वाणिज्य एवं अर्थशास्त्रीहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा नवप्रवर्तन, अनुसन्धान र डिजिटल रूपान्तरणलाई केन्द्रमा राख्दै सम्पन्न भएको छ।
कुमारीपाटीस्थित मेगा कलेजमा दुई दिनसम्म चलेको सम्मेलनले व्यवस्थापन, वाणिज्य र व्यापार अध्ययन गर्ने नेपाली विद्यार्थीहरूलाई विश्वस्तरीय पहुँच विस्तार गर्नुपर्ने निष्कर्ष निकालेको हो।
सम्मेलनको अन्त्यमा जारी गरिएको ८ बुँदे घोषणापत्रमा सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर आर्थिक रूपान्तरणको अभियानलाई प्रभावकारी बनाइनुपर्ने उल्लेख गरिएको छ।
घोषणापत्रमा शैक्षिक अनुसन्धान, डिजिटल प्रविधिको उपयोग, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकतामा राखिएको छ।
आयोजक मेगा कलेजका प्राचार्य डा. घनश्यामप्रसाद साहले सम्मेलनबाट नेपाली प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीहरूले बौद्धिक लाभ लिएको बताए।
उनका अनुसार सम्मेलनले शैक्षिक अनुसन्धानमा बजेट वृद्धि, निजी क्षेत्रसँग सहकार्य, डिजिटल रूपान्तरण, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र नवप्रवर्तनका विषयमा ठोस नीतिगत बहस अघि बढाएको छ।
‘सधैं विदेशी अनुसन्धानलाई मात्रै साभार गर्ने परम्पराभन्दा नेपालकै अर्थशास्त्रीहरूले नेपालको विषयमा गरेका अनुसन्धानलाई प्राथमिकता दिएका थियौं,’ उनले भने, ‘सम्मेलनका निष्कर्षले विश्वविद्यालय र सरकार दुवैलाई नीतिगत मार्गनिर्देशन गर्ने अपेक्षा गरेका छौं।’
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन डा. दिलिप पराजुलीले नेपाल आर्थिक रूपान्तरणको नयाँ चरणमा प्रवेश गर्न लागेको बेला अर्थशास्त्रीहरूको भूमिका अझ महत्वपूर्ण हुने बताए।
उनले विश्वविद्यालयको कक्षाकोठामै सीमित हुने अनुसन्धानलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।
सम्मेलनमा सहभागी बनारस हिन्दु विश्वविद्यालय व्यवस्थापन संकाय प्रमुख डा. हरेन्द्र कुमार सिंहले नेपाल र भारतबीच शैक्षिक अनुसन्धानमा सहकार्यका प्रशस्त सम्भावना रहेको बताए।
सम्मेलनमा दक्षिण एसियाली अनुसन्धानकर्ताहरूका पाँच तथा नेपाली विद्यार्थीहरूका नौ अनुसन्धानपत्रमाथि छलफल गरिएको थियो।
्