'हेल्लो नरेन्द्र जी... नमस्ते। कता हुनुहुन्छ आजकल?'
झापाका नरेन्द्र ओझासँग सुदांशुको भाइबर च्याट सुरु हुन्छ।
वीकएण्ड मनाउन घर आएकी छोरी प्रकृतिको च्याट उत्सुकता मेटाउने इच्छा थियो सुदांशुको। प्रकृति जन्मने बित्तिकै दीपिकाले संसार छोडेर गएपछि प्रकृति मात्रै हुन् सुदांशुको आफ्नो भन्ने।
तर, च्याट बक्समा नरेन्द्रको रेस्पोन्स आउँदैन। वीकएण्ड सकिन्छ, सुदांशु छोरीलाई होस्टल पुर्याइदिन्छन्। अर्को वीकएण्ड आउँछ। फेरि लिन जान्छन्। सुदांशुको जीवन यसरी नै चलिरहन्छ।
'बाबा च्याट गरौं न आज पनि भाइबरमा। इला, उवर्शी अनि निलिमाले त च्याट गर्दा रैचन् नि बाबाको मोबाइलमा,' उमेरले सानी भए पनि संगतिले डिजिटल एपसँग निकै जानकार भइसकेकी छिन् प्रकृति।
'हेल्लो नरेन्द्रजी... व्यस्त हुनुहुन्छ कि क्या हो ? के छ हालखबर ? ...'
नरेन्द्रकै रिप्लाइबाट छोरीको च्याट उत्सुकता मेटियोस् भन्ने थियो, सुदांशुलाई। अरुलाई किन बेकार म्यासेज गरिराख्नु। नचिनेका मान्छे पनि थिएनन् नरेन्द्र। एक दुई काममा सहयोग पनि गरेकै हुन् सुदांशुले।
जवाफ आउँदैन।
छोरी होस्टल फर्किन्छिन्।
भोलिपल्ट नरेन्द्रको जवाफ आउँछ।
प्रतिउत्तरले कताकता ग्लानी अनुभूति हुन्छ सुदांशुलाई।
'हजुरले भनेको नरेन्द्रजी होइन म। केही वर्षअघि मैले यो नम्बर किनेको उहाँबाट। यो मेरो नम्बर हो। उहाँले प्रयोग गर्नुहुन्न यो नम्बर।'
'यस्तै हो च्याट भनेको' भनेर छोरीको च्याट उत्सुकता मेटाउन गरिदिएको। कता पो परेछ। को हो? के सोचे होला? आफ्नै किल्यरेन्स् गर्न पनि सुदांशुलाई थप म्यासेजको सहारा लिनु बाहेक अर्को विकल्प रहँदैन।
'आइ एम सरी। आइ एम सुदांशु। प्रिजेन्ट्ली एक्टिभ् इन् द नेसनल पोलिटिक्स्। नरेन्द्रजी इज् माई फ्रेन्ड एन्ड वी वेर वर्किङ टुगेदर ह्वेन आई वाज् इन् द गभरन्मेन्ट सर्भिस्।'
फेरि पनि भोलि नै फर्किन्छ जवाफ।
'इट्स् अल राइट्। आई एम् सुनैना फ्रम झापा, वर्किङ इन एन् आईएनजीओ।'
म्यासेज हेरर सुदांशु अक्कबक्क हुन्छन्। को भनेर म्यासेज् गरेको को पो आइलाग्यो। भर्चुयल्ली चिनजान पनि भयो सुनैनासँग।
'कस्ती होलिन् सुनैना?' अर्कै खालको उत्सुकताले कुत्कुतिन्छन् सुदांशु।
'बोली कस्तो होला? बानी व्यहोरा कस्तो होला?'
अपरिचित व्यक्तिको म्यासेज् रेस्पोन्स् गर्ने सुनैनाको तरिकामा खोट विल्कुलै थिएन। आईएनजीओमा काम गर्ने मान्छे पक्कै पनि अलि मेच्योर हुनपर्छ। धेरै कुरा जाने बुझेकी पनि होलिन्। अनेकौं मान्छे त्यो पनि विस्थापित मान्छेसँग काम गरेकी सुनैना जीवन र जगत् बुझेकी होलिन्। मानवीय सम्बन्धका लागि उनी पक्कै पनि असल र हितैषी हुनुपर्छ।
मनभित्रका अनेक प्रश्न र कौतुहलतासँगै सुनैनाको तस्बिर हेर्न आतुर हुन्छन् सुदांशु। अनि कन्ट्याक्ट लिस्टतिर स्क्रोल गरिहाल्छन्। सुनैनाको तस्बिर देखेपछि उनी झनै तानिन्छन्।
लामो कपाल छरिएर दुवै कुहिनासम्म ढाकेको, अधबैंसे। भर्खरै आमा बनेर पुष्टिएकी जस्ती। गोलो अनि मिलेको अनुहार। परिपक्व आकृति। कुनै कुरामा एकदमै फोकस्ड् भएको दृष्टिगोचर। यौवनका अतृप्त छाल छचल्काइरहेकी। मृगनयिनी आँखाले थप मनमोहक। एकटकले हेरिराखौं जस्ती अनि मेच्योर्ड रिलेसनका लागि एकदमै फिट।
'गुड मर्निङ। खुसी लाग्यो तपाईंसँग परिचय हुन पाउँदा। मेरो पुरानो साथीसित सम्पर्क गर्न खोजिरहेको थिएँ तर अर्को नयाँ साथी भेटाउने अवसर मिल्यो मलाई त। कुनै बेला काठमाडौँ आउनुभयो भने सँगै बसेर कफी पिउँला है, भेटौंला पनि। म पनि झापा आउँदा तपाईंकोमा चिया पिउन पसौंला नि।'
आज भने उतिखेरै रिप्लाइ फर्कन्छ।
'हुन्छ, झापा आउँदा पस्नु न त। काठमाडौं त भोलि आउँदैछु म। तर भ्याउँदिन होला हजुरलाई भेट्न। अलि व्यस्त छु यसपालि, त्यसैले।'
विस्तारै भाइबर च्याट घनिभूत हुँदै जान्छ। सायद नौलो अनुभव पनि थियो दुबैलाई। कुनै प्रसङ्ग उठ्यो कि साँगोपाँगो टुङ्गिनुपर्ने। एउटाको धारणाप्रति अर्को पूरै अवगत हुनुपर्ने। परीक्षकले परीक्षार्थी कति काबिल छ भनेर परीक्षा लिएजस्तै।
दीपिकाको अभाव खट्केको थियो सुदांशुलाई। त्यसैले सुनैनाका रसिला संवादमा रमाइरहेका थिए उनी। पटकपटक भेट्ने कुरामा पनि सहमति जनाइराख्थे।
कहिले भेट होला र सँगै चियाका चुस्कीसँगै गफिन पाइएला भन्ने प्रतीक्षा भइरहँदा वैशाख १२ गते भूकम्पको चपेटामा पर्छ नेपाल। परकम्पनका हरेक झड्कामा दुबैमा उत्तिकै सन्त्रास देखिने। कतै केही भयो कि भन्ने भय। एक अर्कालाई तुरुन्तै जानकारी गराउनुपर्ने।
अनि फेरि त्यस्तै संवाद आ–आफ्ना सेल्फी साटासाट गर्दै। पहिलो पटक हेरेको सुनैनाको तस्बिरभन्दा निकै फरक रहिछन् उनी। २४–२५ वर्षकी देखिने। अग्ली, पातली, अनि एकदमै राम्री। प्रसंगवश निस्कने कुराकानीका विषय त केवल बहाना मात्रै। मनैदेखि गफ्फिनुपर्ने। चुम्बकको एउटा ध्रुवले अर्को ध्रुवलाई पछ्याएजस्तै चपक्क टाँसिन मन लाग्ने। न समयको परवाह, न त कुनै बन्धन र सीमा नै।
'हेल्लो सुदांशुजी। कता के गर्दै? आज त त्यति कुरा भएन नि किन हो?'
'हजुर। घरमा न्यूज हेर्दैछु। एकछिन पछि सुत्नुपर्ला। सधैं मिनट–मिनटमा अपडेट हुने तपाईं आज त कता हराउनु भएछ भन्ने सोचिराखेको थिएँ म पनि। मेरो त दैनिकी नै यस्तै छ। राजनीति, साथीहरूका कुरा सुन्यो, उनीहरूलाई सघाउन मन लाग्छ। भ्याएसम्म सघाउँछु पनि, घर फर्कन्छु। तपाईंसँग रमाइलो कुराकानी गर्छु। अनि निदाउँछु। यस्तै हो मेरो।'
'कति गफिन्छौं है हामी। मैले जीवनमा यस्तो खुलेर कसैसँग कुरा गरेकै थिइनँ। हजुरसँग के हुन रहेछ कुन्नी। एक छिन कुरा भएन भने के के कमी भएको महशुस भइहाल्छ। कल्पना गरेरै भए पनि दिन बिताइरहेकी हुन्छु म। घुमेको, गफिएको, चलेको, जिस्किएको यस्तै यस्तै। अस्ति नै रुम्जाटारबाट घन्टौंसम्म फोन गर्नुभयो नि हजुरले, त्यसपछि त मलाई झन छुट्टिनै मन लाग्दैन हजुरसँग।'
सुदांशुको मन चञ्चल हुन्छ।
'त्यही त। आफैंलाई बुझ्न पनि गाह्रो भै रहेछ मलाई पनि। मेरो पनि त्यस्तै बानी छ। अझ नजिकिएर कुरा गर्नेलाई त म छुट्टै नाम पनि राखिदिन मन लाग्छ। तपाईंलाई पनि न्वारन गरिदिन मन लागिरहेको छ।'
'हुन्छ नि। हजुरले राख्ने नाम सुन्न म एकदमै आतुर छु। प्लीज् भन्नुस् न।'
'छुच्ची। छुच्ची भनेर न्वारन गरें है त। अबदेखि तपाईंलाई यही भनेर बोलाउँछु ल।'
'एसेप्टेड्। मलाई मनपर्यो। सरकारले मन जाँचेरै नाम राख्नु हुँदोरहेछ। म पनि आफ्नो नजिकको मान्छेलाई सरकार भनेर बोलाउने गर्छु नि।'
जिस्क्याउने उनको बानी पनि कम्ता उर्जाशील थिएन।
जिस्काउँदै उनले भनिन्, 'हजुरको यो भाइबरको फोटो छ नि, क्या छ के। एकदमै आकर्षक, हेरिराखौं जस्तो लाग्ने।'
'हो र? तपाईं झन् कति राम्री हुनुहुन्छ। कुरा त्यस्तै मीठो गर्ने। यु आर ए कम्प्लिट वुमन।'
'कम्प्लिट? हा हा हा। म त्यत्ति राम्री र पूर्ण छैन।'
'हुनुहुन्छ। आफूमा भएको कुरा आफैंले देखिन्न नि। अस्तिको त्यो हातमा चिया लिएको सेल्फी थियो नि। त्यो हेरेर त म धन्न ढल्या। यु रियल्ली डिजर्भ के।'
'हा हा हा। बेला बेला जोक गर्नुहुन्छ हजुर पनि। फकाउन पनि आउने रहेछ के सरकारलाई।'
सुदांशु आफू झापा आउन लागेको सुनाउन आतुर हुन्छन्।
'अनि म आउने भएँ नि झापातिर। इलाममा अलि काम छ मेरो। त्यता आउँदा भेटौं न है?'
'हुन्छ। कहिले आउनुहुन्छ? अनि कहाँ भेट्ने त?'
'कमिङ सन्डे। वीकएण्ड त सँधै छोरीकै लागि चाहिन्छ मलाई। त्यसैले सन्डे आउँछु होला। विराटनगर हुँदै। इटहरीमा भेटौं न हामी। हुन्न? एउटा होमस्टे जस्तै छ, एकान्तमा। गोर्खा किचनमा खाना खाएर त्यही गएर बसौंला। मलाई त्यहाँ कम्फर्टेबल लाग्छ। त्यसैले भनेको।'
उनको जवाफ आउँछ, 'म पनि घरमा एक्लै छु आजकल। मेरै घरमा आउनु भए पनि हुन्थ्यो। उहाँ पनि हुनुहुन्न। हजुरलाई मेरै घरमा लैजाने इच्छा पनि हो मेरो। तर हजुरलाई इटहरी नै कम्फर्टेबल लाग्छ भने ठीकै छ। आइतबार अन्तिम फ्लाइटमा आउनु न। सोमबार बिदा लिउँला म पनि।'
सुदांशु उनलाई उपहार लगिदिन चाहन्छन्।
'ए साँच्चै, के ल्याइदिउँ तपाईंलाई? केही ल्याउनु छ भने म लिएर आउँला नि।'
'केही पर्दैन। मलाई हजुर भए पुग्छ। हजुरकै प्रतीक्षा हो मेरो पनि। हुन त म श्रीमती हुँ कसैकी। मेरो भाग्य। तर, पनि यति धेरै रोमाञ्चित हुन पाइनँ कहिल्यै। मनैबाट धेरै कुरा भए हामीबीच। जीवनमा खुसी ल्याइदिनु भएको छ हजुरले। माइत जाँदा बहिनीले भन्दै थिई ममा धेरै परिवर्तन आएको छ रे आजकल। अनुहारमा चमक छ रे। लुगा पनि रंगीन लगाउन थालेकी छु रे। मेरो छनोट पनि रंगीन हुन्छन् रे आजकल। हजुरसँग कुरा हुन थालेपछि यस्तो परिवर्तन आएछ ममा। प्रत्यक्ष रूपमा अनुभूति गर्न चाहेको हो मैले हजुरलाई।'
झापाः
भनेकै ठाउँमा भेटिन्छिन् सुनैना। सपिङ गरिसकेर काउन्टरमा पैसा तिर्न जाँदै गरेकी। पुर्लुक्क हेरेर आँखा तल झार्दै अघि बढ्छिन् काउन्टरतिरै।
छोटो भलाकुसारी अनि त्यसपछिको डिनर। बसाइ एकदमै रमाइलो लाग्छ दुबैलाई। कौतुहलपूर्ण हेराहेर अनि अन्तरमन देखिको कुत्कुती। झनै नजिकिन्छन्। अटोरिक्साको छोटो आनन्ददायक यात्रा अनि एकान्त वातावरण। हराउँछन् उनीहरू आफ्नै दुनियाँमा। समर्पणभावसहित। लाग्थ्यो दुबैका शरीर स्वतन्त्र थिए। आफ्नै गतिमा अनि तिनलाई नियन्त्रण गर्ने केही थिएनन् त्यहाँ। एकआपसमा आफ्नै पूर्णता खोजिरहेका थिए दुबै जना।
'सरकार आज त जानुपर्छ है। तीन दिन भइसक्यो घर छोडेको। इलाम जानु आज। बरु फर्कंदा सँगै बसौंला नि मेरै घरमा।'
मुस्कुराउदैं भन्छन् सुदांशु, 'मलाई त छाड्नै मन छैन हउ छुच्चीलाई।'
'हा हा हा। झापाली पारा पो आयो त सरकारको। हउ रे ! अनि छाड्नै मन लागेन है हजुरलाई? उमेर मुख्य कुरा होइन रहेछ नि। हजुर मभन्दा १६ वर्ष जेठो हुनुहुन्छ। म त एकदमै खुसी हजुरसँग। हजुर मेरो श्रीमान् भइदिएको भए मैले कति प्रोफेसनल्ली ग्रो गर्थेँ होला। मसँग पनि रहेछ नि कामोत्तेजना। खोट होला भन्ठान्थे मसँग तर होइन रहेछ। हजुर त अजीव हुनुहुँदो रहेछ। सम्बन्धलाई रमाइलो बनाइराख्न पनि कति जानेको हो हजुरले।'
सुनैना भन्दै गई, 'जजमेन्ट् गर्दै नगर्ने। तिमी यस्ती उस्ती भनेन भने सम्बन्धमा दरार आउँदै आउँदैन नि कहिल्यै पनि। के गर्नु, म वयस्क भएदेखि मेरो श्रीमान यस्तो होस् भनेर जुन कल्पना गर्थेँ, ती सबै गुण छन् हजुरसँग। जोडिइसकेको यो सामाजिक बन्धनलाई सजिलै 'अनडु' गर्न सकिँदो रहेनछ कम्प्युटरमा 'अनडु' गरे जस्तै। हुने भए त म तुरुन्त गर्थें मेरो विवाह अनडु। अनि नयाँ सुरु गर्थेँ हजुरसँग। के गर्ने हुँदो रहेनछ।'
'छाड्नै मन लागेन भन्नु हुन्छ। मेरो त समय पनि छ अहिले,' हाँसेरै भन्छिन्,'हजुरका सबै खजना सकिए क्यारे! मलाई पनि आमा बनाइदिने शुर छ क्या हो सरकारको?'
'यस्तो कुरा उमेरले निर्धारण गर्ने होइन नि छुच्ची। साथमात्रै दिने हो शरीरले। हामी मनैबाट खुल्यौं दुवै जना। शरीरले साथ दिँदासम्म भइराख्छ के यस्तो कुरा,' सुदांशु ठट्टिएरै कुरा गर्छन्, 'सबै कुरा भइसके त हामी बीच। आमा पनि बनाउँला नि कुनै दिन। के नै ठूलो कुरा भयो र! ठिकै छ यस पटकलाई अब जाने आज। फर्कंदा फेरि भेटौंला। भोलि बिहानको कार्यक्रम पनि सेट भइसकेको छ मेरो इलाममा।'
बिर्तामोडको गाडीमा। बाटोमा केही देख्यो कि सबैमा आफ्नै कुरा प्रतिविम्वित गराउँछिन् सुनैना।
भन्दै थिइन् यो ठाउँ यस्तो, यो ठाउँ उस्तो। लाग्थ्यो सुदांशु गएकै थिएनन् त्यता कहिल्यै। उनी सबै कुराको बेलिबिस्तार लगाउँदै थिइन्, पथ प्रदर्शकले बेलिबिस्तार लगाएजस्तै।
बिदाइको क्षण आइपुग्छ। रसिलो आँखाले एकटक हेरिराख्छिन् सुनैना।
छट्पट् छट्पट् गरिरहन्छिन् नागबाट मणि छुट्टिन लागे जस्तै।
नजिकै आएर भन्छिन्,'मलाई नबिर्सिनु है। बिर्सिनु भयो भने म त रिसाउँछु हजुरसँग। फर्कंदा पस्नु नि फेरि म कहाँ। घरमा पनि कोही छैनन् अहिले। अफिसियल्ली फिल्ड जानुभएको छ उहाँ। हजुरलाई आफ्नै ठानेर सँगै बस्न मन छ मेरै घरमा। साँच्चै भनेको मैले।'
लाग्थ्यो सुदांशुको मन लिएर बिदा हुन खोज्दै थिइन् सुनैना। उनको मुहारमा त्यस्तै भाव र भंगिमा झल्किन्थ्यो।
सुनैनालाई परैसम्म हेरिराख्छन् सुदांशु।
सुदांशुको मानसपटलमा एकाएक सुनैनाको चञ्चलता, उमङगता, सन्तुष्टि र अपेक्षाहरु दौडिरहन्छन्। सुनैनासँगको स्वर्गीय आनन्दको सुखानुभूति पनि गर्न पुग्छन्।
-इज्याक्यूलेसन् मात्रै होइन रहेछ इन्टरकोर्स। अर्ग्यानहरुको घर्षण मात्रै पनि रहेनछ इन्टरकोर्स। फिजिकल रिलेसन् मात्रै पनि होइन रहेछ। इन्टरकोर्स त इक्वेल कोर्स रहेछ समग्रमा। पुरुषतत्व र स्त्रीतत्वको सक्रिय सम्मिलनसहितको इक्वेल कोर्स। दुवै मन, मस्तिष्क र शरीरको समग्र इक्वेल कोर्स त स्वर्गीय पो हुँदो रहेछ। स्वर्गीय आनन्द बेगरका कोर्सहरु त सबै बेकार हुने रहेछन्।
सुदांशुको बस इलामतिर उकालो लाग्न थाल्छ। जति–जति माथि जान्छ उति–उति शीतल हुँदै जान्छ। हरियाली चिया बगानमा कामदारहरू चिया टिपिरहेका हुन्छन्। बादलको घुम्टोलाई छचल्कँदै निस्केका किरणले दृष्यलाई झनै मनमोहक बनाइरहेको हुन्छ।
टिरिङ्ग टिरिङ्ग ...टिरिङ्ग टिरिङ्ग।
होस्टलबाट छोरीको फोन रहेछ। छोरीलाई होस्टल छाडेर उतैबाट गएका थिए सुदांशु।
भन्दै थिइन्, 'बाबा कहिले आउनुन्च्? प्लेनको चक्लेट ल्याइदिनु है मलाई। अनि मम्मीलाई पनि ल्याउनु है। इला, उवर्शी अनि निलिमाका मम्मी त सँधै आउचन् तिन्लाई लिन स्कुलमा। दगुरेर जान्चन् तिनोरु मम्मी आउँदा, अनि कस्तरी उचालेर काखा लिन्चन् तिन्का मम्मीले। घुमाउन पनि लैजान्चन् रे बाबा मम्मीहरुले। मलाई पनि दगुरेर मम्मीको काखामा बस्न मन लागेछ बाबा। अनि घुम्न नि मन लागेछ मम्मीसँग। लिएर आउनु है बाबा मम्मीलाई।'
अस्पतालमा प्रकृति जन्मँदाको त्यो क्षण।
डाक्टरहरूको दौडधुप। उच्च रक्तचापकी बिरामी दीपिका।
अनि अधिक रक्तश्रावको समस्या।
शरीर र स्वास्थ्यले साथ दिँदैन भन्दा पनि मानेकी थिइनन् गर्भपतन गराउन। नजन्मँदै कति माया पाएकी थिइन् प्रकृतिले आमाको। जन्मेपछि माया गर्ने उनकी आमा रहिनन्।
दीपिकालाई बचाउनै सकेन कसैले। प्रकृतिले पनि आफ्नी आमालाई कहिल्यै देखिन। बोलाउन पाइन।
दीपिकाले मसिनो स्वरले 'छोरीलाई कहिल्यै दुःखी हुन नपरोस् है' भन्दै बिदा मागेको सम्झिन्छन् सुदांशु।
सुनैनासँगका आत्मीय सम्बन्धहरू फेरि घुम्न थाल्छन् सुदांशुको मनमस्तिष्कमा। सुनैनासँग पनि त होला नि मातृवात्सल्य। उनले पनि माया दिन सक्छिन् नि प्रकृतिलाई। प्रकृतिकै च्याट उत्सुकताले त भेटिएकी हुन् नि सुनैना भाइबरमा।
छोरीलाई यस्तो गर्नु, उस्तो गर्नु, यसरी सम्झाउनु, भनेर कति भनिराख्छिन् कुरा गर्दा। आफ्नै कोखबाट नजन्मे पनि आफ्नै छोरी जस्तै गरेर सोधिराख्छिन् त सँधै।
सामाजिक बन्धन, जिम्मेवारी अनि सातफेरा लगाएका आफ्नै पति हुँदा पनि नजिकिएकै छन् त सुदांशुसँग। मनैबाट खुलेकी छिन् हरेक पल। माया गर्दिहुन् उनले पनि नत्र त त्यस्तो समर्पणभाव आउँदै आउँदैन कसैमा। त्यस्तो खुलस्त हुनै सक्दैन् कोही पनि यदि माया छैन भने। आफ्नै पति जस्तै गरेर अन्मिएकी पनि त छिन् उनी। कैयौं पटक भनेकै छन् त 'मेरो सरकार मेरो श्रीमान्' भनेर।
सम्पर्कमा नरहेको कुनै पल पनि हुँदैन उनीसँग। न रात, न दिन, कुनै समय नै छैन उनीसँग छुट्टिएको।
अनायासै फोन लगाउँछन् सुदांशु र भन्छन्, 'छुच्ची म भोलि नै फर्कन्छु है इलामबाट। तिमी पूरै रेडी भइराख ल। अनि पर्सिको दुइटा टिकट पनि बुक गराऊ है फस्ट फ्लाइटमा। काडमाडौं जाने। सबेरै पुग्नुपर्छ। भर्खरै छोरीले फोन गरेकी थिइन्। भन्दै थिइन् मम्मीलाई लिएर आउनु है बाबा। म अरुलाई लग्नै सक्दिनँ तिमी बाहेक। बी रेडी है छुच्ची।'
'सरकार। के भन्दै हुनुहुन्छ हजुर यस्तो? ज्यादै अप्ठ्यारोमा पारिदिनु भयो त मलाई। मेरो सामाजिक परिवेशलाई तत्कालै लत्त्याइहाल्न त सकिँदैन होला नि। गाह्रो पो भयो त मलाई निर्णय लिन सरकार। म त केही भन्नै पो नसक्ने भएँ।'
'ठीकै छ त्यसो भए। म तिम्लाई अप्ठ्यारो पार्ने काम गर्दै गर्दिनँ नि छुच्ची। छोरीले मम्मी खोजिन्। म त के गरौं के गरौं भएँ। तिमी मात्रै त छौ मैले भन्न सक्ने सबै कुरा।'
सुनैना भन्छिन्, 'ठिकै छ त्यसो भए। हजुर पनि सँधै छोरीसँगै बसिराख्ने त होइन नि। वीकएण्ड न हो छोरीलाई चाहिने। अहिले सानी छन्। मम्मीको अत्यास भएको हो प्रकृतिलाई। ठूली भएपछि आफैं बुझ्नेछिन्। म आजै कुरा गरौंला मेरो हेड अफिसमा। काठमाडौं सिफ्ट हुँला विस्तारै म पनि सबै मिलाइवरी। छोरीलाई सँगै लिन जाउँला हरेक वीकएण्डमा। सँगै छुट्टि मनाउँला। ठूलो सहरमा लाखौं मान्छेको भिडमा कस्ले कसलाई खोज्ने हुन् र त्यहाँ। एकै परिवार जस्तै बसौंला नि तीनै जना।'
सुदांशु एकछिन अलमल पर्छन्।
'अनि मिल्छ त त्यस्तो परिवेश तिम्लाई? एक कान दुई कान मैदान भै हाल्छ नि। म त रेडी नै हो सबै कुरामा। तिमी आफैं डिसाइड गर। के ठीक के बेठीक भन्ने।'
'मिल्छ सरकार। जमाना धेरै परिवर्तन भैसक्यो। सरोगेसीको यत्रो चर्चा छ, सुन्नु भएको छैन हजुरले? एक्स्ट्रा मेरिटल एफ्यर्स नर्मल भइसक्यो आजकल। लिभिङ टुगेदर पनि। अथाहा प्रेम र विश्वासले नै त हो नि जीवन खुशी र रंगीन बन्ने। हामी खुलस्त छौं, मन पराउछौं एकअर्कालाई। यस्तै रमाइलो सम्बन्ध रहिरहोस् भन्ने न हो हामी दुबैको।'
सुनैना भन्दै गइन्, 'आमा बन्ने रहर मलाई छ नि। प्रकृति हजुरको मात्रै छोरी होइनन् के सरकार। मेरी पनि हुन्। म पनि माया गर्छु उनलाई। मेरो परिवेश चिन्ता नगर्नू हजुरले। आफ्नो कुरा गर्नु।'
सुदांशुले खुसी भरिएको आवाजमा भन्छन्, 'ओके डन्। तर सिफ्ट चाँहि छिट्टै है त काठमाडौं।'
'हस सरकार। इमिडियट्ली। बाई।'