अनि काजी सा’पलाई लागि त गो
जीवन बस् एक बेमेल, बेकार, बेथिति, तिरस्कार,
असंगत, अराजक, निरर्थक र निस्सार
अनि यी सबैको एक भद्दा गोलमटोल।
बाँच्न मन नभए पनि बाँच्नुपर्ने,
कहिले आफ्नै लागि, कहिले कसैका लागि त
कहिले बाँच्नैका लागि बाँच्नुपर्ने।
हाँस्दा बौलायो भन्ने, रूँदा ठिक्क पर्यो।
बन्द कोठामा थुनिँदा फलानो कति राम्रो,
अनि बोल्न खोज्दा, देखिन खोज्दा, जीवन ज्यून खोज्दा
एक फगत फाल्तु।
चेतनाले अवचेतन रोज्ने
अवचेतनले चेतनालाई कायर ठान्ने।
यो कस्तो घनचक्कर?
जब सीताको सतित्वको गुनगान हुन्छ,
अनी उनैको कल्पनामा बिर्यहरुको खोला बग्छ।
जब गौरीको शरीरको धार्मिक ब्याख्या हुन्छ,
अनि त्यही लयमा बेश्याहरुको शरीरको संरचना बन्छ ।
जब निरञ्जन निराकारको पवित्र ध्वनीमा
क्रन्दन र चित्कार भरिन्छ।
जब मसानघाटमा भड्किएका दरिद्र आत्माभन्दा
पुलको मुनी, सडकको पारी, स्काइ ब्रिजको अँध्यारो कुनामा
बेनामे लावारिस भ्रुणहरुको ‘कम्फर्टेबल मेजरिटी’ हुन्छ,
जहाँ शरिर बेच्नेहरुलाई तराह–तराहको विशेषण भिराइन्छ
र भनिन्छ श्रम बेच्नेलाई खलासी अनि खाते।
जब ढुंगालाई ढोगिन्छ र मूर्खहरुलाई पुजिँन्छ,
जब तिक्ष्ण दिमागलाई दह्रिलो पाखुराले शासन गर्छ,
जब बोलेर तर्क गर्नेलाई तरिने आँखाले चुपचाप पार्छ,
जहाँ काम गर्ने बन्छ चाटुकार
अनी निस्क्रियहरुकै सारा सपना साकार?
अनि काजी सा’पलाई जीवन बस् एक बेमेल, बेकार,
बेथिती, तिरस्कार, असंगत, अराजक,
निरर्थक र निस्सार नलागेर के लाग्छ?
त्यसैले काजी सापको मथिंगल चर्डचडाउँछ
अनि त बर्षौंदेखि मस्तिष्कको गर्भमा खाँदिएर रहेको,
गुम्सिएर बसेका
शब्दहरु हुँकार गरी, ताण्डव सरी बाहिरिन्छन्
तर दबाइन खोजिन्छ यी शब्दहरु।
भनिन्छ, ‘यो मोरो नकचरो, लाचार, लबथ्तरो, यसको के को गति?’
काजी साप सोच्छ अब त अति भो।
त्यसैले अठोट गर्छ
र भन्छ ‘काजी साब अब ‘रेबेल’ बन्छ।’