कसले अँठ्यायो
बुद्धको छातिमा बसेर
त्यो किशोरी लालीगुराँसको घाँटी
जुन गुँरास
दिनभरि सगरमाथाको गीत गाएर
फर्किरहेको थियो पाठशालाबाट।
कसले चुँडाल्यो त्यो चौबन्दीको तुना
जुन चौबन्दी
साग बेच्ने केटीले लगाईरहेकी थिई।
कसले छिनाल्यो डन्डीबियो खेलिरहेको किशोरको शीर
जसमाथि मुस्कुराइरहेको थियो
गोरखाली ढाका टोपी।
कसले बोकायो
यी बुढा भरियाको पिठ्यूमा
गरिबीको यत्रो पहाड।
को हो त्यो स्वाभिमानी
जसले हिमालको शीर उठ्नै दिएन।
को हो त्यो यतिबिघ्न द्रूतगामी
जसले नदीको पानी बग्नै दिएन।
गाईको रगत चुसेर ढाडिएको जुकाजस्तो
उ त्यो पर उभिएको मान्छे
के साँच्ची त्यही मान्छे हो त किसान र मजदुरको नेता?
कस कसले देश बेचेर सुनको जुत्ता लगाएका छन्?
कस कसको हातमा छ कालो धन?
कस कसको हातमा छ आलो रगत?
के तिमीले देखेका छौ?
झण्डाको माथि उभिइरहेको जुनलाई सोधेँ
देख्या छैन भन्यो।
झन्डाको तल उभिईरहेको घामलाई सोधेँ
देख्या छैन भन्यो।
आँखामा पट्टी बाँधेर
न्यायलयमा उभिइरहेको प्रतिमालाई सोधेँ
अहँ देख्या छैन भन्यो ।
फेरि सोधेँ
त्यसो भए तिम्रो तराजुले आलु जोख्छ कि चामल?
न्याय जोख्छ कि पैसा ?
अँह कुनै जवाफ दिएन !
बस् म निरुत्तर फर्केँ
बस् म निरुपाय फर्केँ।
, स्याङ्जा
हाल - अमेरिका