बलात्कार! बलात्कार!
आज मेरो सिंगो देशमा
एउटा आतंक छाएको छ
शिक्षा र चेतनाको अभावमा
दण्डहिनता मौलाएको छ
विवेक हराएको छ यहाँ
सात वर्षकी बालिका पनि
सामुहिक सिकार हुन्छे
यौन पिपासु हजुरबाबाट
नातिनी बलात्कृत हुन्छे
संरक्षण गर्नुपर्ने बावुबाट यहाँ
छोरी गर्ववती भएकी छे
शिक्षा दिने आफ्नै गुरुबाट
छात्रा बलात्कृत भएकी छे
मेरो देश र समाज अझै
पुरातनपन्थी सोचवाट ग्रस्त छ
अन्धविश्वासले जरा गाढेको छ
कुसंस्कारले प्रश्रय पाएको छ
इज्जतको नाममा यहाँ
पीडा लुकाइएको छ
समाजको नाममा यहाँ
अपराधी छिपाइएको छ
न्याय माग्न जाँदा यहाँ
अस्मिता लुटिएको छ
जहाँ कानून र न्याय
बिक्री गरिन्छ पैसामा
त्यहाँ अपराध घट्छ कसरी
जहाँ न्यायका लागि
अनसन बस्छन् बाबुआमा
त्यहाँ छोरीको कुमारीत्व
जोगिन्छ कसरी?
न्याय अड्डा र अदालतमा होइन
सडकमा माग्नुपर्ने भएछ
छोरी र नातिनि मात्र होइन
मेरो देश नै बलात्कृत भएछ!