नेपाली कफीको उत्पादन, बजारीकरण र ब्रान्ड प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा शनिबार नेपाली कफीको राष्ट्रिय प्रदर्शनी तथा कफी कपिङ च्याम्पियनसिप सम्पन्न भएको छ।
नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजनामा तथा पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्रवर्द्धनमा आयोजित कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका हुन्।
कार्यक्रममा कफी उत्पादन क्षेत्रमा क्रियाशील उद्यमी, कृषक, कृषि सहकारीका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो।
‘चिनौँ, चाखौँ, अपनाऔँ, प्रवर्द्धन गरौँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा नेपाली कफीको गुणस्तर, स्वाद र बजार विस्तारका विषयमा छलफल तथा प्रदर्शनी गरिएको थियो।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय निर्देशक चन्द्र पुरीले पोखरा नेपाली कफीको प्रमुख हबका रूपमा विकास हुँदै गएको बताए।
नेपाली कफीको विशिष्ट पहिचान, गुणस्तर र उत्कृष्ट स्वादलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उनले बताए।
हाल नेपालका ४३ जिल्लामा कफी खेती विस्तार भइसकेको छ भने ३० हजारभन्दा बढी किसान यस व्यवसायमा आबद्ध छन्।
आर्थिक वर्ष २०८१/८२ मा ५ हजार ५०१ हेक्टर क्षेत्रफलबाट ६४२ मेट्रिक टन ग्रिन बिन कफी उत्पादन भएको बोर्डले जनाएको छ। सोही अवधिमा ६४ मेट्रिक टन कफी निर्यात भएको थियो भने करिब १४ करोड ४१ लाख रुपैयाँ बराबरको २३० मेट्रिक टन कफी आयात भएको तथ्यांक छ।
बोर्डका अनुसार नेपालमा मुख्यतः अर्गानिक अरेबिका जातको कफी उत्पादन हुने भएकाले स्वाद र गुणस्तरका आधारमा अन्तर्राष्ट्रिय बजारमा यसको उच्च मूल्य रहेको छ। नेपाली कफी जर्मनी, जापान, स्विट्जरल्यान्ड, दक्षिण कोरिया, अष्ट्रेलियालगायत मुलुकमा निर्यात हुँदै आएको छ।
गण्डकी प्रदेश कफी उत्पादन र उपभोग दुवैका हिसाबले अग्रणी प्रदेशका रूपमा रहेको बोर्डले जनाएको छ। प्रदेशका ११ जिल्लामध्ये ९ जिल्लामा कफी खेती भइरहेको छ। गत आर्थिक वर्ष प्रदेशमा १ हजार ५५१ हेक्टर क्षेत्रफलमा कफी खेती गरी १५६ मेट्रिक टन ग्रिन बिन उत्पादन भएको थियो।
पोखरा महानगरपालिकाका अनुसार महानगर क्षेत्रमा करिब ४५ हेक्टर क्षेत्रफलमा कफी खेती हुँदै आएको छ। आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखरामा वार्षिक करिब १५ टन कफी उत्पादन हुने जानकारी दिए। पोखरामा मात्रै करिब १ हजार ५०० कफी क्याफे तथा सपमार्फत नेपाली कफीको खपत भइरहेको जनाइएको छ।
नगर प्रमुख धनराज आचार्यले कफी खेतीको व्यावसायिक विकासका लागि महानगरले बीउ तथा बिरुवामा अनुदान, बजारीकरण तथा प्याकेजिङमा सहयोग गर्दै आएको बताए। कम्तीमा १०० बोट कफी रोप्ने किसानलाई प्रतिवोट ५० रुपैयाँका दरले प्रोत्साहन उपलब्ध गराउने कार्यक्रमअन्तर्गत हालसम्म १० हजार बिरुवा रोपिएको उनले जानकारी दिए।
कफी व्यवसायका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत बारिस्टालगायत सीप विकास तालिम सञ्चालन गरिएको उल्लेख गर्दै आचार्यले बाँझो जमिन तथा बाँदरको क्षति बढी हुने क्षेत्रमा समेत कफी खेती विस्तार गर्न कृषकलाई आग्रह गरे। खेतीयोग्य जमिन बाँझो रहने समस्या बढ्दै गएकाले त्यसको उपयोगका लागि कफी खेती उपयुक्त विकल्प हुन सक्ने उनको भनाइ थियो।
कार्यक्रममा उत्कृष्ट कफीको निःशुल्क कपिङ, कफी नर्सरी तथा बोटको अवलोकन, बीउदेखि कपसम्मको मूल्य शृंखला प्रदर्शन, कफीसम्बन्धी उपकरण प्रदर्शनी तथा प्राविधिक अन्तरक्रिया गरिएको थियो।
राष्ट्रिय कफी कपिङ च्याम्पियनसिपमा कफी सहकारी संघ लिमिटेड, ललितपुर प्रथम भएको छ भने महाभारत साना किसान कृषि सहकारी संस्था, काभ्रे दोस्रो भएको छ। कोट थोक कफी उत्पादक कृषक समूह, गोरखा, महादेवटार योग कृषि फार्म, काभ्रे तथा गुल्मी कफी स्टेट प्रालि, गुल्मी संयुक्त रूपमा तेस्रो भएका छन्।
कार्यक्रममा कपिङ च्याम्पियनसिपमा उत्कृष्टता हासिल गर्ने कफी उद्यमी तथा कृषकहरूलाई नगदसहित सम्मान गरिएको छ।