बुख्याचा
दोबाटोमा ठडिएर बाटो रोेक्न थालेको छ
आँगनमा उभिएर घाम छेक्ने गरेको छ
घरकैे छानोमाथि पनि बस्न थालेको छ ।
यस अर्थमा
भित्र–बाहिर
तल–माथि
पूर्व–पश्चिम
उत्तर–दक्षिण चारैतर्फ
म बुख्याचा मात्र देख्न थालेको छु ।
आश्चर्य छ
बुख्याचा घुम्ने मेचमाथि बसेर
सोझा मान्छेलाई मीठो सपना देखाइरहेछ
गरीबहरूलाई रसिलो आश्वासन दिइरहेछ ।
अर्को आश्चर्य !
बुख्याचाले देशको सीमाना देखेकै छैन
बुख्याचाले देशको इतिहास पढेकै छैन
बुख्याचाले देशको भूगोल नापेकै छैन
ऊ आपूm उभिएकै ठाउँलाई
सिङ्गो देश सम्झिरहेछ
सम्पूर्ण विश्व ठानिरहेछ ।
बास्तवमा
आँखा नभएको
कान नभएको
र
मन पनि नभएको बुख्याचाबाट
हामीले आशा गर्नु पनि बेकार हो ।
आँखिर ऊ बुख्याचा न हो
अनि किन गर्छ ज्यूँदो मान्छेको रखवारी ?
अनि किन गर्छ शत्रुहरूलाई खबरदारी ?
बुख्याचा
हिजोआज
खेतबारिको रखवारी गर्न छोडेर
टुँडिखेल र सिंहदरबार वरिपरि
प्रातःभ्रमण गर्न थालेको छ
शहर मात्र होइन
गाउँका सडक र गल्लीगल्लीमा
दिनरात परेड खेल्न थालेको छ ।
साँच्चै, मेरो वर्तमान बुख्याचामय भएको छ
तेसैले आउनुस् महाशय
अब हामी सबैले
बुख्याचाको गुनगाण गाऊँ
बुख्याचाको अभिनन्दन गरौँ
उसलाई बग्गीमा राखेर शहर पत्रिक्रमा गराऔँ
ंउसको प्रशँसामा गीत गाऊँ
र उसकै वीरगाथाको प्रशस्ती सुनाऊँ ।
बुख्याचा शक्तिशाली छ
बुख्याचा बलशाली छ
हिजोआज बुख्याचा
निर्मलाहरूको बलात्कार गर्न पल्केको छ
आफुलेको गरेको अपराध लुकाउन खप्पिस छ
हामी हेरिरहेछौँ
बुख्याचा अम्बाको रूखबाट हामफालेर
उखुबारीमा अम्बा टोक्दै ताण्डवनृत्य गरिरहेछ
र यो बर्तमान
बुख्याचाको ताण्डवनृत्य हेरेर हाँसिरहेछ !
बुख्याचाको ताण्डवनृत्य हेरेर रमाइरहेछ !!
बुख्याचाको ताण्डवनृत्य हेरेर
हामी हाम्रो सुन्दर भविष्यको कल्पना गरिरहेछौं
हामी हाम्रो सुन्दर संसारको सपना देखिरहेछौं।