बुटवल उद्योग वाणिज्य संघको अधिवेशनबाट नरिश्वर शर्मा पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।
२६ औं अधिवेशन अन्तर्गत सोमबार सम्पन्न निर्वाचनबाट पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो।
निर्वाचन समितिका अनुसार १ हजार ८ सय १० मतदाता रहेको संघको निर्वाचनमा १ हजार ४ सय ६६ मत खसेको थियो। जसमध्ये पौडेलले ८३३ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् भने अर्का प्रतिस्पर्धी टंक प्रसाद गैरेले ६०९ मत प्राप्त गरेका थिए।
संघको आगामी नेतृत्वको लागि व्यवसायीहरूले पौडेल र गैरेको नेतृत्वमा दुई वटा प्यानल बनाएर निर्वाचनमा उत्रिएका थिए। निर्वाचनबाट पदाधिकारी तथा सदस्यहरूमा भने मिश्रित परिणाम आएको छ।
जसमध्ये पौडेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, महासचिवमा वसन्तप्रसाद ढकाल, सचिवमा दीपकप्रसाद चापागाईँ र सह कोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु) निर्वाचित भएका छन्। त्यस्तै गैरे नेतृत्वको प्यानलबाट उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्ति प्रसाद अधिकारी र कोषाध्यक्षमा टिकराम बन्जाडे निर्वाचित भएका छन्।
सदस्यहरूमा पौडेल प्यानलबाट उद्योग सदस्यहरूमा लेखनाथ भण्डारी, सुनिता शर्मा बन्जाडे तथा ज्ञान बहादुर पुन गोलापर्थाबाट निर्वाचित भएका छन्। पौडेल प्यानलबाटै वाणिज्य सदस्यहरूमा गणेश प्रसाद भट्टराई, रामबहादुर भण्डारी र उमेश अमात्य निर्वाचित भएका छन्।
त्यस्तै खुल्ला सदस्यमा विष्णु घिमिरे पन्थ कमला, विष्णु प्रसाद उपाध्याय, दिपक घिमिरे र प्रदिप शाक्य निर्वाचित भएका छन्। महिला सदस्यहरूमा मञ्जु पुरी गिरी र रेनु श्रेष्ठ निर्वाचित भएका छन्।
गैरे प्यानलबाट एसोसिएट्स सदस्य बालकृष्ण पौडेल, उद्योग सदस्यहरूमा गोपाल टण्डन, वाणिज्य सदस्यमा सुनिता गिरी निर्वाचित भएका छन्। त्यस्तै खुल्ला सदस्यमा विजय कुमार वर्णवाल, गोपाल प्रसाद बस्याल र सुनिता अर्याल निर्वाचित भएका छन्।