“बाबा यो गुलाबवाला टेडी बियर कति राम्रो छ हगी, किनीदिनु न बाबा” सिन्धुले जिद्दि गरी।
“राम्रो छैन छोरी, म तिमीलाई यो भन्दा पनि ठूलो टेडी बियर किनी दिउँला नी, है ?”
“नाँइ। मलाई ठूलो खिलौना देखि डर लाग्छ। मलाई यही चाहिन्छ।”
त्यो टेडी बियरको मूल्य सात सय पन्चानब्बे रुपियाँ थियो।
समाचारपत्रमा चित्र बनाएर जीवन यापन गर्ने म जस्तो प्रेश आर्टिस्ट का लागि यो मूल्य निकै ठूलो थियो। हैन… हैन…. हामी गरीब हैनौँ…भोकै बस्दैनौँ। सानोतिनो आवश्यकता सजिलै पुरा हुन्छन्। ती कुराको त कुनै समस्या छैन तर यस्ता कुरा…..।
मेरो सहकर्मीको बिहे छ। केही उपहार किनौँ कि भनेर यहाँ आएको हुँ। तर मैले सिन्धुलाई साथमा लिएर नआउनु पर्ने थियो। उ त अहिलेसम्म त्यो टेडी बियर किन्ने भनेर हातमा लिएर उभिएकि छ। तर मलाई थाहा छ कि सिन्धुसँग इमान्दारीता देखाउनु नै श्रेयष्कर हुन्छ।
“छोरी, यसको मूल्य सात सय पन्चानब्बे रुपियाँ। मतलब लगभग आठ सय रुपियाँ। हेर त, बाबाको पर्समा कति रुपियाँ छ, मात्र साठी रुपियाँ। यसको अर्थ के भयो भने हामी अहिले यसलाई किन्न सक्दैनौँ। तर आउँदो महिना तिम्रो जन्मदिनमा अवश्य किनीदिउँला। ठीक छ।”
“प्रोमिश ?”
“प्रोमिश।”
अर्को दिन साँझ जब म अफिसबाट फर्केँ सिन्धु मसँग आएर टाँसिदै बसी र भनी,“बाबा अब त उन्तीस दिन मात्र बाँकी छ है….”
“केको लागि छोरी ?”
“मेरो जन्मदिनको लागि नी। त्यो गुलाबवाला टेडी बियर हाम्रो घर आउनको लागि।”
हरेक दिन म अफिसबाट घर आउँदा, सिन्धुले बाँकी दिनहरुको सँख्या याद दिलाउन थाली।
मैले निश्चय गरेँ कि सिन्धुको जन्मदिनसम्म जसरी भएपनि उसलाई टेडी बियर किनीदिन्छु। तर कसरी ?
प्रत्येक महिना मैले कुनै न कुनै अतिरिक्त काम पाउँछु। कुनै स्पेशल एडिसन वा कलर सप्लीमेंट वा कम्तीमा पनि पोष्टरका लागि आर्टको काम पाइन्छ। यो अतिरिक्त आमदानी बाट हाम्रो घरमा साना साना खुसी - कसैका लागि नयाँ कपडा वा परिवारका साथ सिनेमा हेर्न जान वा पिकनिक जाने खर्चको जोगाड भइरहन्छ। यदि यस्तो कुनै कमाइ भएछ भने त्यो पैसाबाट सिन्धुलाई टेडी बियर किनीदिनेछु तर यो महिनामा त्यस्तो कुनै मौका आउने छाँटकाँट छैन।
सिन्धुको जन्मदिनको बिहान म निकै उदास मन लिएर उठेँ। टेडी बियर किन्ने पैसा थिएन। कुनै न कुनै तरिकाले कमाउनु छ। नाश्ता नै नगरी चाँडै घरबाट बाहिर जान चाहन्छु। सिन्धु सुतिरहेकी छ। कोठाबाट चुपचाप बाहिर निस्कन लागेको थिएँ, सिन्धुले कम्मलबाट मुख निकाल्दै भनी,
“बाबा, मलाई जन्मदिनको शुभकामना दिन बिर्सनु भयो ?”
“मेरी छुनुमुनु नानु लाई जन्मदिनको धेरै शुभकामना !”
मेरो गला अवरुद्ध भयो, आँखा रसाए। मैले उसको निधारमा चुमेँ तर आँसुलाई तल झर्न दिइन।
कोठाबाट बाहिर निस्केपछि सिन्धुले पुनः एकपटक याद दिलाई,“बाबा, हजुरले मलाई आज टेडी बियर ल्याइदिनु हुन्छ है। मैले हजुरलाई पर्खिरहने छु।”
म चुपचाप अफिस तिर लागेँ।
साँझ पर्न लाग्यो। अचानक बिचार आयो, उपसम्पादकलाई भेटेर आठ सय रुपियाँ मागौँ। महिनाको अन्त्यमा तलबबाट कट्टा गर्न भनौँला। यो महिनामा खर्चमा केही कटौती गर्नु पर्छ तर चिन्ता छैन। यति बिचार गर्दै उपसम्पादकको कार्यकक्ष तर्फ लम्केँ। उनलाई आफ्नो विवसता बताएँ। तर उनले रुपियाँ दिनु भन्दा एउटा प्रस्ताव राखे।
“हेर तिमीले मसँग बाँकी मागिरहेका छौ तर म तिमीलाई अतिरिक्त कमाइको तरीका बताउँदै छु। तिमीले यी तीनवटा कथाको लागि चित्र बनाउ। नौ सय रुपियाँ दिन्छु। तर यी चित्रहरु आज राती नै प्रेशमा जानु पर्छ। यसको अर्थ तिमीले अहिले नै, यहीँ बसेर, चित्र बनाउनु पर्छ। मलाई थाहा छ तिम्रोलागि यो कुनै ठूलो कुरो हैन। बढीमा दुइ घण्टा लाग्ला। तिमीले आठ बजेसम्ममा पैसा लिएर छोरीको जन्मदिन धुमधामका साथ मनाउन सक्छौ। बिचार गर।”
म सँग दोस्रो बिकल्प छैन।
साँचो भन्ने हो भने, म त के कुनै पनि चित्रकारले समयको सीमामा बाँधिएर राम्रो चित्र बनाउन सक्दैन। जे होस् म काममा लागेँ। मैले समय, सिन्धु, उसको जन्मदिन र टेडी बियर सबैलाई बिर्सिएँ। काम सकेर पैसा लिएर बाहिर निस्कँदा रातीको नौ बज्न लागेको थियो। टेडी बियर किन्न पसलमा पुगेँ तर पसल बन्द भइसकेको थियो। म निराश हुँदै घर फर्किएँ।
बरण्डामा पुग्ने बित्तिकै श्रीमतीले गुनासो गर्दै भनिन,“बिचरा ! ढोकामा कुनै आवाज आयो कि बाहिर आएर हजुरलाई हेर्थी। साँझ परेपछि केही खाएकी पनि छैन। ‘बाबा आउनुहुन्छ र टेडी बियर ल्याउनु हुन्छ; तब म, बाबा र टेडी बियर मिलेर एकै साथ खाना खाने’ भन्दै थिइ। भर्खरै निदाइ।”
म हतोत्साहित भएँ। खाना खाने इच्छा पनि मरेर गयो। उदास हृदयका साथ सम्मानार्थ पठाइएको एउटा पत्रिकाको पाना फर्काएर हेर्न थालेँ। त्यसमा कुनै प्रतियोगिताको नतिजा छापिएको थियो। यस प्रतियोगितामा इनाम स्वरुप बिजेताहरुलाई गिफ्ट कुपन दिइएको थियो। यी गिफ्ट कुपनहरुलाई चुनिएका पसलहरुमा दिएर आफूलाई मन परेको सामान किन्न सकिन्थ्यो।
मेरो मनमा एक्कासी एउटा बिचार पलायो। एउटा चार्ट पेपर लिएर त्यहाँ गुलाबवाला टेडी बियरको चित्र बनाएँ। आकार र रँगमा त्यो असली टेडी बियर जस्तै देखिन्थ्यो। आफ्नो बानी बमोजिम त्यस चित्रमा मेरो हस्ताक्षर पनि गरेँ। श्रीमतिले किनेर राखेको एउटा चकलेटको डिब्बा र यो चित्र लिएर हामीहरुले सिन्धुलाई जगायौँ।
“सिन्धु छोरी, फेरी एकपटक जन्मदिनको शुभकामना। हाम्रो तर्फबाट तिम्रो जन्मदिनको उपहार यो चकलेट र टेडी बियरको चित्र गिफ्ट कुपन लिउ। भोली बिहानै पसले अँकललाई यो गिफ्ट कुपन दियौ भने उनले तिमीलाई असली टेडी बियर दिनेछन्।
“बाबा यो टेडी बियरको चित्र हजुरले बनाउनु भएको हो ?”
“हो छोरी”
मैले श्रीमतिलाई आफ्नो योजना पहिलै बताइसकेको थिएँ। भोली समय मिलाएर पसलमा जाने,पसलेलाई पहिले नै टेडी बियरको पैसादिने र सिन्धुलाई उक्त गिफ्ट कुपनको बदलामा असली टेडी बियर दिन लगाउने। सिन्धुलाई लागोस् कि उसले टेडी बियरको चित्र अर्थात गिफ्ट कुपनको सट्टामा यो असली टेडी बियर पाउँदै छे।
सिन्धुले मैले बनाएको त्यस चित्रलाई धेरैबेरसम्म हेरी र भनी,
“बाबा यो त ठ्याक्कै त्यही पसलवाला टेडी बियर जस्तो देखिन्छ हगी। थेँक्स बाबा, आफ्नो प्रोमिस पुरा गर्नु भएकोमा।”
भोलीपल्ट अफिसबाट फर्केपछि श्रीमतिसँग टेडी बियरको बारेमा सोधेँ।
श्रीमतिले भनिन् “कुन्नी किन हो, सिन्धुले त्यस टेडी बियरको नाम समेत लिइन”
मलाई अचम्म लाग्यो। सोचेँ, म आँफैले सिन्धुलाई पसलमा लगेर टेडी बियर दिन उचित होला।
मैले सिन्धुलाई सोधेँ,“छोरी, आज पसलमा गएर असली टेडी बियर लिएर आउने हैन ?”
सिन्धुले केही बेरसम्म मलाई हेरीरही, केही सोची, अनि भनी, “बाबा, अब मैलै आफ्नो बिचार बदलेँ। हजुरले बनाएको चित्र निकै राम्रो छ। त्यो पसले अंकललाई यति राम्रो चित्र किन दिने नी ! नाँइ बाबा, अब मलाई त्यो गुलाब वाला टेडी बियर चाहिन्न। मलाई यही चित्र चाहिन्छ। सँसारको कुनैपनि मूल्यवान बस्तुसँग म यो चित्र साट्दिन।”
छोरीको कुरा सुनेर मलाई यति खुसी लाग्यो कि मेरो कुनै चित्रले अन्तराष्ट्रीय स्तरको प्रथम पुरस्कार पाउँदा पनि मलाई यति खुसीलाग्दैनथ्यो होला। अचानक मलाई यस्तो लाग्यो कि दुनियाभरिका सबै टेडी बियरहरु किनेर आफ्नी सानी राजकुमारीको पाउमा राखि दिउँ।