पोखरा, भदौ २४
बा ,
चलाउनुहुन्न फेसबुक
जान्नुहुन्न इमेल
मनको तार जान्नुहुन्छ
संसार जान्नुहुन्छ!
चलाउनुहुन्छ माटो
जान्नुहुन्छ पसिना
जीवन पढाउन जान्नुहुन्छ
बाबासँगै त सिकेको हुँ उभिन
कखरा र बाह्रखरी
पढ्न र लेख्न सिकेको नि बासँगै हो
बोल्न, खेल्न र हिँड्न सिकेको पनि बासँगै हो
अँधेरो र उज्यालो बीचको फरक
चुनौती र जिन्दगानी
प्रेम, स्नेह र डर सबका गुरू हुन् मेरा बा
निस्ठुर समयले यस्तो पाठ पढाइरहेछ आजभोलि कि
आफ्ना लागि त
गाउँ भने नि बा
घर भने नि बा
बा भने नि बा !
**
बा–
कहिल्यै ठूलो हुनुभएन
अग्लो पनि हुनुभएन
ऊ बेला गाउँ–बस्ती छाडेर
कहीँ कतै झर्नुभएन
गाउँमै स्कुल
गाउँमै हेल्थपोस्ट
गाउँमै बिजुली
कुवा, धारा, पोखरी
मठ–मन्दिर, चौतारी
र, गाउँमै मोटर बाटो
बस्, यी नै स्वप्न त हुन् नि मेरा बा
**
डाँडाको लहरे बर
खलेगरामा जमेको ढुङ्गा
झोलुङ्गे पुलको लत्रिएको लठ्ठा
मझेरीको लालीगुराँस
देउरालीको छपनी
जे भने नि हुन्छ बालाई
**
बा हिँडेको बाटो
राजमार्ग लाग्छ मलाई
बा उभिएको ठाउँ
सगरमाथा लाग्छ मलाई