नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ।
साधारण सभाले अनुभव श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गर्दै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ।
पदभार ग्रहणपछि नवनिर्वाचित अध्यक्ष अनुभव श्रेष्ठले विश्वास, सहकार्य, निरन्तर सिकाइ र साझा उद्देश्यमा आधारित सशक्त तथा एकताबद्ध एनवाइइएफ काठमाडौं निर्माण गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरे।
उनले एनवाइइएफलाई केवल व्यवसायिक सञ्जालमा सीमित नराखी युवा उद्यमीहरूले मार्गदर्शन, सहकार्य, अवसर तथा अपनत्व महसुस गर्ने साझा मञ्चका रूपमा अझ सशक्त बनाउने लक्ष्य रहेको बताए।
एनवाइइएफले आफ्नो व्यक्तिगत तथा व्यावसायिक यात्रामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले अब यस संस्थालाई नेपालको युवा उद्यमशीलताको भविष्य निर्माण गर्ने अग्रणी संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले उद्यमशीलता केवल व्यवसाय सञ्चालन गर्ने माध्यम मात्र नभई रोजगारी सिर्जना, नवप्रवर्तन प्रवर्द्धन, सामाजिक समस्या समाधान तथा नेपालको दीर्घकालीन आर्थिक समृद्धिको प्रमुख आधार भएको उल्लेख गरे।
विगत केही वर्षमा व्यवसायिक क्षेत्रमा देखिएका चुनौतीहरूको चर्चा गर्दै उनले नेपाली उद्यमीहरूले कठिन परिस्थितिमा पनि देखाएको धैर्यता र दृढताको प्रशंसा गरे।
आर्थिक संक्रमणका बेला नै नयाँ सोच, नवप्रवर्तन र दूरदर्शी नेतृत्वको आवश्यकता अझ बढी हुने उल्लेख गर्दै उनले युवा उद्यमीहरूलाई परिवर्तनका संवाहक, नवप्रवर्तक तथा नेतृत्वदायी भूमिकामा अगाडि बढ्न आग्रह गरे।
साथै, एनवाइइएफ काठमाडौंलाई ज्ञान आदान–प्रदान, मार्गदर्शन, जिम्मेवार व्यवसायिक नेतृत्व तथा साझा सफलताको संस्कृतिमा आधारित संस्थाका रूपमा विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीलाई थप सुदृढ बनाउने आफ्नो योजना पनि प्रस्तुत गरे।
साधारण सभामा उद्यमशीलता विकास, स्टार्टअप प्रवर्द्धन, नवप्रवर्तन, नेतृत्व विकास तथा निजी क्षेत्र र नीति निर्माताबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा पनि सार्थक छलफल भएको थियो।
यस्तो छ नवनिर्वाचित कार्यसमिति:
- अनुभव श्रेष्ठ – अध्यक्ष
- अप्पा शेर्पा – निवर्तमान अध्यक्ष
- सन्दीप शर्मा – प्रथम उपाध्यक्ष
- सौरभ श्रेष्ठ – द्वितीय उपाध्यक्ष
- सायन प्रजापति – कार्यसमिति सदस्य
- सन्तोष पाण्डे – कार्यसमिति सदस्य
- आश्लेषा कार्की – कार्यसमिति सदस्य
- छेची शेर्पा – कार्यसमिति सदस्य
- सुरक्षा अधिकारी – कार्यसमिति सदस्य
- इच्छा मल्ल – कार्यसमिति सदस्य
- अमृताञ्जली शाक्य – कार्यसमिति सदस्य
- निखिल अग्रवाल – कार्यसमिति सदस्य
- श्रेया गिरी – कार्यसमिति सदस्य
- श्यारोन अधिकारी – कार्यसमिति सदस्य
- प्रियान्शी जालान – कार्यसमिति सदस्य