टेक एवं विजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ काठमाडौंमा सुरू हुँदैछ।
अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा काठमाडौंमा सञ्चालित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।
प्रदर्शनी असार ११ र १२ गतेसम्म चल्नेछ।
कार्यक्रमले विद्यार्थीहरूको नवप्रवर्तन, डिजिटल रचनात्मकता र भविष्यका सीपहरूलाई उजागर गर्न मद्दत गर्ने कलेजले जनाएको छ।
यस वर्ष ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०’ विभिन्न पाँच वटा प्राविधिक क्षेत्रमा विभाजन गरिएको छ।
कम्प्युटर भिजन र कृत्रिम बुद्धिमत्ता (एआई), आइओटी र रोबटिक्स, साइबर भिलेज, सफ्टवेयर र टेक्नोभर्सिटी गरी विभिन्न पाँच वटा क्षेत्रमा विभाजन गरिएको छ।
यस इन्नोभिष्टामा भर्खर प्लस टु सकेका विभिन्न कलेजका ३४ भन्दा बढी विद्यार्थीले एक साता प्रेसिडेन्सियल ग्य्राजुएट स्कुलका विद्यार्थीहरूको मेन्टरसीपमा टेक्नोभर्सिटी प्याभिलियनमा विभिन्न इनोभेसनहरू प्रदर्शनी गरिने छ। यस विधाका विजेतालाई एक लाख रुपैयाँसम्मको पुरस्कार प्रदान गर्ने कलेजले जनाएको छ।
यो कार्यक्रम प्लसटु उत्तीर्ण, स्नातक तहका विद्यार्थी र आईटीमा गहिरो रुचि र चाहना राख्ने विद्यार्थी तथा युवाहरूका लागि लक्षित छ। प्राविधिक सिकाइ, नेटवर्किङ र भविष्यको शिक्षाको झलक दिने यो उत्सवमा प्रवेश निःशुल्क छ।
यो इभेन्टमा बीएससी आईटीका विद्यार्थीहरूले एआई, सफ्टवेयर र वेब डेभलपमेन्ट, साइबर सुरक्षा र मल्टिमिडियामा आधारित ५५ भन्दा बढी परियोजना प्रदर्शन गर्नेछन्। करिब १७० विद्यार्थी संलग्न यी परियोजनाहरूले प्राविधिक र व्यावसायिक सम्भावना बोकेको कलेजका कार्यकारी अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए।
प्रदर्शनीका केही उल्लेखनीय परियोजनाहरूमा पुष्प वृष्टि गराउने एफ पिभ ड्रोन, रोबो सकर्स (फुटबल खेल्ने रोबोट), डान्सिङ रोबोट (गीतमा नाच्ने), इमोसन डिटेक्सन सिस्टम (एआईद्वारा अनुहारको भावना पत्ता लगाएर संगीत सिफारिस गर्ने) लगायत छन्।