हिमालले हिउँको पछ्यौरी फिँजाउनुअघि शीतले धर्ती भिजेकै थियो। हिँउद र बर्खा नभन्ने हिमाली जाडोका धर्साहरु बाहिरबाट चिसो स्पर्श बोकेर बिछ्यौनामा आइपुग्यो। ब्युँझिनुपछिको छोटो समयले तान्दा म के सोचिरहेको थिएँ। एकाएक निद्रा देवीले छोडिन्, निद्राबाट तल गाउ“मा बाजा बेस्सरी बजिरहेका थिए। मन झसंग भयो। यति राति नै किन बाजा बज्न थाले। मैले राजनलाई घचघच्याउँदै भनेँ, “उठ त राजन, तल गाउ“मा बाजा बजाइरहेका छन्।” किन हो भन्दै ऊ जुरूक्क उठ्यो। आँखा मिच्दै बाहिर निस्क्यो। भित्र पस्दै भन्यो, “बिफेरा बाजा लगाएका छन्। कोही बिरामी थिएर गाउ“मा ? ” त्यति सुन्नेबित्तिकै मनमा चिसो पस्यो। एकाएक रुखबाट खसे जस्तै भएँ। बोल्ने शब्दहरु बन्द भए। केही कुराको मेसो नपाउने भएँ। राजन मतिर हेरर भन्दै थियो, “को थियो र बिरामी ?” मैले भनेँ, “दलित बाडा वीरजित बिरामी थिए। अस्ति बल्लबल्ल
सन्चो भएका थिए। उनै हुन् कि क्या हो ? ” यति कुरा गर्दा भित्रबाट ससुरा काँसेको सुनियो। म हत्तनपत्त ससुरालाई हेर्न पुगेँ। ज्वरो नापेँ। उहाँलाई सन्चो भइसकेको रहेछ। कमजोरीले गर्दा धपेडी मात्र बाँकी रहेछ। मन शान्त भयो। मैले सासूआमालाई भनेँ, “तल गाउँमा बाजा बजाइरहेका छन्। वीरजित बिरामी थिए। कइले मरिगया कि त ? ” सासूआमाले भन्नुभयो, “म¥या त बर्बाद हुन्छ।” उनी जस्ता लावर पाउन मुस्किल हुन्छ। उनको सीप भएको लावर अरुमा अब आउँदैन पनि होला ? राजन पनि तल आयो।
साँच्चि वीरजित नै रहेछन्। उनैकै आँगनमा बाजा बजिरहेको छ। खिन्नता प्रकट गर्दै लामो सास तान्यो राजनले। ससुरा पनि उठ्नुभयो र भन्नुभयो, “साँच्चि वीरजित बिते होलान् त। कठै मेरो छाउले हो धामी। मेरो छाउलेमध्ये ऊ पनि अब गयो। ऊ वीरजित भएर बूढो जस्तै देखिन्थ्यो। तर उमेर त काट्या छैन।” मैले कुरा थपेँ— साँच्चि म त्यहीँ बस्दा उहाँसँग धेरै गफगाफ भयो। अस्ति नै बिरामी हुँदा मैले उपचार गरेको थिएँ। उहाँलाई धेरै रोग थियो दम, बाथ, ग्यास्टिकले पूरै खाइसकेको थियो। बिचरा बिहान कैहिल्यै खाना खान फुर्सद पाउनुहुन्नथ्यो र। फलाम चुट्नुपर्ने। तागत छैन। त्यही भएर छिटो काल गति भयो। हाम्रा धामीको पनि त्यस्तै हालत छ। धमेला बस्नुपर्ने देउता हेराउँदा हेराउँदै बाह्र, एक बजिसक्थ्छ रे। त्यही भोको पेटमा। दुई तीन चिउला र झोलसँग खाएर भोक मेटाउँथे। एक खसी काट्छन् सबैलाई बाँड्छन अनि कत्ति पो मासु हुन्छ र। एक बाटुली मास्याडले चित्त बुझाउने हुन्। कुन दिन यसरी ढल्ने हुन्।
एक दिन मलाई बोलाउनुभयो। म उहाँकोमा गएँ। उहाँले भन्नुभयो, “छोरी तिम्रो ससुरा र म त छाउल्या हुँ। कस्तो छ हँ। जसबहादुर अहिले कत्तिको सुल्पा खान्छ। दमले छोएको छ कि नाइँ ? ऊ सुल्पा धेरै खाने मान्छे हो।” मैले भनेँ, “अहिले त ठिकै छ। त्यति त अहिले खानुहुन्न। यस्तै कुराकानी भए। क्षणभरमै उहाँले मलाई दुइटा चिउला र एउटा मास्याड दिनुभयो र भन्नुभयो, “खाऊ छोरी आज घरमा कोही छैनन्। घरमा भए झोल झारी खाँदी हौ त अब त्यसै खाऊ।” मैले मास्याडतिर हेरेर भनेँ— बुबा यो त मासुको डल्लो रहेछ आधा किलो जति। अरु हड्डीको पनि मास्याड बनाउँछन्। ”हो छोरी शिरदेखि पाउसम्म मास्याड बनाउँछन्। सबैभन्दा जेठोलाई आँखा हुँदै कान्छोलाई खुरेउटो दिन्छन्। सुल्पा सम्मान हड्डीको मान गर्छन्। यो पुर्खादेखि चलेको चलन। सम्मान हो।
जेठो कान्छोको रोलक्रम।” मैले जिस्किँदै भनेँ— कान्छालाई त साहै्र घाटा पो हँुदो रैछ त बिचरा खुरेउटो। उहाँले भन्नुभयो— खुरेउटो खाने एक दिन आँखा खाइहाल्छ नि। यसैमा चित्त बुझाउने हो। मैले मनमनै सम्झेँ, यो विचित्र संस्कारमा जता डुब्यो उतै महासागर छ। त्यतिबेला मैले भनेकी थिएँ— बुबा अलि चिल्लो पिरो कम खानु होला नुहाउँदा तातो पानीले नुहाउनुहोला। समयमा खाना खानुहोला। जीवन फेरि पाइएला नपाइएला सास हुँदासम्म राम्रोसँग बाँच्नुपर्छ। अस्ति म त्यहीँ हुँदा निकै नैबिरामी हुनुहुन्थ्यो। मैले औषधि दिएपछि केही दिनमै अलि तङ्ग्रिनुभो। निको भइसक्नुभाथ्यो। तर, उहाँलाई ठूलो रोग भरिएको थियो। हामीले यति कुरा सक्दा निकै उज्यालो भइसकेछ। म र सासूआमा बाहिर आएर हेरेको, साँच्चि रहेछ। उहाँकै घरभरि मान्छेहरु टनाटन छन्। साँच्चि वीरजित नै बितेका रहेछन् भन्ने यकिन भयो।
हामी भित्र पस्यौं। राजन र ससुरालाई भन्यौं— साँच्चि वीरजित बिते जस्तै छ। उनकै आँगनमा छ भीडभाड ? मान्छेको आवतजावत छ। उहाँले पनि यकिन गर्नुभयो र चिन्ताको सुस्केरा हालेर बोल्नुभो— साँच्चि बितेछन्। ससुरा, राजन र मैले जाने तयारी ग¥यौं। बाकसबाट गजिनो एक थान, रातो–पहेंलो कपडा र एक लालजति सुन लिएर गयौं। हामी पुग्यौं आँगनमा। रूने मान्छेहरु टनाटन थिए। अन्तिम पल्ट उहाँको पाउ ढोग्न सबै आतुर देखिन्थे। ससुराले मलाई र राजनलाई भन्नुभयो, “लास नछुनू है बुहारी तिमी दुई जीउकी छौ। यो बेला लास छुन हुन्न।” मैले टाउको हल्लाएँ। तर, मनले मानैकै थिएन। गाउ“मा बस्दा कति माया गर्नुहुन्थ्यो। कति भड्किएको मनलाई शीतलता प्रदान गर्नुहुन्थ्यो। उहाँको अर्ती– उपदेश मेरा मानसपटलमा फनफन्ती घुमिरहेको छ। अस्ति मात्र म घर जाने बेला भन्नुभएको थियो, “छोरी म बिरामी छु। तिमीले अस्ति बचायौ। तिमी गएपछि मलाई बाँच्ने आसै टुट्यो। अब बाँच्न सक्दिनँ होला। तिमीले गाउँमा धेरै काम गरेकी छौ। राम्रो गर। गाउँमा राम्रो कामको अगुवाइ गरेर बस्नू। गाउँ समाज भट्काउनेको अगुवाइ नबन्नू।”
त्यही कुरा आज अन्तिम अर्ती, उपदेश ठानेँ। सम्झनाको एक पाटो सजाइरहे मनको कुनाकाप्चामा। सासुराले भनेको कुरा एक छिन के गरुँ के गरुँ भयो। म त्यसै बसिरहेकी थिएँ। बाटोमा एक जना आइमाई लडीबडी गरेर रोइरहेकी थिइन्। म गएँ सोधी बेदी गरेँ। उनी धामीकी जेठी छोरी पो रहिछन्। उहाँ किन यता नआएको भनी सोधेँ, एउटीले भनी— कस्तो भाग्य हो। बुबा बितेको खबर पाउँदा दौडेर आउँदाआउँदै, दैवको लीला ऊ त छुई पो भइछ बिचरी।
बिचरीका आजसम्म छोरा पनि भएका छैनन्। बुबासँग अन्तिम भेट हुन पाइन नै कम्तीमा लाससम्म पनि छुन पाइन। देखभेट कता हो कता लाससम्म छुन नमिल्ने भयो। अन्तिम अनुहार हेरर बिदाइ गर्न भित्रभित्र कति मन जलेको होला। रिस र फुर्काई अनुहार हेरेको छोरीले आज शान्त निद्रामा परे झंै गरेको बुबाको अनुहार हेर्न पाएका छैनन्। अन्तिम पल्ट बुबाको अनुहार हेर्न नपाउँदा जिन्दगीभरि भारी पछुतो हुने होला। सानातिना कुराले मुटुमा घोचिरहनेछ। अब माइत आउँदा के आसमा आउनु। भाइबुहारीको त्यति भर लाग्दैन। के–के सम्झेर रूँदै लडीबुडी गर्न थालेकी थिइन्। सम्झाउने मान्छे पनि थिएनन्। म गएँ। उहाँलाई फकाइफुल्याइ गरेँ। सानो बच्चा भए पो फकिनु के सुन्थिन् र उल्टै झन् जोडले डाको छोडी विलौना गर्न थालिन्। अलि रून कम गरेपछि नुहाउन जानू भनेँ।
उहालेँ मतिर हेर्नुभयो र भन्नुभयो, “किन अहिल्यै। लास लिएपछि नुहाउने होलान् नि। उहाँ फेरि रून थाल्नुभयो मेरो कर्मले हा¥यो। म कसरी जाऊँ त्यहाँ ?” मैले फेरि भनेँ, “आपत्मा चोखिनुपर्छ। तरूनी भएको भए दुई तीन दिन बार्ने हो तर तपाईं सूतक बसेकी पाकी आइमाई चोखिँदा हुन्छ। नुहाएर आउनुस् चोखिहाल्नुहुन्छ।” कपडा लिएर आएँ। उहाँले मान्नुभएको थिएन तर बल गरेर नुहाएर ल्याएँ। आफैं खुसुक्क मलाई भन्नुभयो, “बहिनी मेरो छोरो भएकै छैन। लासलाई छोए सन्तान पिर्छ रे। जे भए पनि काँचो छुई नै हुँ। अन्तिम पल्ट बुबाको अनुहार हेर्न नपाए पनि उनका लागि धेलीदान गर्न मैले पाएँ, त्यसैमा खुसी छु। कर्म यस्तै छ।” अरु यताउतिकाले पनि मलाई आँखा तानीतानी हेरिरहेका थिए। मैले सोचेँ— अब धेरै कर गर्नु छैन। उहाँलाई छोडेर म भित्र पसेँ। धमेनीलाई कपडा फेर्न लगाउनुको
साटो लगाएको त्यही कपडा उल्टा बनाएर लगाउन थाले। चोली उल्टै गामन उल्टै। कपालमा पूरै खरानी चुब्डेकी। कस्तो संस्कार हो यो। मृत्युपछि परिवारले सोतो ओढेर किरिया गरेको थाहा छ तर कपडा उल्टा गरेर लगाएको थाहा छैन। म हत्त न पत्त मुमा भएको ठाउँमा गएँ। सेतो धोती चोली र पछ्यौरा लिएर आएको छु लगाउनु भनेको त। अरु सबैले मलाई गाली गरे। आज सुल्टो कपडा कहाँ लाउँछन् त उल्टै लगाउनुपर्छ। चितामा जलाएर आएपछि पो त लगाउलिन्। मैले वादविवाद गर्नु थिएन। त्यो भीडमा म एक्ली थिएँ। मैले भनेको मान्नेवाला नि त थिएनन्। चुपचाप बसेँ। मनमनै सोधेँ— कपडा उल्टा किन। आफै उत्तर दिएँ। उनको आजका दिनबाट सबै उल्टै दिन चल्लन छ। सुखबाट दुःख। विवाहितबाट विधवा।
अब प्रत्येक रात एक्लो ओछ्यान, एक्लो मुस्कान, एक्लोसल्ला झैं सुसाइरहनेछन्, एक्लैएक्लै खुल्दुलीमा हुनेछन्। फेरिअर्को पाटो सम्झेँ। गरिबसँग त्यति बेला सेतो कपडा थिएन होला। लगाएको कपडाभित्रपट्टि भित्री सेतो कपडा हुन्छ। त्यही सेतोले काम चलाएका होलान्। त्यही नै पछि संस्कारको रुपमा रह्यो होला। अलिअलि सेतो कपडा हुनेहरुले त उल्टो नलगाउनुपर्ने ? लास लिन तयार भएँ। अन्तिम रूवाइ रूँदै थियो। म रूँदैरूँदै लास छेउ पुगेँ। उहाँको पाउ छुन मन लाग्यो। भेटी उहाँको छातीमा राख्न मन थियो। के गरुँ के गरुँ भयो। ससुराले नछुनु भन्नुभएको छ। मनमा अनेकौं प्रश्नबीच मैले छातीमा भेटी राखेर खुट्टा छुँदै अन्तिम बिदाइमा सरिक भएँ। पर बाटोसम्म पुगें। धामी र ससुरा पनि आधा बाटोमा पुग्नुभयो। लास अघि लैजान जम्मा चार पाँच जना भए। कसले लास बोक्ने कस्नेबाट समात्ने। गाह्रो भयो। ठकुरी बाहुन र क्षत्रीले समात्न नहुने कस्तो चलन हो।
तर, ससुरा र धामीले बोले तन्नेरी हो जाऊ, लास पु¥याइदेऊ चियाउनसम्म केटाहरु अनकनाइरहेका थिए। धामीले थपे। हेर अब माथि बस्ने तल बस्नेछ। कोट बस्ने गोठाले हुनेछ। गोठालो कोट बस्नेछ। मान्छे भिडाको रुखमा चढे लोटी मर्नेछ। पछि थाहा पाउला। मैले भन्थ्यो भन्नू। यी कुरा सुनेपछि केटाहरु लास समाई लागे पछिपछि। दिनभरि मन एक ठाउँमा रहेन। कहिले कता कहिले कता। मन झन्झन् उकुसमुकुस हुन थाल्यो। बल्लतल्ल राजन आयो। मलाम गएकालाई कहिल्यै बाँच्छु भन्ने भान हुँदैन। जन्ती गएको मान्छे मरुँला भन्ने भान हुन्न भन्थे हो रहेछ कि क्यारे।
उसमा जोस जाँगर थिएन। एक मात्र शब्द हामी पनि एक दिन जानुपर्छ। आज हो कि भोलि यस्तै हो यो चोला भन्यो। सासूआमाले खान मुखमुखमा राखिदिनुभयो। खाना खान पटक्कै मन छैन। उदासीले मन छटपटाएको छ। खाना खाए जस्तै गरेर कोठामा सुत्न गएँ। राजन पनि आयो। राजनलाई अँगालो हाली भनेँ— राजन कुनै दिन मर्नु पर्दैन भनी विभिन्न कुराहरु ग¥यौ। कतिसँग झगडा। कसैसँग आत्मीयता पनि बाँडियो होला तर मरेपछि सिद्धियो, आज वीरजितले के लिएर गए। राजनले केही कुरा भन्न नपाउँदै मैले बीचैमा भनेँ— लास गह्रुङ्गो थियो ? केटाहरु त छिट्टै नै पालो फेरिरहेका थिए। हो गाह्रौं रहेछन्। पछि त बोक्ने मान्छे नभएर हैरान। सबै थाकेछन्, पछि मैले पनि बोकेँ— राजनले भन्यो। बुवा नबोक्नू भन्नुहुथ्यो त— मैले बिस्तारै भनेँ। राजनले भन्यो— आखिर बोकेर के हुन्छ त ?
मैले भनेँ— केही कुरा होला नि त ? बुबालाई नभन्नू फेरि फसाद होला। मैले पनि दान गरेँ, खुट्टा छोएँ, अन्तिम बिदाइ गरेँ। जे जस्तो होला। आमाले लगाएको लुगाको कुरा सबै भनेँ। राजनले भन्यो, “संस्कारको चाल पाउन मुस्किल छ। सबै उस्तै छन्। कहाँबाट सुरू गर्नु, कताबाट पूर्ण गर्नु। यो माटोमा