सयपत्री काकी भन्छिन्!
पाखाभरी फुलेर पनि फुले जस्तो छैन म
आँखाभरी फुलेर पनि फुले जस्तो छैन म!
भो मखमलि फुल्ने रहर नगर्नू यस्पाली
यी बेलि चमेली जाई र जुईहरूले
नफुल्ने निधो गरि सके!
हिजो मात्र गोदावरी भाउजुकोमा पुगेकि हूँ
भन्दै हुनुहुन्थ्यो -फूल फुल्न त
मन पनि चंगाझैं हलुंगो हुनुपर्यो नि
ढुंगा जस्तो गह्रौं मन लिएर फुल्नुको के अर्थ !
गुराँस टाढै बस्छ ! अवाक बन्छ लालुपाते
माया साँट्दैन गुलाफ !
यस्तो लाग्छ फूलहरू मौन हड्तालमा छन् !
शारदिय मौसम छ
चारैतिर आउँदै गरेको दिपावलीको रमझम छ
दिदीबहिनिहरू दाजुभाइ डाक्दा हुन्
दाजुभाइहरू दिदिबहिनीको ईज्जत राख्दा हुन्
कागले काक गर्दो हो
कुकुरले दैलोमा सुरक्षा भर्दो हो
धनधान्य कि देबि लक्ष्मी अनि गाईको पुजा
र त्यस्तै गोरू गोबर्धनको पुजा हुँदो हो गोठहरूमा
देउशे र भैलो भट्याउँदा हुन् केटाकेटी
फेरि पनि मुस्कान छैनन् यी ओठहरूमा
कारण एउटै फूलहरू मौन हडतालमा छन् !
हो फूलहरू मौन हडतालमा छन् यतिबेला
बालगोपालेश्वोर मन्दिर खुल्ने छैन यस्पाली
अन्जली दिदिहरू हुनेछैनन् आँगनिमा
खेल्नेछैनन् माछाका भुरा अनि राजहाँसहरू
राजधानी आफैलाई ब्यंग्य गरि रहेछ !
उनिहरू रानीपोखरीको आँसु पुछ्न भनी रहेछन् !
धरहरा अग्लिने मन गर्दैन
या त कोमल भै पग्लिने मन गर्दैन
घण्टाघर दिनरात अनिंदो बसेको छ
सयौं निर्मलाहरू बेखबर छन्
आमाहरू रोई रहेछन् आँखामा आँसु बर्बर छन्
यिनै परिदृस्यले फूलहरूको मन डसेकोछ !
यस्तो नमिठो परिस्थितिमा
कुन दाजुको शिरको टोपी
अनि कुन भाईको गलामा माला बनेर सजिनु छ र...
उनिहरूको मुटु काँडा भन्दा कठोर बनेको छ
यतिबेला फूलहरू मौन हडतालमा छन् ।