अमेरिकी प्रविधि कम्पनी मेटाले आफ्नो सामाजिक सञ्जालले बालबालिकालाई हानि पुऱ्याएको मुद्दामा १७ अर्ब डलरसम्म क्षतिपूर्ति तिर्ने सहमति जनाएको छ।
अमेरिकाका २९ वटा राज्यहरूले एकजुट भई फेसबुक र इन्स्टाग्रामले बालबालिकालाई हानि पुऱ्याएको र मेटालाई ती हानिकारक प्रभावहरूबारे थाहा भएको दाबी गर्दै मुद्दा हालेका थिए।
अगस्ट १८ देखि सुरू भएको सो मुद्दामा एक खर्ब ९३ अर्ब डलरसम्मको क्षतिपूर्ति मागिएको थियो।
सो मुद्दामा बुधबार मेटा र महान्यायाधिवक्ताहरूले गरेको एक सहमतिपत्र अनुसार मेटाले आगामी १० वर्षमा १२ अर्ब डलरदेखि १७ अर्ब डलरसम्म क्षतिपूर्ति तिर्नेछ।
कम्पनीले गरेको सम्झौता अनुसार टिकटक र युट्युब लगायत अन्य सबै ठूला सामाजिक सञ्जाललाई पनि उस्तै जरिवाना तिर्न बाध्य पारिएमा मात्र राज्यहरूले अधिकतम १७ अर्ब डलर असुल गर्न पाउनेछन्।
द इकोनमिस्टका अनुसार मेटाले आफूसँग सम्झौता गरेका राज्यहरूमा फेसबुक र इन्स्टाग्रामको प्रयोगलाई नियन्त्रण गर्ने विभिन्न उपायहरूमा पनि सहमति जनाएको छ।
जसअनुसार मेटाले आफ्ना सबै प्रयोगकर्ताको उमेर पहिचान गर्न नयाँ प्रक्रियाहरू अपनाउनेछ।
१८ वर्षमुनिका किशोरकिशोरीहरूका लागि उनीहरूले स्क्रोलिङमा बिताउन सक्ने कुल समय दिनको बढीमा दुई घण्टामा सीमित गरिनेछ। जसमा मध्यरातिदेखि बिहान ६ बजेसम्म चलाउन नकिने (ब्ल्याकआउट) अवधि रहनेछ।
साथै राति १० बजेदेखि बिहान ७ बजेसम्म र विद्यालय समयमा कुनै पनि सूचना (नोटिफिकेसन) आउने छैनन्।
त्यस्तै, 'लाइक' लगायत पोस्टहरूसँगको अन्तरक्रियाका सूचकहरू उनीहरूका लागि लुकाइनेछ। र उनीहरूलाई इन्स्टाग्राममा एल्गोरिदम-रहित समयक्रम अनुसारको 'फिड' मा स्विच गर्ने विकल्प दिइनेछ। यसले उनीहरूले पछ्याउन (फलो गर्न) रोजेका खाताहरूका तस्बिरहरू मात्र देखाउनेछ।
सम्झौताको हिस्सा नरहेका अरू धेरै अमेरिकी राज्यहरूले पनि यस्तै खाले बेग्ला-बेग्लै मुद्दाहरू अगाडि बढाइरहेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)