शैक्षिक परामर्श सेवा केन्द्र युनिगाइडले क्रिकेटर तिलकराज भण्डारी र आदिल खानलाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ।
शनिबार बुटवलमा आफ्नो शाखा शुभारम्भको अवसरमा युनिगाइडले क्रिकेटर तिलकराज र आदिललाई एक वर्षका लागि अफिसियल ब्रान्ड एम्बेस्डर घोषणा गरेको हो।
कार्यक्रममा क्रिकेटर तिलकराज र आदिल तथा युनिगाइडका प्रमुख कार्यकारी अधिकृत गणेश दाहाल र प्रबन्ध निर्देशक ऋषि खनालले एक वर्षका लागि सम्झौता गरेका हुन्।
युनिगाइडका प्रमुख कार्यकारी अधिकृत दाहालले सामाजिक उत्तरदायित्व अन्तरगत क्रिकेट क्षेत्रको विकासमा योगदान दिने गरी सहकार्य गरिएको बताए।
ब्रान्ड एम्बेस्डर तिलकराज र आदिलले युनिगाइडले विश्वास गरेर ठूलो जिम्मेवारी दिएको भन्दै युनिगाइडको व्यावसायिक प्रवर्द्धनका लागि आफूहरूले सक्दो योगदान पुर्याउने बताए।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पहिलो ब्याचका खेलाडी सञ्जय गुरूङले आफ्नो खेल जीवनको स्मरण गर्दै क्रिकेट खेलाडीलाई कुनै कम्पनीले ब्रान्ड एम्बेस्डर बनाउनु आफ्नो लागि पनि खुसीको क्षण भएको बताए।
‘म जति बेला क्रिकेट खेल्न थालेको थिएँ त्यति बेला क्रिकेट व्यावसायिक भइसकेको थिएन, यो दिन आउँछ भन्ने कल्पना पनि गरिएको थिएन,’ उनले भने।
गुरूङले आफूले सोखले खेले पनि अहिले क्रिकेट व्यावसायिक बनिरहेको र खेलाडीले खेलेरै सम्मानजनक रूपमा जीवन निर्वाह गर्न सक्ने भएको बताए।
क्रिकेट खेलमा भएको विकासमा निजी क्षेत्रको पनि ठूलो योगदान रहेको र त्यसैका कारण क्रिकेटप्रति आम नागरिकहरूको धारणा पनि सकारात्मक भएको उनले बताए।
पाँच वर्ष पहिले बेलायतमा स्थापना भएको शैक्षिक परामर्श केन्द्र युनिगाइडले दुई वर्षदेखि काठमाण्डौंमा कार्यालय सञ्चालन गरी विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिँदै आएको छ।
प्रमुख कार्यकारी अधिकृत दाहालले नेपाली विद्यार्थीलाई अध्ययनको लागि विदेश पठाउने कन्सल्टेन्सी भन्दा पनि युनिभर्सिटीको सहयोगीको रूपमा काम गरिरहेको दाबी गरे।
दाहालका अनुसार युनिगाइडले बेलायतसँगै पछिल्लो दुई वर्षदेखि क्यानडा, अमेरिका र अष्ट्रेलिया जान चाहने विद्यार्थीहरूलाई परामर्श सेवा दिँदै आएको छ।
प्रबन्ध निर्देशक ऋषि खनालले नेपालका विद्यार्थीहरूलाई अध्ययनका लागि बाहिर पठाउन मात्र नभई अध्ययनपछि फेरि नेपालमै फर्किएर काम गर्ने गरी परामर्श सेवा दिने गरेको बताए।