कविता गाउँका नायक
१. सन्दर्भ
‘पोले पनि घामै जाती, कुटे पनि आमै जाती’ गाउँ समाजमा सुन्दै आएको उखान, जब मंसिर–पौष लाग्छ तब झर्लक्क याद आउँछ। घर आँगन र तगारोका छेउछाउ बसेर घाम ताप्ने दिनचर्याको शुरुआती हुन्छ। त्यही समयमै गाउँले जीवनका गुन्द्रुक, मकै, मोही, आटो, रोटो, ढिडो र पिठो प्रिय भोजनका रूपमा बढी खपत हुने गर्दछन्।
पछिल्लो समय बजारिया भनाउँदालाई पनि यी खाद्यान्न लोकप्रिय छन्। यही दूरदर्शी सोच राखेर विनोद गौचन जस्ता कालजयी स्रष्टाले तगारोमा रुमाल राख्नेका कुरा लेख्छन्। अँगेनामा गुन्द्रुक र मकै दिएका कुरा गर्छन् अनि, त्यही मकैमा पोखराको दिल राखें भन्छन्। ग्रामिण जीवनका यस्ता भावगाम्भिर्य सन्दर्भ लिएर संख्यात्मक थोरै र गुणात्मक धेरै गीत र कविता लेख्ने गौचनलाई हामीले नसम्झे पनि उनका सिर्जनालाई सार्थक पार्ने कर्म हरेक मंसिर पुसमा गरिरहेका हुन्छौं। त्यस्तै कर्म गरिरहेको समय, २०७० पुसको २० गतेको दिन थियो। पुस महिना भए पनि घाम लागिरहेकै थियो तर, हिजो जस्तो आज थिएन।
जाडोले कठ्याङ््ग्रियाएका स्रष्टा साधकको मनमा थपिन आएको अकल्पनीय र दुःखद् समाचारले झन् दुखित तुल्यायो। मनमस्तिष्क नै स्थिर जस्तो भइरहेको थियो। कसैले कल्पना नगरेको दुःखद् घटना पोखरामा मुस्ले धुँवा पुत्ताए झैं पुत्ताइरहेको थियो। कालजयी स्रष्टा विनोद गौचनको असामयिक निधन। तर, खबर असत्य भइदियोस् भनेर गरिने कोरा कल्पनाबाहेक केही थिएन।
२०१२ जेष्ठ १३ गते पोखरा बगरमा जन्मिएका गौचनले अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए। तापनि उनले आफ्नो जिन्दगीको अर्थशास्त्र मिलाउन कहिल्यै लागेनन्। जति समय भौतिक रूपमा यो संसारमा रहे त्यति वेलासम्म साहित्य, समाज र सङ्गठनको शास्त्र मिलाउन क्रियाशील रहे। अन्ततः आज २०७५ पौष २० गते आउँदै गर्दा गौचनलाई भौतिक रूपले गुमाएका पाँच वर्ष बितिसकेका छन्। यसर्थ प्रस्तुत आलेखमा स्मृतिमा रहेका उनैका विभिन्न पाटालाई उल्लेख गर्न खोजिएको छ।
२. चर्चित गीतकार
सेतीको सुस्केरासँगै धवलागिरि, माछापुच्छे र अन्नपूर्णको शिरशिर हावामा कावा खादै सुन्दर नगरी पोखरामा रमाउँदै गर्दा भौतिक रूपमा छुटेका गौचनले पलपलमा विनोदप्रिय लाग्ने स्मृति गराएर जान्छन्। हरेक स्रष्टाले यसरी सम्झन्छन्ः
जति माया लाए पनि, जति कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा, आखा तरि गएपछि
मनमा पीर त पर्ने नै भयो,
यो मन त्यसै मर्ने नै भयो।
गौचनले उमेरको २३ औं वसन्तमा चल्दै गर्दा प्रस्तुत गीत लेखेका थिए। यसबाट आँकलन गर्न सक्छौं, उनी कस्तो सिर्जना शक्ति भएका स्रष्टा, साधक र शिल्पी थिए भन्ने कुरा। गौचनले २०३५ सालमा रचना गरेको गीतलाई, २०३६ सालमा अरुण थापाले स्वर दिए। सोही गीतबाट थापा साङ्गीतिक क्षेत्रमा सफल र लोकप्रिय गायक भए। त्यो मात्रै होइन, जुन समय श्रोताकै आग्रहमा रेडियो नेपालमा दैनिक ८–१० पटकसम्म यो गीत बज्ने गर्दथ्यो भनिन्छ। यस्ता सिर्जनाले नेपाली वाङ्मयलाई हराभरा पार्नु गौचनको कला कौशलको कुशलता थियो। त्यसैले उनका हरेक सिर्जना पछिल्ला पुस्ताका मनमा बास बस्न सफल भएको पाइन्छ।
माया लाएर कसम आएका कुरा मात्रै होइन, आजभन्दा १७ वर्षअघि रचना गरिएको अर्को गीत पनि उस्तै कालजयी छ। कास्की, स्याङ्जा र पर्वतको सङ्गमस्थल पञ्चासे घुम्दै गर्दा त्यहाँको जनजीवन, संस्कार, संस्कृति, प्राकृतिक सौन्दर्य, वातावरण र पर्यावरणबाट प्रभावित भएर रचना गरिएको गीतमा उनले भनेका छन्ः
तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले
त्यही रुमालमा पञ्चासेको फूल राखेँ मैले।
कन्दरा ब्याण्डका विवेक श्रेष्ठले उनको सिर्जनामा स्वर दिएपछि गीत र गायक दुवै चर्चित मात्रै होइन, लोकप्रिय बन्न पुगे। गुरुङ समुदायको बाहुल्यता रहेको पञ्चासे क्षेत्रमा युवायुवती बीच बाटो छेक्ने मौलिक संस्कारलाई गीतका माध्यमबाट उजागर गर्दै गर्दा उनले गुरुङ समुदायको संस्कृतिलाई मात्र प्रचार गरेनन्। जैविक विविधताले धनी पञ्चासेलाई थप चिनाएका कारण पनि गीत सफल भयो। २० वर्षको उमेरदेखि नै गीतसङ्गीतमा लागेका गौचनको पदयात्रा र अध्ययनमै विशेष रुचि थियो। त्यसैले फुर्सद भएपछि कहिले चन्द्रकोट त, कहिले लुम्ले, धम्पुस, पञ्चासेजस्ता गाउँमा पुग्थे। त्यसैले उनका कविता र गीतमा पनि त्यहीको प्रकृति बिम्ब र सरल भाषा भेटिन्छ।
कस्तो ठाउँमा फूल्यौं तिमी, टिप्नै गाह्रो भो
मन भित्र बस्यौ तिमी, भुल्नै गाह्रो भो।
मायाप्रीतिका कुरालाई समावेश गर्दै पर्यटकीय दृष्टिले महŒवपूर्ण स्थानलाई साथ लिने गौचनको विशेषता हो। २०५५ सालमा पर्यटकीय गाउँँ धम्पुसमा पाइला टेक्दा सिर्जना गरिएको सो गीत आज पनि सदाबहार छ। जहाँ गौचनले त्यस क्षेत्रको प्रकृति र संस्कृतिलाई गीतिफ्रेममा ढालेर प्रेम दर्शाएका छन्। यस्तैगरी, गौचनको पछिल्लो पटक रेकर्ड गरिएको गीतमा बिरु जि.एम.ले स्वर दिएका थिएः
चोली फाटे पनि तिम्रो, जोवन फाट्या छैन,
लाग्छ तिम्रो उमेरले, सोह्र काट्या छैन
जुन गीत पनि उनको कालजयी गीत बनेर बसेको छ। चाहे चार दशक अगाडिका उनका गीत हुन् या, पछाडि रेकर्ड भएका झण्डै तीन दर्जन गीत। आज पनि सबै सुनाँै–सुनौँ लाग्ने खालका छन्। बालबच्चा, युवायुवती र वृद्धा सबैले उनका गीतलाई मन पराउछन् र गौचनलाई दूरगामी स्रष्टाका रूपमा चिन्छन्। यस्ता कालजयी गीत मात्रै होइन, उनले सन्देशमूलक गीत पनि उस्तै सिर्जना गरेका छन्। एड्स रोग नियन्त्रण सङ्घ कास्कीले निर्माण गरेको लागूपदार्थसम्बन्धी जनचेतना गीत ‘पटक–पटक भर्नु भन्दा एकैपटक मर्नु जाती’ र एच.आइ.भी. एड्ससम्बन्धि जनचेतना गीत ‘आगो लगाई आफ्नै फूलबारीमा, आगो लगाई आफ्नै घरबारीमा।’ दुवै रचना उनका हुन्।
यसरी थोरै, स्तरिय र बारबार संशोधन गरेर सिर्जना गर्ने गौचनका गीत मात्रै होइनन, कविता पनि उस्तै दमदार छन्। उमेरको २३ औं वसन्त चल्दै गर्दा एकाएक चर्चाको शिखरमा पुगेका गौचनका सिर्जनाले आम श्रोता र पाठकलाई जुन छाप छोड्न सफल भए। विडम्बना पंक्तिकारजस्तै धेरै स्रष्टा साधकलाई जुन गीतका रचनाकार विनोद गौचन हुन भन्ने धेरैपछि मात्रै थाहा भयो। यो संस्कारको अन्त्य आजसम्म हुन सकेको छैन। गीत हिट हुन्छ, गायकले मञ्च पाइरहन्छ। तर, स्रष्टा कुनामा बसेर आफ्ना सिर्जनाले जाज्वल्यमान बनाइदिएको प्रतिभाका लागि ताली बजाइरहेको हुन्छ। यो निकै दुःखको कुरा हो। अब यो संस्कारको अन्त्य होस् भन्ने हाम्रो कामना छ।
३. अग्र्यानिक गीतिकवि
विनोद गौचनका सिर्जनालाई हेर्दा उनी अग्र्यानिक स्वाद मन पराउने स्रष्टा साधक हुन्। साहित्यका लघु विधामा केन्द्रित गौचनले आफूलाई कविता र गीतका पारखीका रूपमा केन्द्रित गरे। धेरै समय र सोच विचार गरी थोरै रचना गर्ने गौचनले आफ्नो जीवनकालमा २०५५ सालमा ‘ढुड्डेसाँघुको मेलामा’ र २०६३ सालमा ‘पोखरामा फूल फुल्दैन’ दुई कविता कृति उपहार दिएर छन्। गौचन कस्ता कविता लेख्छन् भन्ने कुरा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव–२०३९ र २०४४ मा तृतीय पुरस्कृतबाट विभुषित भएबाटै प्रष्ट हुन्छ।
विश्वविद्यालयमा नेपाली साहित्य अध्ययन गर्दै गर्दा। कविताको विकास हुनेक्रममा आएका विभिन्न धारा र वादले हरेक स्रष्टा साधकलाई छुन्छ। त्यहीँ छुवाई गौचनका कविता पाइन्छ। अङ््ग्रेजी साहित्यका स्वच्छन्दतावादी धाराका कवि विलीयम वर्डस्वर्थ कविता रचना पूर्व प्रकृतिमा रमाउने ग¥थे भनेर कविताको इतिहास पढियो। जुन सन्दर्भ कवि विनोद गौचनको जीवनमा शतप्रतिशत मेल खान आएको देखिन्छ।
उनले प्रकृतिसँग मितेरी साइनो जोड्दाका सन्दर्भलाई टिपोर्ट गर्थे। घरमा आएर तिनै यात्रामा भेटिएका सन्दर्भलाई सिर्जनामा खिप्थे र पाठकका लागि उपहार सुम्पन्थे। यसरी हिँड्ने क्रममा उनी कहिले घम्पुस, लुम्ले, भदौरेतमागी, पञ्चासेको प्राकृतिक छटा, घान्द्रुक, लान्द्रुकको गुरूङबस्ती, त्यहाँको रहनरहन, मौलिकता र प्रकृतिसँग हाँस्दै, खेल्दै, थकाई मार्न गुरूङ गाउँका आमा दिदीबहिनीसँग गफगाफमा भुल्थे र गुरूङ शब्दसमेतको प्रयोग गरी सवन मु ङोलो भनेर यसरी कविता लेख्थे
ओ ङोलो...
सवन मु ?
यतिखेर म
यो विरानो देशमा
गाउँघरको दशैं सम्झेर
मन दुःखाएर बाँचेको छु (ढुड्डेसाँघुको मेलामा–६५)।
यसबाट के प्रष्ट हुन्छ भने, गौचन आफू घरदेशमा बसेर कुनाकाप्चा नियाले तापनि परदेश जाने दाजुभाइ दिदीबहिनीका विरह र वेदनालाई हृदयले छामेर कविता लेख्थे। लेखनका सन्दर्भमा उनले एकान्त मन पराउथे। एक छोरा र श्रीमतीसहितको छोटो परिवारमा रहे तापनि गौचन त्यो भन्दा पनि एकान्त ठाउँको खोजीमा रहन्थे सधैंँ। त्यसैले उनी एक्लै एउटा झोला भिरेर घुम्न निस्कन्थे।
गौचन घुम्न गएका गाउँठाउँको सन्दर्भ मात्रै होइन, आफु हिँडे डुलेको नालामुख, हुर्के, बढे र पढेको बगर हुँदै फुर्सद निकालेर टहलिएको टुँडिखेल, बतासे चौतारो, याम्दी, काली, सेती खोला, भीमकालीपाटन, भीमढुड्डाको छेलो, बयरघारी, पृथ्वीनारायण क्याम्पस, बल्छी र फुर्लुङ बोकेर फुर्सेखोलामा हिँड्ने गरेका बाटुलेचौरका गन्धर्वसँग मितेरी साइलाले लगाउँदै हिँड्थे अनि हे बरै भनेर कविता लेख्थेः
‘उहिल्यै उहिल्यै...
पोखराको बाटुलेचौरमा
गाइनेहरूको बस्ती थियो
गाइनेहरू
माछा मार्थे, बेच्थे
सारंगी रेटेर गीत गाउँथे
दुई चार पैसा जोहो गर्थे
जहान परिवार पाल्थे (ढुङ्गेसाँघुको मेलामा पृ.५९)।
यसरी गौचनले आफू जन्मेको माटो र हुर्के बढेर हिँडेको बाटोको सुगन्धले भरिएका सिर्जना लेख्थे। उनका कवितामा मात्र अग्र्यानिकपन होइन, गीतमा पनि उस्तै पाइन्थ्यो। उनको सिर्जनाका सन्दर्भमा सङ्गीतकार सुनील थापाले गौचनको कला क्षेत्रको ट्युनिग नै पृथक रहेको बताउछन्। वर्तमानमा उज्यालो र अँध्यारो दुवै सन्दर्भमा बत्ति बालेरै खोज्दा पनि उनको जस्तो मिठास पाइँदैन भन्दै उनी भन्छन्–‘एकान्तप्रेमी, प्रकृतिको काखमा रमाउने, सरलता र मिठासपनका स्रष्टाको अभावमा मौलिकताको खडेरी परेको छ’। त्यसैले उनी सबैका प्रिय अग्र्यानिक गीति कवि थिए।
४. मार्गदर्शक र प्रेरणाका स्रोत
गौचन आफू लेखक मात्र थिएनन्, लेखनमा रुचि राख्ने हरेक स्रष्टा साधकलाई मार्गनिर्देशन गर्ने मार्गदर्शक र प्रेरणाका स्रोत थिए। उनको प्रेरणाबाट आफ्नो कवित्व प्रष्फुटन भएको बताउछिन् उषा शेरचन। उनले २०७० पुस २६ गतेको आदर्श समाज राष्ट्रिय दैनिकमा ‘त्यो अन्तिम भेट होला भन्ने लागेको थिएन’ शीर्षकमा लेखेकी छन्, ‘२०३४/३५ सालतिर मेरो जन्मथलो पोखराको पृथ्वीनारायण क्याम्पसमा स्नातक तह पढ्ने ताका जति माया लाए पनि जस्ता बहुचर्चित गीतका गीतकार तथा कवि विनोद गौचनले नै मेरो नोटबुकमा रहेको ‘जिन्दगी’ कविता सारेर गोरखापत्रमा पठाइदिनु भएपछि गोरखापत्रमा कविता छापिएको कुरा साथीहरूबाट सुन्दा पहिला त विश्वासै लागेन।
पत्रिकामा देखेपछि आफैँ छक्क परेँ। यसरी आफैँभित्र सीमित मेरा कविता सार्वजनिक गरी दिनेदेखि मेरो साहित्यप्रतिको रुझान देखेर उतिबेलाका भक्तराज श्रेष्ठ र अहिलेका ख्यातिप्राप्त सरुभक्त, तीर्थ र प्रकटलाईसमेत परिचय गराइदिनु भएको हो। यी सबै कुराको श्रेय उहाँलाई दिन्छु।’ यहीँ शेरचनको भनाइबाट प्रष्ट हुन्छ, उनी सिर्जना कर्ममा लाग्न चाहनेलाई मार्गनिर्देशन गरिरहन्थे। प्रेरणा र हौसला थपिरहन्थे। यो एउटा उदाहरणमात्रै हो।
उषा शेरचनले मात्रै होइन, धु्रव भट्टचनले पनि विनोद गौचनको उस्तै तवरले स्मरण गरेको पाइन्छ। उनले ‘बहुचर्चित गीतकार एवम् कवि विनोद गौचन र टिपन टापन’ शीर्षकमा ‘थासाङ युवा परिवारका कुशल अध्यक्ष’ भनेर सम्बोधन गर्दै भनेका छन्–‘कवि, गीतकार विनोद गौचनलाई २०४० सालमा थकाली युवा परिवारको सङ्गठन स्थापना गर्ने सन्दर्भमा नजिकबाट चिन्ने मौका पाएको हुँ। चन्द्र भट्टचनलाई सचिव बनाई २०४० कार्तिक ७ गतेको मिरमिरे बिहानीले विनोद गौचनको अध्यक्षतामा संस्थाको नेतृत्व पायो। थासाङ युवा परिवारको युवा सङ्गठनको झण्डोतोलन ग¥यौं। यसरी पोखरेली थकाली समुदायमा थकाली संस्कृति र वाङ्मयको पुनजागरणको अभियान शुरूआत गर्दै जाँदा जुन संस्था थकाली सेवा समितिको भातृ सङ्गठनका रूपमा रहेको छ।’
गौचन, कवि तथा गीतकारको रूपमा परिचित भए पनि उनी बहुमुखी प्रतिभा सम्पन्न व्यक्तित्व थिए। एउटै टोलमा, एउटै सालमा जन्मिएका विनोद गौचन र सरुभक्तले विभिन्न साहित्यिक संस्थामा सँगै काम गरेका थिए।
पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक सदस्य गौचन संरक्षण कविता आन्दोलनमा पनि सहभागी थिए। त्यसैले वरिष्ठ साहित्यकार सरुभक्तले गौचनलाई एक बहुमुखी प्रतिभा सम्पन्न व्यक्तित्वका रूपमा स्मरण गर्दै भनेका छन्ः ‘उनी अरुणा थापाहरूसँगै गाउँथे पनि, मेरो एउटा नाटकमा अभिनय गरेका थिए। विनोदको निधनले नेपाली साहित्य र सङ्गीतमा अपूरणीय क्षति भएको छ।’
यस्तै, एकान्त र शान्त जीवन बिताउन चाहने गौचन कसैलाई नपिराउने स्वभावका भएको सन्दर्भ उनको स्मृतिमा गायक सरोजगोपाल बज्राचार्यले बताएका थिए। पछिल्लो समय सिर्जना यात्रामा लाग्दै गरेका कृष्ण अन्जान ज्ञवाली पनि विनोद गौचनसँगका अन्तरड्ड सन्दर्भलाई सम्झदै साहित्यमा रमाउन चाहने हरेक स्रष्टालाई अगाडि बढाउन हुरुक्कै हुने व्यक्तित्वका रूपमा लिन्छन्।
यो मात्रै होइन, उनले कवि कलाकार, साहित्यकारको जीवन रहँदै मात्र होइन, देहवसानपछि पनि उनीहरूको स्मृति गर्नुपर्छ उनको सिर्जनशीलताको सम्मान गर्नुपर्छ भनेर पहिलो पटक कवि भूपी शेरचनको स्मृतिमा भूपी जयन्ती मनाउनुपर्छ भनेर परिकल्पना गरेको र उक्त शृङ्खलाको शुरुआती भएको विश्वमोहन गौचन बताउछन्। यसबाट के प्रष्ट हुन्छ भने गौचन एउटा सर्जक, सङ्गठक र पछिल्लो पुस्ताका लागि प्रेरणाका स्रोत मात्र थिएनन्। दिवंगत स्रष्टाको सम्मान गर्नुपर्छ भन्ने आस्था र श्रद्धाका पूजारी पनि थिए।
५. अध्ययनशील, सिर्जनशील र सरल व्यक्तित्व
गौचनका सिर्जनालाई नियालेर हेर्ने हो भने, उनी सरल भाषामा तर, गम्भीर गीत र कविता सिर्जना गर्ने कवि तथा गीतकार हुन्। बाँकी समयमा भौतिक रूपमा उनलाई भेट्न नसके तापनि उनका सिर्जनाले पटक–पटक भेटेको अनुभूत गराउछन्। किनकि उनले जीवनवादी सिर्जना उपहार दिएर गएका छन्। यस्ता सिर्जनाका लागि गहन अध्ययन, चिन्तन र मनन सबैभन्दा ठूलो कुरा हो।
त्यसैले उनी अध्ययनशील थिए। अध्ययनशीलताका सन्दर्भमा विश्वमोहन गौचन बताउछन्– ‘घरमा हुँदा जहिले पनि उसका छेउमा पुस्तक हुन्थे। बाहिर हिँड्दा पनि झोलामा पुस्तकलगायतका सामग्री नै हुन्थे।’ त्यही गहन अध्ययनले उनलाई सिर्जनशील बनायो। लेखन र शब्द चयनमा निकै सौखिन, शब्दको फारूपना रुचाउने गौचनले थोरै लेख्ने र लेखेका रचनालाई धेरै परिमार्जन गर्नुपर्छ भन्ने मान्यता राख्थे।
गौचन अध्ययनशील र साहित्य सिर्जनशील मात्रै नभएर सामथ्र्यको पहिचान गरी त्यसको उचित संरक्षण र प्रवद्र्धनका लागि नयाँ र नौला आयामको खोजीमा पनि भौतारिन्थे। त्यसैको उपज उनकै अगुवाइमा कास्कीको लुम्लेलाई २०६५ सालमा कविता गाउँ घोषणा गरिएको थियो।
६. गौचनका अपुरा र अधुरा चाहना
गौचन जति अध्ययनशील, सिर्जनशील थिए उत्तिनै सरल। उनको व्यक्तित्व र सिर्जनाधर्मिता पनि सरल भएकै कारण सिर्जना बाहिर निस्कने बित्तिकै पाठक, स्रोताको मन लोभ्याउँथे। त्यसैको उपज सङ्गीतकार सुनिल थापा गौचनको पछिल्लो एउटा गीतमा सङ्गीत गर्दै गरेको सन्दर्भ सम्झदै भन्छन्–‘अन्नपूर्ण हिमालमुनि गंगापूर्ण ताल’ गीतलाई सङ्गीत गर्दै थिएँ।
एउटा अन्तरा दिनुभएकै थिएन। त्यसलाई पछिल्लो समय आफ्नै तरिकाले पूरा गरेर बजारमा ल्याइयो।’ यस सन्दर्भले उनका सिर्जनाको सामथ्र्यलाई प्रमाणित गराउँछ। एउटा सङ्गीतकारले गीतमा सङ्गीत भर्नका लागि पूरा गीतको स्थायी र अन्तरालाई पटक–पटक अध्ययन र मनन गरेर बल्ल सङ्गीत भर्ने नभर्ने निक्र्यौल गर्ने गर्दछन्। तर, गौचनका सिर्जना उनको मुखबाट बाहिर फुत्केपछि सङ्गीतकार सङ्गीत भर्न लालायित हुन्छन्।
अझै पनि उनका धेरै योजना अपुरा रहेको थापा बताउछन्। आफूसँग एकदुई रचना अझै रहेको बताउँदै उनले कन्दराको पाँचौं एल्बम भेडी गोठैमा रहेको ‘चन्द्रपुरकी नानी’ विनोदकै रचना रहेको बताउँछन्। यस्तै, वसन्ती लालचन दिदीसँगको ‘सपनाको गाउँ भाग दुई’मा काम गरिरहेको स्मरण गर्दै वर्तमानमा दुवैको निधनले त्यो सिर्जनाको प्रोजेक्ट अपुरो रहेकोमा उनी चिन्तत छन्।
थापाकै जस्तो अपुरो र अधुरो सपना सङ्गीतकार दिलु गुरुङसँग पनि रहेका छन्। चेतन गुरुङसँग चराको विषयमा लेखेको गीत ‘चरी’ शीतल थापाले गाउने तयारी थियो। विडम्बना चेतन र विनोद दुवैको निधन भएकाले त्यो गीत पनि अधुरो र अपुरो रहेकोमा चिन्ता व्यक्त गर्दछन् उनी। यो मात्र होइन, दिलुसँग गौचनका ‘के देखेर आयौ तिमी मेरो जीवनमा’ ‘धेरै वर्ष बित्यो तिम्रो चिठी नआएको’ लगायतका गीत बाँकी नै छन्।
तर, पछिल्लो समय उनले पारिवारिक कारण साङ्गीतिक क्षेत्रमा धेरै समय दिन नपाएकाले गीतलाई सङ्गीत दिन नपाएको बताउछन्। यो मात्रै होइन, उनी गौचनका पूरा हुन नपाएका केही योजनामध्ये एकदुई रात धम्पुसमा गएर नयाँ गीतमा सङ्गीत गरौं भन्ने योजना पनि यत्तिकै रहेकोमा नमीठो अनुभूति गर्दछन्।
धेरै समय गौचनसँग हासखेलमा बिताएका गीतकार, सङ्गीतकार एन. जे. सागर शाह उनलाई कोमल हृदयका धनी स्रष्टाका रूपमा चिन्छन्। शाहको बसोबास नयाँबजारमा रहँदा कोठामै बसेर धेरै पटक गीतसङ्गीतका प्रेमील कुराकानी गरेको स्मरण मात्रै होइन, २०५९ सालतिर डाफे कला मन्दिरको आयोजनामा भदौरे तामागीमा भएको कार्यक्रममा जाँदा गौचनले भनेको ‘मन उतै छोडियो ज्यान पोखरा मोडियो’ वाक्यांश जीवनभर स्मरणमा रहेको बताउँछन्। थापाको जस्तै गौचन र शाहको एउटा पूरा हुन नपाएको एउटा धोको अझै मनमा अमिल्याएर राखेका छन् उनले।
गौचनको शब्द र सङ्गीतमा रहेको एक गीत सागर तिमीले गाउनुपर्छ भनेर दिएको गीतः ‘के देखेर आयौ तिमी मेरो जीवनमा, कस्तो प्रित लायौ तिमीले पायौं चिहानमा।’ गीत रेकर्ड गर्न नपाएको धोको अझै रहेको सन्दर्भलाई उनले पटक–पटक सम्झदै आएको पाइन्छ। यस्तै सन्दर्भ मात्रै होइन, गौचनले सुन्दर पोखरामा देखेको एक सुन्दर सपना थियो, गीतसङ्गीतको म्यूजियमसहितको क्याफे सञ्चालनको। जुन उनी सधैँ चिया खाजाका लागि जाने महेन्द्रपुलको माधव क्याफेका सञ्चालक माधवले बताउँदै आएका छन्। यसरी आफ्नै जीवनमा पूरा हुन नपाएका उनका अपुरा र अधुरा सपना पूरा गर्नका लागि पछिल्लो पुस्ता अवश्य उनको यात्रालाई समद्ध पार्नका लागि अगाडि लाग्ने छन् भन्न सकिन्छ।
७. निष्कर्ष
२०३९ सालमै नेपाल प्रज्ञा प्रतिष्ठानबाट आयोजित कविता महोत्सवमा पुरस्कृत गौचनको कवित्वका बारेमा आम पाठकले आफै मूल्याङ्कन गरिसकेका छन्। उनको गीतिलेखनका सन्दर्भमा उनका कालजयी गीतले उनलाई अजर अमर बनाइराखेका छन्।
५८ वर्षको जीवनभित्र नेपाली साहित्यफाँटमा जे जस्ता काव्यकृति नेपाली वाङ्मय क्षेत्रलाई दिएर उनी भौतिक रूपमा विदा भए अब उनको सम्मानमा उनका अनुयायीले उनले हिँडेको मार्गलाई फराकिलो बनाउँदै धवलागिरि, माछापुच्छे«, अन्नपूर्णको जस्तो गौरव र फेवाको जस्तो अटल आस्था र विश्वास राखेर उनको सिर्जनाको सौन्दर्यलाई सुवासित र सुशोभित गराउनु वर्तमानको माग हो।