वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजमार्ग र राजमार्ग आसपासका होटल, रेस्टुरेन्ट तथा खाजा घरलाई मूल्यसूची राख्न र प्रत्येक ग्राहकलाई अनिवार्य रूपमा बिल दिन निर्देशन दिएको छ।
विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै होटल तथा रेस्टुरेन्टमा बिक्री हुने खाना, खाजा र पेय पदार्थको मूल्यसूची ग्राहकले सहजै देख्न र बुझ्न सक्ने ठाउँमा राख्न भनेको हो।
विभागका अनुसार बिक्री गरिएका खाद्यवस्तु तथा प्रदान गरिएका सेवाको वास्तविक कारोबार मूल्य खुल्ने गरी प्रत्येक ग्राहकलाई बिल वा बिजक दिन भनेको छ।
त्यस्तै, खाना पकाउने, भण्डारण गर्ने र बिक्री गर्ने क्रममा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पालना गर्न विभागले निर्देशन दिएको छ। होटल तथा रेस्टुरेन्टका भान्छा, भोजन कक्ष, भाँडाकुँडा, खानेपानी र शौचालय सफा राख्नुपर्ने सूचनामा उल्लेख छ।
विभागले दूषित, म्याद गुज्रिएका वा खान अयोग्य खाद्यवस्तु बिक्री नगर्न पनि व्यवसायीलाई सचेत गराएको छ। प्रचलित कानुनअनुसार मूल्य कायम गरी ग्राहकलाई मर्यादित, पारदर्शी र गुणस्तरीय सेवा दिनुपर्ने विभागको भनाइ छ।
अनुगमनका क्रममा कानुन, खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड र उपभोक्ता हित संरक्षणसम्बन्धी व्यवस्था उल्लङ्घन गरेको पाइएमा सम्बन्धित व्यवसायीलाई कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ।