माछापुच्छ्रे बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच इएफटी कार्ड सेवामार्फत ‘नेपाल पे’ कार्डलाई प्रयोगयोग्य बनाउने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौताअनुसार अब ‘नेपाल पे’ कार्ड मार्फत भुक्तानी सेवा विस्तार हुने भएको छ। एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुवेदी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
यो सहकार्यसँगै बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड जारी गर्न सक्नेछ भने अन्तर्राष्ट्रिय ‘डिस्कभर’ नेटवर्क तथा ‘रुपे’ कार्डसमेत एक्वायर गरी कारोबार प्रशोधन गर्न सक्नेछ।
एनसीएचएलको इएफटी प्रणाली राष्ट्रिय कार्ड स्विचसँग एकीकृत भइसकेकाले नेपालपे कार्डको प्रयोग दायरा थप विस्तार हुने अपेक्षा गरिएको छ।
एनसीएचएलले नेपालपे कार्डको व्यावसायिक रोलआउट सुरु गरिसकेको छ। अन्तर्राष्ट्रिय साझेदार ‘डिस्कभर’ नेटवर्कमार्फत उक्त कार्ड विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। यससँगै नेपालका बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र प्रणाली सञ्चालकहरूले जारी गर्ने नेपालपे कार्ड देशभित्र र विदेशका एटीएम तथा पीओएसमा समेत प्रयोग गर्न सकिनेछ।
हालसम्म ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्था नेपालपे प्रणालीमा आबद्ध भइसकेका छन् भने केही बैंकहरूले कार्ड जारी तथा एक्वायरिङ सेवा सुरु गरिसकेका छन्।
आगामी दिनमा यसको दायरा अझै विस्तार हुने अपेक्षा गरिएको छ।