भारतीय पक्षले गुणस्तर परीक्षणका नाममा नेपाली चिया निर्यातमा गैरभन्सार अवरोध गरेपछि कोशी प्रदेशका चिया उद्योगहरू बन्द भएका छन्। झापा र इलाम लगायतका जिल्लामा उत्पादित चिया निकासी ठप्प भएपछि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले गम्भीर चिन्ता व्यक्त गरेको छ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले भारतीय अवरोधका कारण विगत ३ दिनदेखि चिया उद्योगहरू अनिश्चितकालका लागि बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको र यो अवस्था तत्काल अन्त्य हुनुपर्ने माग गरेका छन्।
भारतीय पक्षले लागू गरेको नयाँ व्यवस्थाका कारण ठूलो परिमाणमा तयारी चिया रोकिएको महासंघले जनाएको छ। ‘ुयसले गर्दा उद्योगहरूमा उत्पादित चियाको मौज्दात बढेको छ, नगद प्रवाह मा गम्भीर समस्या देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसबाट हजारौँ किसान, श्रमिक र उद्यमीहरू प्रत्यक्ष मारमा परेका छन्।’
उद्योगहरू बन्द भएपछि चिया किसान र श्रमिकहरू बेरोजगार बन्ने जोखिम बढेको भन्दै महासंघले समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको औंल्याएको छ।
समस्याको स्थायी समाधानका लागि नेपाल सरकारले अविलम्ब उच्चस्तरीय कूटनीतिक पहल गरी चिया निर्यातको वातावरण सहज बनाउन महासंघले माग गरेको छ।
महासंघको केन्द्रीय कमिटीमार्फत पनि सम्बन्धित निकायमा आवश्यक पहलका लागि अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ।