काठमाडौं मोडेल कलेज (केएमसी) बागबजारले आगामी साउन २४ गते 'केएमसी जब फेयर-२०२६' आयोजना गर्ने भएको छ।
युवालाई रोजगारीसँग प्रत्यक्ष जोड्ने उद्देश्यले आयोजना हुन लागेको रोजगार मेलामा ४७ वटा प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूले विभिन्न पदका लागि दक्ष जनशक्ति छनोट गर्ने बताइएको छ।
केएमसी नेटवर्कअन्तर्गतका कलेजहरू तथा अन्य शैक्षिक संस्थाबाट स्नातक तथा स्नातकोत्तर तह अध्ययनरत एवं अध्ययन सम्पन्न गरेका विद्यार्थी लक्षित गरी आयोजना हुने रोजगार मेलामा सयौं युवाको सहभागिता रहने आयोजकको अपेक्षा छ।
सहभागीहरूले आफ्नो योग्यता, रुचि तथा दक्षताअनुसार विभिन्न कम्पनीका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तर्वार्ता, करियर परामर्श तथा रोजगारीका अवसरबारे जानकारी प्राप्त गर्ने अवसर पाउनेछन्।
कार्यक्रमअन्तर्गत रोजगारीसँग सम्बन्धित विशेष प्यानल छलफलसमेत आयोजना हुने उक्त छलफलमा विभिन्न उद्योग तथा रोजगारदाता संस्थाका प्रतिष्ठित प्रतिनिधिहरूले नेपालको भविष्यको श्रमबजारमा रोजगारदाताले अपेक्षा गर्ने ज्ञान, सीप, व्यावसायिक आचरण, नेतृत्व क्षमता, सञ्चार कौशल तथा रोजगार योग्यताका आवश्यक पक्षहरूबारे आफ्ना अनुभव, अपेक्षा र दृष्टिकोण प्रस्तुत गर्ने बताइएको छ।
काठमाडौं मोडेल कलेजका कलेज प्रमुख सुरेन्द्र सुवेदीले विश्वविद्यालयको पाठ्यक्रमसँगै समयसापेक्ष सीप, प्रविधिमैत्री शिक्षा र उद्योग-शिक्षा सहकार्यलाई प्राथमिकता दिँदै विद्यार्थीलाई रोजगारयोग्य बनाउने दिशामा केएमसी निरन्तर क्रियाशील रहेको बताए।
काठमाडौं मोडेल कलेजको कर्पोरेट रिच आउट क्लब र अलुम्नाइ रिच आउट क्लबको आयोजनामा, स्टुडेन्ट क्वालिटी सर्कलको समन्वयमा मानव संसाधन समाज नेपाल र स्किल ल्याबको सहकार्य तथा नेपाल सरकारको सहजीकरणमा आयोजना हुने रोजगार मेलामा बैंकिङ, वित्त, सूचना प्रविधि, इञ्जिनियरिङ, बीमा, आतिथ्य, शिक्षा, सेवा तथा उत्पादनमूलकलगायत विभिन्न क्षेत्रका अग्रणी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता रहने बताइएको छ।
केएमसीका सहायक कलेज प्रमुख ध्रुवप्रसाद तिमिल्सिनाका अनुसार केएमसी जब फेयर-२०२६ विद्यार्थी, रोजगारदाता र शैक्षिक संस्थाबीच सुदृढ सहकार्य र प्रभावकारी समन्वय स्थापित गर्ने साझा मञ्चका रूपमा विकसित हुनेछ।