जगदम्बा होल्डिङ्सले आफ्ना पोर्टफोलियो कम्पनीसँग सम्बन्धित विषयमा भइरहेको अनुसन्धानबारे हालै सार्वजनिक भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
कम्पनीले जारी गरेको प्रेस वक्तव्यमा सञ्चारमाध्यममा उल्लेख भएका आर्थिक कारोबार तथा सम्बन्धित विषयहरू अहिले सम्बन्धित नियामक तथा अनुसन्धान निकायमा विचाराधीन रहेको बताइएको छ।
जगदम्बा होल्डिङ्सको आधिकारिक धारणाः
जगदम्बा होल्डिङ्सका पोर्टफोलियो कम्पनीहरूसँग सम्बन्धित सञ्चालक सदस्यहरू माथि भइरहेको अनुसन्धान सम्बन्धी हालैका समाचार तथा सार्वजनिक अभिव्यक्तिहरूले हाम्रो ध्यानाकर्षण भएको छ।
सञ्चार माध्यममा उल्लिखित आर्थिक कारोबार तथा सम्बन्धित विषयहरू हाल सम्बन्धित नियामक तथा अनुसन्धान निकायहरू समक्ष विचाराधीन अवस्थामा छन्।
कानूनको शासनमा दृढ विश्वास राख्ने एक जिम्मेवार संस्थाको नाताले, जगदम्बा होल्डिङ्सले जारी कानुनी तथा नियामकीय प्रक्रियाहरूलाई पूर्ण सम्मान गर्दै, सम्बन्धित निकायहरूले माग गरेका सम्पूर्ण कागजात, तथ्यांक तथा सूचना उपलब्ध गराउँदै पूर्ण सहयोग गर्ने प्रतिबद्धता पुनः व्यक्त गर्दछ।
यस चरणमा अनुसन्धान प्रक्रिया अझै जारी छ र कुनै अन्तिम निष्कर्ष वा न्यायिक निर्णय भइसकेको छैन। सत्य तथ्य स्थापना गर्ने अधिकार न्यायिक तथा कानुनी प्रक्रियामा नै निहित छ र सोही प्रक्रियाबाट आउने जुनसुकै निष्कर्षलाई हामी पूर्ण सम्मान गर्नेछौं। प्रचलित कानून अनुसार कुनै कमजोरी वा त्रुटि देखिएमा, आवश्यक सुधारात्मक कदम चाल्न र कानून बमोजिम जिम्मेवारी वहन गर्न हामी प्रतिबद्ध छौं।
दशकौं देखि औद्योगिक लगानी, रोजगारी सिर्जना (पोर्टफोलियो कम्पनीहरूमा हजारौं कर्मचारीहरू), औद्योगिक तथा व्यावसायिक पूर्वाधार विस्तार तथा राष्ट्रिय कर तथा राजस्व संकलनमा सार्थक योगदानका माध्यमबाट जगदम्बा होल्डिङ्सका पोर्टफोलियो कम्पनीहरूले नेपालको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्।
हालको परिस्थितिबाट उत्पन्न भएका चिन्ताप्रति हामी पूर्णतः संवेदनशील छौं र व्यवसाय सञ्चालनको निरन्तरता सुनिश्चित गर्न तथा सम्पूर्ण सरोकारवालाहरूको हित संरक्षण गर्न हामी बैंकहरू, नियामक निकाय र सम्बन्धित सरकारी संस्थाहरूसँग नजिकबाट समन्वय गरिरहेका छौं।
सुशासन, पारदर्शिता र नैतिक व्यावसायिक आचरण हाम्रो प्रमुख मूल्यमान्यताहरू हुन् र यी मापदण्डहरूलाई अझ सुदृढ बनाउन हामी दृढसंकल्पित छौं। आवश्यक परेमा समूहभित्र रहेका सम्पूर्ण संस्थाहरूमा आन्तरिक नियन्त्रण प्रणाली तथा प्रक्रियाहरूमा सुधार गर्दै, सुदृढ आन्तरिक नियन्त्रण तथा अनुपालन संयन्त्र लागू गर्नेछौं।
यस कठिन र संवेदनशील समयमा हाम्रा साझेदार, लगानीकर्ता, कर्मचारी, ग्राहक तथा शुभचिन्तकहरूले देखाउनुभएको विश्वास र धैर्यताप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं। कानुनी प्रक्रियाको अन्तिम निष्कर्ष नआएसम्म, अपुष्ट जानकारीमा आधारित हतारो निष्कर्ष ननिकाली धैर्यता र संयमता अपनाइदिनुहुन सम्बन्धित सबैलाई विनम्र अनुरोध गर्दछौं।