उदयपुर, चौदण्डीगढीका सारकुमार राईको छोरी आकृतिलाई गोल्यान ग्रुपले पढाउने भएको छ।
२०८२ भदौ २३–२४ को जेनजी आन्दोलनमा सहिद बनेका सारकुमार राईको छोरी आकृति राईलाई गोल्यान ग्रुपले कक्षा १२ सम्मको शैक्षिक–खर्च व्यहोर्ने भएको हो।
सारकुमारको सहादतसँगै सुनिताको सहारा गुमेको थियो भने आकृतिको सपना टुहुरो भएको थियो।
यस्तैमा गोल्यान ग्रुपले सहिदका सन्तानहरूलाई १२ कक्षासम्म पढाउने घोषणा गऱ्यो।
गोल्यानले अहिले आकृतिसहित ३२ जना जेनजी आन्दोलनका सहिदका सन्तानहरूलाई पढाइरहेको छ।
उनीहरूको शिक्षामा जनही मासिक ४० हजारको दरले वार्षिक ४ लाख ८० हजार रूपैयाँ शैक्षिक–खर्च व्यहोर्छ।
गोल्यानबाट शैक्षिकवृत्ति पाएकामध्ये यसपटक १५ वर्षीया आकृति एसइई उत्तीर्ण गर्ने पहिलो सहिद–सन्तान हुन्।
उनले चितवनको मनशिक्षा मन्दिर आवासीय माध्यमिक विद्यालयबाट २०८२ को एसइई ३.४० जिपीए ल्याएर उत्तीर्ण गरिन्।
आकृतिले एसइईमा प्राप्त गरेको उपलब्धी विशेष भएकोले घरमै पुगेर बधाई दिएको गोल्यान ग्रुपको भनाइ छ।
आकृतिले प्लस–टुमा विज्ञान संकाय पढ्ने निर्णय गरेकी छन्। उनी चितवनकै आरोमा इंलिस सेकेण्डरी स्कुलमा भर्नासमेत भइसकेकी छन्। विज्ञान संकाय पढेर नर्सिङमा स्नातक गर्ने उनको सपना छ। उनका बुवाको सपना पनि यही थियो।
'बुवा बितेर जानु भए पनि तपाइँहरूको सहयोगले मलाई दुःखको बेला सम्हालिएर अघि बढ्न निकै साहस मिलेको छ, आगामी दिनमा पनि राम्रो गर्ने प्रयास गर्नेछु,' आकृतिले अक्षयलाई भनिन्, 'तपाइँले गरेको साथ र सहयोगको कुनै मूल्य छैन, म आफ्नो लक्ष्यमा पुग्न सकेँ भने सायद यस सहयोगको सम्मान होला।'