ललितपुरको जावलाखेलस्थित अनोभा स्किन एण्ड हेयर क्लिनिकले अत्याधुनिक कपाल प्रत्यारोपण प्रविधि ट्रिभेलिनी माम्बा (Trivellini Mamba) नेपालमा भित्र्याएको छ।
कपाल प्रत्यारोपणमा प्रयोग हुने यो आधुनिक प्रणालीले कपालको जरा निकाल्ने प्रक्रियालाई अझ सटिक, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्य राखेको क्लिनिकले जनाएको छ।
क्लिनिकका अनुसार विशेषगरी एफयूई (Follicular Unit Extraction) प्रविधिमा आधारित यो प्रणालीले टाउकोको पछिल्लो भागबाट कपालको जरा निकाल्दा चिकित्सकलाई उच्च नियन्त्रण प्रदान गर्ने र प्रत्यारोपणका लागि प्रयोग हुने कपालको जराको गुणस्तर कायम राख्न सहयोग गर्ने बताइएको छ।
अनोभा स्किन एण्ड हेयर क्लिनिककी सञ्चालक डा. स्मृति श्रेष्ठका अनुसार कपाल प्रत्यारोपणमा केवल संख्याभन्दा पनि यसको गुणस्तर, सुरक्षित प्रक्रिया र प्राकृतिक परिणाम मुख्य विषय हुन्।
डा. स्मृति श्रेष्ठ धुलिखेल अस्पतालमा सह–प्राध्यापकका रूपमा आबद्ध छिन्।
छाला रोग विशेषज्ञका रूपमा उनले कपाल तथा सौन्दर्य सम्बन्धी उपचार, कपाल प्रत्यारोपण, एस्थेटिक डर्माटोलोजी लगायतका क्षेत्रमा काम गर्दै आएकी छन्। आधुनिक प्रविधिमा आधारित उपचार पद्धतिलाई प्राथमिकता दिने उनको विशेषज्ञता कपाल पुनर्स्थापनाको क्षेत्रमा केन्द्रित रहेको छ।
पछिल्लो समय कपाल प्रत्यारोपणलाई केवल सौन्दर्यसँग मात्र नभई व्यक्तिगत आत्मविश्वास र सामाजिक प्रस्तुतिसँग जोडेर हेर्न थालिएको छ। युवा पुस्तादेखि व्यस्त पेशाकर्मीहरूसम्म प्राकृतिक देखिने र सुरक्षित उपचार विकल्पको खोजीमा छन्।
‘नयाँ प्रविधिले कपालको जरा निकाल्ने प्रक्रियामा चिकित्सकलाई थप सटिकता दिन्छ। यसले कपालको जरामा हुने क्षति कम गर्न र सेवाग्राहीलाई अझ राम्रो तथा प्राकृतिक परिणाम दिन सहयोग पुर्याउँछ,’ डा. श्रेष्ठले बताइन्।
उनका अनुसार अहिलेका सेवाग्राहीहरू उपचार मात्र होइन, सुरक्षित प्रक्रिया, कम असहजता र आफ्नो व्यक्तित्वसँग मेल खाने प्राकृतिक परिणाम चाहन्छन्। त्यसैले कपाल उपचारमा प्रविधिको भूमिका अझ महत्वपूर्ण बन्दै गएको छ।