कवि सुरेश हाचेकालीको आगमन
नेपाली कविता यात्राको शृङ्खलामा बेग्लै पहिचान, कविता शिल्प र भविष्य लिएर उदाएका कवि सुरेश हाचेकाली सशक्त सिर्जनशील ध्रुव बनिरहेका छन्।
कविता मानव जीवनको अन्तर्यमा लुकेको गीत, सङ्गीत र अतृप्त धुनहरूको प्रतीक हो भन्ने प्रमाणका साथ सांस्कृतिक मिथक, मौलिकता र ग्राम्य सौन्दर्यलाई प्रस्तुत गर्नु उनको अलग शिल्पको मार्ग बनेको छ।
गाउँदेखि सहरसम्म र स्वदेशदेखि विदेशसम्म फैलिएका नेपाली मनहरूलाई समेट्ने प्राच्य विम्ब र आधुनिक दृष्टिचेतका साथै मानव प्रगतिको ध्वनिलाई कवितामा पस्कनु कवि हाचेकालीको कविता सौन्दर्यका छटा हुन् । उनको निरन्तरता, प्रतीक, विम्ब र अलङ्कारलाई संयोजन गर्ने क्षमता, सरल भाषामा देशलाई चित्रण गर्ने सामर्थ्य अनि मानवतावादी मनलाई कवितामा खन्याउने लेखनी लोकप्रिय कविको प्रकाशको रूपमा उभिएको छ। गद्यकारितामा सुन्दर अलङ्कार प्रतिस्थापन गर्नु र मानिसलाई बुझ्न सक्ने शब्द चयन गरी बस्तीका जीवन आञ्चलिकतामा र समग्रमा प्रगतिको दृष्टिलाई विचारमा अभिव्यक्त गरी कवि सुरेश हाचेकाली नेपाली कविता जगतमा प्रकाशवान भइरहेका छन्– स्वागतम् चेतनाको संवाहक स्रष्टा व्यक्तित्वलाई !
कवि हाचेकाली र पृथ्वी सवाई कविता सङ्ग्रह
पानी, माटो, बादललाई सलाम छ
आकाशलाई नमस्ते
वनवृक्षलाई सोध्या’छ भन्दिनू (३७) ।
पृथ्वी सवाई कवि हाचेकालीको कवित्व क्षमताको प्रमाण र चाँदीको घेरा बनेर प्रकाशित भएको छ। यसले नेपाली कवितालाई र कवि स्वयंलाई ठूलो गुन लगाउने विशेषता बोकेको छ । नेपाली सौन्दर्य र नेपाली विसङ्गति कविका दृष्टिमा ललित स्वरूपमा व्यक्त भएको छ । कवि के चाहन्छन् ? मानव जीवनको शान्ति, कवि के देख्दैछन् ? मानव जीवनमा भद्रगोल । हो, यही द्वन्द्वको चापमा उत्पन्न विचारलाई कवितामा समेट्ने कार्य पृथ्वी सवाईमा सम्पन्न भएको छ । कवि हाचेकाली विम्ब, प्रतीक र मिथकलाई उपयुक्त सन्दर्भमा चयन गर्ने कलामा पारखी छन् । त्यसकारण उनका कविता ललित छन् र विचारले पनि शक्तिशाली बनेका छन् । रूप र सारलाई संयोजन गर्न सक्ने कविको शैली पृथ्वी सवाई सङ्ग्रहमा बढी मुखरित भएको छ । यस कृतिमा उनी अघिल्ला कविता कृतिका तुलनामा र नेपाली कविता जगत्मा नवीनता, मोहकता, भावुकता र मानवताको तहलाई अधिकतम रूपमा पस्कने जमर्कोका साथ प्रस्तुत भएका छन् । कवि हाचेकाली स्थानीयपनलाई उतार्न सिपालु एवं गम्भीर आञ्चलिकताबोध भएका प्रतिभा हुन् । उनको ‘निरक्षर सरस्वतीको कथा’ शीर्षक कविताको एक अंश यसप्रकार रहेको छ–
सरस्वती !
तिमीजस्तै
अक्षरको भोकले सकसकाइरहेका
भुइँमान्छेहरुको वारेसनामा लिएर
यो महामहिम राज्यको
मदिरामय टेबुलमाथि
एउटा अप्रसोधित प्रश्न राखिदिन्छु–
“गरिबीको गोमनलाई तेजोवध गर्न
सिद्धान्तका कति दर्जन ब्रह्मास्त्रहरु
आयातित गरिरहोस् यो आसामी राज्य ?” (७१) ।
पृथ्वी सवाईमा सांस्कृतिक अभिव्यक्ति
कवि सुरेश हाचेकाली संस्कृतिलाई मसिनो रूपमा बोध गरी कवितामा समावेश गर्दछन् । पृथ्वी सवाई कविता सङ्ग्रहको एउटा उल्लेखनीय पक्ष सांस्कृतिक अभिव्यक्ति हो । यसमा समस्त मानव बस्तीको सांस्कृतिक पक्षलाई संंश्लेषण गरिएको छ । मान्छे पृथ्वीका प्राणी हुन् । मानिसको मूल आधार पृथ्वी हो । पृथ्वीका सारा माटो, आकाशमा फैलिएको हावा र पृथ्वीसम्म आइपुगेको सौर्यमण्डलको उज्यालोमा मानिसले जीवनको उहापोहलाई निरन्तरता दिएका छन् । पृथ्वीविनाको मानवीय कायाकल्प आजसम्म देखिन्न । त्यसकारण पृथ्वी नै मानव संस्कृतिको मूल धरोहर हो । यहाँका पहाड, तराई, हिमाल, नदी, समुद्र, खोलाना, ताल, पोखरी, गाउँ, लेक, बेसी, वन पखेरा, खेती किसान, व्यापार, प्रकृतिका विविधतामा आउने बादल, इन्द्रेनी, झरी वर्षा, सिञ्चाई, सिमसार, संस्कार, धर्म, पर्व, चालचलन, मानवीय संस्था, खानपिन, लवाई, यायावरीपन सबै मानव संस्कृतिका आयाम हुन् । यसलाई कवितामा कथ्नु र त्यसलाई सांस्कृतिक स्वरूपमा मथ्नु कवि हाचेकालीको कवित्वमा आउने सांस्कृतिक संश्लेषण शिल्प हुन् । यस कविता कृतिमा समाजमा स्थापित विभिन्न विश्वासलाई सांस्कृतिक रङमा उतारिएको छ । हजुरआमाको कथा भन्ने चलन होस्, हजुरबाको मिथक गाथा होस्, रावाको घतलाग्दो कहिरन होस्, सुदूर इतिहासको मिठो गाथाको व्यङ्ग्यात्मक संस्मरण होस्, नारीको उराठिलो व्यथा र गरिबीको मर्मस्पर्शी कथा होस्, सबैतिर कवि हाचेकालीको कवि मन स्फुरण भएर फुलेको छ । समाज, संस्कृति र जीवनको त्रिआयामिक पक्षलाई शब्दकुञ्जमा कुँद्नु नै उनको शिल्पगत आकर्षण हो । यसको मूल सबल पक्ष संस्कृतिलाई टिप्नु र त्यसलाई सरल शब्दावलीमा पस्कने कला नै हो । कला र विषयवस्तुको ओजपूर्ण गठनले कवितात्मक अभिव्यक्तिमा निखारपन आएको छ । सांस्कृतिक रङहरूलाई उद्घाटन गरिएकाले यस कृतिको विषयवस्तु स्तरीय, सान्दर्भिक र समय सापेक्ष स्वरूपमा स्थापित भएको छ । यस कृतिमा प्रयुक्त भएका सांस्कृतिक प्रतिविम्बनयुक्त कवितांशका साक्ष्यहरुलाई राख्दा ‘समुद्रमा पर्खाल’ शीर्षक कवितामा कविले विश्व मानव संस्कृतिको उद्घाटन व्यङ्ग्यात्मक दृष्टिबाट यसरी गरेको पाइन्छ–
अरबौँ माछाहरुको
पुख्र्यौली समुद्र स्वच्छन्दतालाई चुनौती दिँदै
भन्सार र नाकामा सोधिँदो हो उनीहरुको
नश्ल, धर्म, आदिम भूमि,
र रक्तसञ्चारमा घुलेको मातृभाषा (पृ.२७) ।
पृथ्वी सवाईमा मिथकीय स्वरूप
कवि हाचेकालीको प्रस्तुत कविता सङ्ग्रहको अर्को सबल पक्ष मिथकीय स्वरूपको अभिव्यक्ति हो । मानव जीवन र समाज प्राचीन युगबाट आजसम्म निरन्तर अगाडि बढेको छ । मानिसका सत्यहरू इतिहासभित्र छोपिएका छन् र त्यसले सत्यांशका विभिन्न झिल्काहरू पनि छोडेका छन् । त्यसलाई मिथक संस्कृतिको कथनमा समाजले लोक साहित्य, गाथाको रूपमा बचाएको छ । कविकै शब्दमा लोकोक्तिका वान्कीहरूमा जीवित भएका मिथकलाई कवि हाचेकालीले आफ्ना कवितामा पुनः व्याख्या गरेका छन् । त्यसकारण मिथकीय आयामको सिर्जनशील अभिव्यक्ति यस कविता कृतिको सोद्देश्य बनेको छ । यस कवितामा व्यक्त मिथकबाट जीवनका उज्याला र अँध्यारा पक्षहरू प्रकट भएका छन् । मानव अभिरुचि र बाधाहरू बिचमा आइपरेको द्वन्द्वात्मक परिवेशलाई कविले मिथकीय धारबाट प्रस्तुत गरेका छन् । कविता जीवनको सुनौलो इन्द्रेनी हो । त्यो इन्द्रेनीको रङभित्र जीवनका दुःख सुखहरू लुकेका छन् । कविले नयाँ र पुरानो समाज अनि जीवनलाई जोड्ने मिथक इन्द्रेनी बनाए छन् । लोकवार्तालाई कवितामा पस्कनु र वर्तमानबाट भविष्यको उज्यालो बाटो निर्माण गर्ने मनोवैज्ञानिक, सांस्कृतिक र ऐतिहासिक जीवनका तन्तुलाई प्रकाश पार्नु कवि हाचेकालीको मिथक मित्रताको सूत्र देखिन्छ । मान्छेभित्र जन्मने हनुमानको द्रोणाचल पर्वत उचाल्ने तागत (पृ.१३), सत्ययुगीन आद्यरूप र ऐरावत हात्ती, राजनेता इन्द्र (पृ.१७), बृहस्पतिले बास गरेको विज्ञानतारा (पृ.२१), लेथ नदीको एक कमण्डलु पानी (पृ.३४), लोककथाको सिकर्मी (पृ.६१), इन्द्रलोककी पापिनी पाहुना (७८), एकादेशकी जलकिन्नरी (पृ.१०३) जस्ता अनगिन्ती मिथक प्रयोग यस कृतिको बलियो शिल्प सक्षम मानकता हो । यसले जवनको पाठशाला बनेर हामीलाई पुरानो र नयाँ चेतना बोध गराएको छ । हाम्रो चेतनालाई उर्जा प्रदान गरेको छ । मानिसका कमजोरीलाई मानिसका माझमा ल्याइदिने काम यस कृतिमा सुन्दर दृष्टिले भएको छ । मिथक भ्रम हैन, भ्रमभित्रबाट सत्यको खोज गर्ने माध्यम हुन् र मानवीय संस्कृतिका मिश्रित तहहरूलाई पहिचान गर्ने पाठ हुन् भन्ने बोध यसबाट स्पष्ट भएको छ । मिथकीय प्रतिविम्बनयुक्त कवितांशका साक्ष्यहरुलाई केलाउँदा ‘लेथ नदीको एक कमण्डलु पानी’ शीर्षक कवितामा कविले प्राच्य मिथकको प्रयोग यसरी गरेका छन्–
बाँधेर घोडा एथेन्स दरबारको तबेलामा
अन्तध्र्यान भए जमदग्नि
यथेष्ट घुम्ने तीन लोक र चौधै भुवन
र बोकी ल्याए जतनपूर्वक
लेथ नदीको एक कमण्डलु पानी (३४) ।
पृथ्वी सवाईमा अनुभूतिको संरचना
अनुभूतिको संरचना सांस्कृतिक आधारमा निर्माण हुन्छ । कविता अनुभूतिको संरचना व्यक्त गर्ने साधन र शक्ति हो । समाजको गति र मानिसको मतिअनुसार अनुभूतिको संरचना निर्माण भएको हुन्छ । पुस्ता, पिँढी, लैङ्गिकता, वर्गीयता, दार्शनिकता जस्ता पक्षहरू अनुभूतिको संरचनाका कारक हुन् । मानिसमा अनुभव र अनुभूति ग्रहण गर्ने तीव्र क्षमता रहेको हुन्छ । आम मानव अनुभूतिको स्वरूपलाई कवि हृदयले सूक्ष्म रूपमा छाम्न सक्छन् र त्यसलाई प्रतीकात्मक रूपमा व्यक्त गर्दछन् । कवि हाचेकालीको प्रस्तुत कृतिमा लोक जीवनका अनुभूतिको संरचनालाई अधिक रूपमा व्यक्त गरिएको छ । किराती गाउँमा आर्थिक विपन्नताले थिचेका कति थिबेहरू मुग्लान भासिएर जीवन खरानी पारेका अनुभूतिको संरचना नेपाली जनमानसका अधकल्चा घाउ हुन् । कतिले यौवन हत्केलामा राखेर जवानीको मोल आँसुमा भिजाइरहेका छन् । यस्ता अनुभूतिले कविलाई मात्र हैन थोरै मात्र चेतना भएका मानव मस्तिष्कलाई दसौँ पटक सोच्न अनि सभ्य भनिएका समाजमा बौद्धिक या मानवतावादीलाई शिर निहुराउन विवश बनाएको छ । किरातिनी आमाको गीतमा कति रावा बगे ? कति नीलो समुद्र धारामा गाउँले जीवन भिजिरहेका छन्, त्यसको प्रतिविम्बन यस कृतिको अनुभूतिको संरचना हुन् । गाउँका निर्दोष, निर्मल नानीहरू सरस्वतीको भोकले “काला अक्षर भैँसी बराबर”को उखान चरित्रार्थ गरिरहेका दृष्टान्तहरू यस कविता सङ्ग्रहमा प्रकट भएका छन् । प्रणय छुटेका मार्मिकता, गाँस बास खोसिएका रोदन, देश निर्माणको गीत, उन्नति र अवनतिका द्वन्द्वात्मक अनुभूति कविका रुचि क्षेत्र हुन् । यहाँ प्रस्तुत सुन्दरेका बाउका बयान गरिब नेपाली झुप्राको अनुभूतिको संरचनाका विम्ब बनेर सजिएको छ । कवि द्रवीभूत भएका छन् र समाजलाई त्यो अनुभूति व्यक्त गर्न कवित्व शब्दशृङ्खलामा उनिएका छन् । जीवन सार्थक छैन तर सार्थक पार्नुपर्छ कवि अवचेतनको आग्रह साझा अनुभूतिको संरचना हो । जीवनलाई धुने र छुने चेतना बोकेर आएको पृथ्वी सवाई कविता सङ्ग्रह मानव अनुभूतिको रस सङ्ग्रह सरह बनेको छ । यिनै विविध अलिक्षण र मर्मबोधका कारण पृथ्वी सवाईमा प्रयुक्त अभिव्यञ्जन कवि हाचेकालीको उज्यालो स्रष्टा व्यक्तित्व हो । यसैमा उनको मापन र मानक रेखा स्थापित हुने बलियो सम्भवना निकटवर्ती भएर उभिएको छ । अतः पृथ्वी सवाई मानव सवाईको नूतन गीत भएर ध्वनित भएको छ । यी विभिन्न कविता लक्षणका आधारमा कवि हाचेकालीको शिल्पविधान स्पष्ट भएको छ । कवि हाचेकालीले ‘सुन्दरेका बाउ’ शीर्षक कवितामा निम्न वर्गीय श्रमिक वर्गको अनुभूतिको संरचनालाई यसरी प्रतिविम्बन गरेका छन्–
पचास वर्षभन्दा बढी
यही कुटीर उद्योगमा फलाम पिट्यौ
यही आरनले उत्पादन गर्यो
गाउँभरिका लागि
बन्चरो, खुर्पा, कोदालो र खुकुरी,
हिउँजस्तै सेता मनका धनी
सुन्दरेका बाउ
आरनजस्तै कालो भयो तिम्रो छाला (४७) ।
उपर्युक्त कवितांशहरू पृथ्वी सवाई कविता सङ्ग्रहका प्रतिनिधि नमूना मात्रै हुन्। कवि हाचेकालीको कविता हरफहरु सबै प्रतिनिधिमूलक जस्ता देखिन्छन्। उनको कवित्वको निखारपन र शिखरतर्फको यात्रामा पुगेको यस कृतिले नेपाली कवितालाई गरिमामय, महिमामय र सुन्दर बनाउन यथेष्ट योगदान गरेको छ। सरलताभित्र सौन्दर्य, ग्राम्य शब्दावलीको चयन, आयामिक अर्थ सम्प्रेषण हुने विम्ब, मिथक र प्रतीक प्रयोग, नेपाली आञ्चलिक परिवेश, भाव र विचारको अभिव्यक्ति, प्रगतिशील चिन्तन, मानवीय सौन्दर्ययुक्त मन र महिमा गान, राष्ट्रिय र अन्तर्राष्ट्रिय विम्बहरुको चयन, चक्रव्यूह सञ्चेतना चिन्तनको प्रयुक्ति, अर्थ गाम्भीर्य र सुललित भाषा एवं प्रस्तुति कला यस सङ्ग्रहका मूल शिल्प सशक्तता हुन्।
सन्दर्भ सामग्री :
हाचेकाली, सुरेश (२०७४).पृथ्वी सवाई. विराटनगर : घनश्याम–नमिता पोखरेल ।