रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२, नेपाल–भुटानको डिस्ट्रिक्ट मेम्बरसिप एन्ड पब्लिक इमेज सेमिनार मोरङस्थित होटल नेपालिरिका रिसोर्टमा सम्पन्न भएको छ।
रोटरी क्लबहरूको सदस्यता विस्तार, क्लबको विविधता तथा प्रभावकारिता अभिवृद्धि र सार्वजनिक छवि सुदृढ गर्ने उद्देश्यले आयोजित सेमिनारमा रोटरीका विभिन्न पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
सेमिनारमा मेम्बरसिप र पब्लिक इमेज गरी दुई समूहमा छुट्टाछुट्टै सत्र सञ्चालन गरिएको थियो।
मेम्बरसिप सत्रमा सदस्यताको महत्त्व, वर्तमान अवस्था तथा समीक्षा, स्वस्थ र विविध क्लब निर्माण, नयाँ सदस्य आकर्षण तथा अभिमुखीकरण र सदस्यता व्यवस्थापनका विषयमा प्रस्तुति तथा अन्तरक्रिया गरिएको थियो। सत्रमा डिस्ट्रिक्ट मेम्बरसिप कमिटी चेयर विष्णुहरि दाहाल, डा. आई.पी. ढकाल, डिस्ट्रिक्ट सेक्रेटरी लक्ष्मण गन्वाली र पीडीजी सञ्जय गिरीलगायतले सहजीकरण गरेका थिए।
पब्लिक इमेज सत्रमा रोटरीको सार्वजनिक छविको अवस्था तथा समीक्षा, सेवा परियोजनामार्फत सार्वजनिक छवि अभियानको प्रभाव मापन, स्टोरी टेलिङ, रोटरीका मूल्य, सञ्चारमाध्यमको प्रयोग, ब्रान्डिङ तथा ब्रान्ड सेन्टरलगायतका विषयमा छलफल गरिएको थियो। सत्रमा डिस्ट्रिक्ट पब्लिक इमेज चेयर छोङ्बा शेर्पा, रोबिन श्रेष्ठ, पीडीजी जितेन्द्र बी. राजभण्डारी तथा डिस्ट्रिक्ट गभर्नर नोमिनी एवं पब्लिक इमेज एडभाइजर अमित गिरीले प्रस्तुति दिएका थिए।
यसपटकको पब्लिक इमेज सत्रलाई थप अन्तरक्रियात्मक बनाउँदै रोटरीका सेवा परियोजनाबाट लाभान्वित व्यक्ति, सेवाका साझेदार तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई सहभागी गराइएको थियो।
लाभान्वितहरूले रोटरीको सहयोग र सेवा परियोजनाले आफ्नो जीवनमा पारेको सकारात्मक प्रभावबारे अनुभव सुनाएका थिए भने सेवाका साझेदारहरूले समुदायका महत्वपूर्ण चुनौती समाधान गर्न रोटरीसँगको सहकार्य र संयुक्त प्रयास प्रभावकारी हुने धारणा राखेका थिए।
पत्रकार महासंघ मोरङका अध्यक्ष सन्तोष काफ्लेले लाभान्वित व्यक्तिहरूका अनुभव प्रत्यक्ष रूपमा सुन्न पाउँदा रोटरीको काम, प्रभाव र यसले मानिसहरूको जीवनमा ल्याइरहेको वास्तविक परिवर्तनलाई अझ गहिराइमा बुझ्न सहयोग पुगेको बताए।
उनले आगामी दिनमा रोटरीका प्रभावकारी सेवा तथा सामाजिक अभियानलाई सञ्चारमाध्यमबाट थप प्राथमिकताका साथ प्रचारप्रसार गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्की, आरएमसी पीडीजी सञ्जय गिरी, डिस्ट्रिक्ट गभर्नर इलेक्ट डा. आई.पी. ढकाल, डिस्ट्रिक्ट गभर्नर नोमिनी अमित गिरी तथा प्रमुख अतिथि रोटरी इन्टरनेसनल डाइरेक्टर इलेक्ट पीडीजी बसुदेव गोल्यानले सम्बोधन गरेका थिए। कार्यक्रमको उद्देश्य तथा विषयवस्तुबारे डिस्ट्रिक्ट लर्निङ फेसिलिटेटर पीडीजी राजेन्द्रमान शेरचनले जानकारी गराएका थिए।
सेमिनारले रोटरीको सदस्यता विस्तार र क्लबको प्रभावकारिता अभिवृद्धिसँगै सेवा परियोजनाको वास्तविक प्रभावलाई सार्वजनिक गर्ने तथा समुदाय, सेवाका साझेदार र सञ्चारमाध्यमसँगको सहकार्य थप सुदृढ गर्ने विषयमा महत्वपूर्ण छलफल र अनुभव आदानप्रदान गरेको छ।