सारा यौवन चुर्लम्म तिलाञ्जली दिएर
सीतनिन्द्रामा लिप्त छेपारो झैँ
पृथ्वीको परिक्रमा समेत थाहा नपाई
शरीरका प्रत्येक अङ्ग ढल्ने गरि
आधा जीवन चोक्खै चढाउने हामी
अनि आधा घन्टे बकम्फुसे बैठक गरि
मैले सास फेर्दा पनि मलाई कानुन लाउने तिमी
सरकार, म हरेक दिन जेल जान सक्दिनँ
बरू म हात बाँधेर बस्छु।
संसद थर्किने गरि अर्बौ पारित हुँदा
कैयन चियादानीले चिया झानेझै
तह तहमा फिल्टर थाप्ने तिमी
बाउको पालामा पास भाको एक्सरे
नातीको पालामा पुर्याउने तिमी
अनि अस्पतालका रित्ता रित्ता कोठामा
ती मलिन हेराई खप्न नसकी
अनेकन ‘जुगाड’ गर्ने म
अनि मेरो जुगाडमाथि औंला ठड्याउँदै
मलाई जेल हुल्ने षड्यन्त्र रच्ने तिमी
सरकार, म अझै जुगाड गर्न सक्दिनँ
बरू म हात बाँधेर बस्छु।
हे आम नेपाली हो
दुनियाँले मंगल ग्रहमा पानी भेट्दा
एलियनको अस्तित्व पत्ता लाइसक्दा
ती एलियनलाईनै चकित पार्ने
१४०० सि सी को भुसे दिमाग बोकेर
मुटु गलेर प्याक प्याक नभएसम्म
फोक्सो गलेर लखतरान नभएसम्म
मृगौला गलेर शिथिल नभएसम्म
रोगलाई हेलियमको बेलुनझै फुक्ने तिमी
अनि तिम्रै उपज त्यै जटिलता निर्मुल पार्न
हामीले नि जटिल कदम उठाउँदा
फौजदारी दफा लगाई
हत्याराको मुद्दा चलाउने तिमी
सरकार, बरू म नालापानी लढ्थेँ
तर यो युद्व लड्न सक्दिनँ
बरू म हात बाँधेर बस्छु।
हे बाबा! मैले गल्ती गरौला
म कुनै बाइनरी कोडेड कम्प्युटर त होइन नि
तर यहाँ त,बिना कुनै मापदण्ड ,बिना कुनै दस्तावेज शरीरमा फोक्सोको संख्याबाट अनभिज्ञ ती म्याट्रीकमा ह्याट्रीक गर्ने मगजले
सस्तै, लापरबाहीको पगरी गुथिदिन्छन्
बेकाम ,गल्तीको ट्याग लाइदिन्छन्
सरकार, फलामले फलाम काट्छ
म रबरले रेटिन सक्दिनँ
बरू म हात बाँधेर बस्छु।
हे भगवान
एक नाबालिका बलत्कार हुँदा
एक निर्दोषको खुल्ला इन्काउन्टर हुँदा
३३ केजी सुन तस्करी हुँदा
मुखमा फेबिकल टाल्ने तिमी
अनि निभ्न आँटेको दियोमा
केही थोपा तेल थप्न खोज्दा
अप्रत्याशित हुरी चलिदिदा
मलाई ५-५ वर्ष जेल कोच्ने तिमी
सरकार तिमीसँग प्रसस्त जेल त छैन
त्यसैले नि म त हात बाँधेर नै बस्छु।