रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा करिब ९९ प्रतिशत स्थानमा विद्युत सेवा सञ्चालन भएको उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
मंगलबार सिंदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव डा. जगदीश्वर कर्माचार्यले यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार अब रसुवाका करिब ८० घरधुरीमा मात्र विद्युत जडान हुन बाँकी छ।
उनले उक्त क्षेत्रमा विद्युत जडान गर्न प्रशारण लाइन समेत निर्माण गर्नुपर्ने भएकाले तत्काल विद्युत सेवा सञ्चालन गर्न कठिन भएको बताए।
उक्त क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सौर्य ऊर्जाको व्यवस्था गरिएको सचिव कर्माचार्यले बताए।
उनले बाढीले क्षतिग्रस्त भएका जलविद्युत आयोजनाको पुनःनिर्माणका कार्ययोजना निर्माणको काम भइरहेको समेत बताए।
उनले बाढीले निजी तथा सरकारी क्षेत्रबाट सञ्चालित दर्जन बढी जलविद्युत आयोजनामा ठूलो क्षति भएको विवरण समेत समिति समक्ष पेस गरे।
उनले भने, ‘बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा करिब ९९ प्रतिशत क्षेत्रमा विद्युत सञ्चालन भइसकेको छ। अहिले रसुवाको करिब ८० घरधुरीमा मात्र विद्युत जडानको कार्य बाँकी छ। त्यहाँ नजिकै ट्रान्समिसन लाइनहरू समेत बनाउनुपर्ने भएको कारण हामीले तत्काल सम्भव नदेखेको हो। त्यो क्षेत्रको लागि हामीले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट सोलारको माध्यमबाट व्यवस्था गरेका छौँ। विद्युत आयोजनाको सुरूङमा हाम्रो ९ सय ९० जनाभन्दा बढी बेपत्ता भएका छन्। राज्यले अथक प्रयास गर्दा पनि जम्मा ३ जनाको मात्रै उद्धार गर्न सक्यो। बाँकी कोही पनि भेटिने सम्भावना पनि कम हुँदै गएको छ। अब हामीले ऊर्जा क्षेत्रको पुनःसंरचना निर्माणको लागि एउटा कार्ययोजना नै बनाउनुपर्नेछ।’
उनले अगामी दिनमा नदी करिडोरका आयोजना जलवायु अनुकूल बनाउनुपर्नेमा जोड दिए। –न्युज एजेन्सी नेपाल