युगौयुग चोटिएको अचानोलाई सोध
निरन्तर काटिनुको पीडा ।
पानीसंगै बगेर छुटेका
किनाराका ढुङ्गालाई सोध
बग्नु अनि छुट्नुको पीडा ।
पहाडलाई अंगालो हालेका
हिउँका ढिक्काहरुलाई सोध
सूर्यको स्र्पशमा पग्लिनुको पीडा ।
पातमा चाँदीसरी टल्केका
शीतका कणहरुलाई सोध
हावाको वेगमा अस्तित्व गुम्नुको पीडा ।
आकाशभरि बलेका
टिलपिल टिलपिल तारालाई सोध
चन्द्रको अगाडि चम्कीनुको पीडा ।
भरखर पृथ्वीमा श्वास फेरेको
नवजात शिशुलाई सोध
आमाको न्यानो गर्भबाट बिछोडिनुको पीडा ।
आमालाई सोध
सन्तान बाँडिनुको पीडा
ह्द्धय फुट्नुको पीडा ।