्यक्ष निर्विरोध भए। उनीहरू सबै राउत प्यानलकै थिए। सदस्यहरू पनि राउतकै टिमबाट निर्वाचित भएका छन्।
राउतले कुल मतको ६७ दशमलव ३७ प्रतिशत मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
आइतबार मध्यरातमा घोषित मतपरिणाम अनुसार जिल्ला नगर संघतर्फको ३८ मध्ये राउतले २४ मत (मतभार १८५०) पाएका छन्। एसोसिएटतर्फ खसेको १४७ मध्ये १०७ मत (मतभार ३२१०) र वस्तुगततर्फको १९ मध्ये ११ मत (मतभार ३८०) गरी कुल ४६३० मतभार प्राप्त गर्दै राउत निर्वाचित भएको निर्वाचन अधिकृत विकास थापाले बताए।
त्यस्तै रिजालले जिल्ला नगर संघबाट १३ मत (मतभार ६५०), वस्तुगतबाट ६ (मतभार १२०) र एसोसिएटबाट ३९ (मतभार ११७०) गरी कुल १९४० मतभार प्राप्त गरे।
निर्वाचनमा जिल्ला नगरतर्फ ३८ (१८५० मतभार), वस्तुगततर्फ १९ (३८० मतभार) र एसोसिएटतर्फ १४८ (४४१० मतभार) गरी २०५ मतदाता रहेका थिए । जसमध्ये जिल्ला नगर र वस्तुगततर्फ सबै मत खसेको थियो भने एसोसिएटतर्फ एक मत कम खसेको थियो।
१४ सदस्यीय प्रदेश कार्यसमितिमा एक अध्यक्ष, ५ खुला सदस्य र २ वस्तुगत सदस्य पद गरी कुल ८ पदमा निर्वाचन भएको थियो।
तीन उपाध्यक्षमा ऋषिराज तिम्सिना (जिल्ला नगर), राजन श्रेष्ठ (वस्तुगत) र रविनकुमार दाहाल (एसोसिएट) सर्वसम्मत निर्वाचित भएका थिए। त्यस्तै एसोसिएट सदस्यमा देवकीनन्दन अग्रवाल र भविशकुमार श्रेष्ठ पनि सर्वसम्मत निर्वाचित भएका हुन्।
जिल्ला नगरतर्फका ५ सदस्यमा ७ जनाबीच प्रतिस्पर्धा हुँदा कृष्णप्रसाद रिजाल, राजु ढुंगाना, जयप्रकाश शर्मा, खड्गबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी निर्वाचित भएका छन् । शेरबहादुर भण्डारी र शोभा कोइराला पराजित भए।
त्यस्तै वस्तुगततर्फका दुई सदस्यमा तीन जनाबीच प्रतिस्पर्धा भएको थियो। जसमा सुवास आचार्यले ११ मत र दीपक पाण्डेले १५ मत प्राप्त गर्दै निर्वाचित भए। धनबहादुर काफ्लेले ६ मत मात्र प्राप्त गर्दा पराजित बनेका हुन्।