विभिन्न बहुपक्षीय विकास बैंकहरूले आफ्ना कार्यक्रम र परियोजनाहरूले सिर्जना गर्ने रोजगारीको प्रभाव मापन गर्न साझा दृष्टिकोण अपनाउने सहमति गरेका छन्।
यसका लागि देशहरू, विकास बैंकहरू, निजी क्षेत्र तथा अन्य सरोकारवालाबीच सहकार्य र समन्वय थप सुदृढ गरिने भन्दै विज्ञप्ती जारी गरेका हुन्।
यो पहल चरणबद्ध रूपमा अघि बढाइनेछ र प्राप्त अनुभव, सम्बन्धित संस्थाहरूका कार्यक्षेत्र तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासका आधारमा निरन्तर परिमार्जन गरिने उल्लेख छ।
साथै, रोजगारीको गुणस्तरलाई सुनिश्चित गर्न अन्तर्राष्ट्रिय श्रम संगठनलगायत सरोकारवालासँग संवाद गरेर यस प्रक्रियालाई अझ परिष्कृत बनाइने बताइएको छ।
यस सहकार्यको मुख्य उद्देश्य विभिन्न देश र क्षेत्रअनुसार रोजगारी सिर्जना तथा श्रमिकको आम्दानी बढाउने प्रभावकारी उपायहरूबारे साझा बुझाइ विकास गर्नु भएको उल्लेख छ। यसले आर्थिक वृद्धि तीव्र बनाउन र जनजीवन सुधार्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
धेरै र राम्रो रोजगारी सिर्जना हुँदा गरिबी न्यूनीकरण, सामाजिक सद्भाव सुदृढीकरण र जोखिम घटाउन मद्दत पुग्छ। त्यसैले रोजगारीको गुणस्तरलाई पनि यस प्रयासको महत्त्वपूर्ण पक्षका रूपमा लिइएको छ।
यस सहकार्यले नीतिगत संवादलाई सुदृढ बनाउन र परियोजना डिजाइनलाई प्रभावकारी बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ।
बहुपक्षीय विकास साझेदार बैंकहरूमा अफ्रिकी विकास बैंक, एशियाली विकास बैंक, एशियाली पूर्वाधार लगानी बैंक, क्यारेबियन विकास बैंक, युरोप परिषद् विकास बैंक, युरोपेली पुनर्निर्माण तथा विकास बैंक, युरोपेली लगानी बैंक, अन्तर–अमेरिकी विकास बैंक समूह, इस्लामिक विकास बैंक र विश्व बैंक समूह छन्।