आजको दिन नारीका लागि विशेष दिन अर्थात् अन्तराष्ट्रिय नारी दिवस । सबै सरकारी तथा गैरसरकारी संघसंस्थाका महिला कर्मचारीलाई विदा हुन्छ यो दिन । विदा सदुपयोग गर्दै कति घरमा आराम गर्दैछन् त कति परिवारसँग घुम्दैछन् । कतिपय नारी त नारी दिवसका विविध कार्यक्रममा सहभागी हुँदैछन् ।
मनरुपालाई भने नारी दिवसले छोएकै छैन । उनलाई अर्कै चटारो छ घर धन्दाको । हाकिम भनौदो शोषकलाई कर्मचारीको स्वास्थ्य र अधिकारसंग सरोकार छैन । केवल काम भए पुग्छ । वर्षमा एक पटक आउने नारी दिवसका दिन पनि विदा नदिने हाकिमको निर्णयले मनरुपालाई घरधन्दा सकेर अफिस पुग्ने हतार छ । बरु अफिस सकिएपछि अफिसमा सबै महिलालाई सम्मान गर्ने सानो कार्यक्रम गरौला भन्दै हाकिमले नारी दिवसको विदा कटौती गरिदिए ।
मनरुपालाई मात्र होइन, अफिसका सबै महिला कर्मचारीलाई हाकिमसंग रीस उठेको छ तर विद्रोह गर्ने सहास भने कसैमा देखिएन ।
नारी दिवस भएर नै आज छोरी सरिनाको पनि स्कुल विदा छ, त्यसैले उनी ल्याप्टपमा गेम खेल्नमै व्यस्त छिन् । सासुआमाको घन्टौसम्म लाग्ने पूजापाठ सकिएको छैन । छिमेकका अन्य महिलाहरु अफिस विदा भएर घरधन्दा पनि सुस्तरी गर्दैछन् । कोही दिदीबहिनी सपरिवार घुम्न निस्केका देखिन्छन् । भातभान्छा सबै गरेर मनरुपालाई भने अफिस पुग्न हतार भएको छ । ल्यापटबाट आँखा उघाँरेर मम्मी आज नारी दिवसको दिन पनि विदा छैन, अफिस जानुपर्ने हजुरलाई भनेर छोरीले भन्दा मनरुपाको मन अमिलो भएको छ । त्यही अमिलो र दुखेको मन लिएर मनरुपा अफिस लाग्छिन् ।
अघिपछि भन्दा सार्वजनिक सवारी साधनमा पनि महिलाको चाप न्युुन देखिन्छ सायद अफिस विदा भएर होला ? सडकको छेउछाउमा विभिन्न पहिरनमा ठाँटिएर कार्यक्रमतिर पुग्न हतार गरिरहेका महिलाका फौज पनि ठूलो देखिन्छ । वर्षभरि कामको बोझबाट मुक्ति पाएको खुसियालीमा आफ्नो अधिकार उपभोग गर्न हिँडिरहे भैm लाग्छ सडकमा लस्कर देख्दा । अघिपछि धुलाम्मे सडकमा उभिएर सवारी साधन व्यवस्थापनमा खटिने महिला ट्राफिक प्रहरीको पनि सडकमा उपस्थिति शुन्य छ । यसबाट के प्रस्ट हुन्छ भने आज महिलाको लागि विदा छ र स्वतन्त्र रुपमा महिला कार्यक्रममा पनि सहभागिता जनाउने, घुम्ने काममा व्यस्त छन् ।
स्वतन्त्रताको अनुभुति गरिरहेका महिलालाई मनरुपा जस्ता धेरै महिलाको पीडा के थाहा ? मनरुपा अफिस पुग्दा हाकिम आएर कुर्सीमा ढसमस्स बसि सकेको थियो । हेर्दै तानाशाही जस्तो लाग्छ मनरुपालाई उसको अनुहार । अफिस प्रवेश गरेपछि मन नलागे पनि मनरुपाले हात उठाएर नमस्कारको अभिवादन टक्राउँछे । अभिवादनमा भन्दा काम नपरी मनरुपाको मात्र होइन अन्य कर्मचारीको पनि हाकिमसंग बोलचाल लगभग बन्द जस्तै हुन्छ ।
मनरुपा जस्तै सबै महिला कर्मचारी हाकिमको आदेश नर्कान नसक्दा अफिस उपस्थित हुन बाध्य थिए । हाकिमको अघिल्तिर कर्मचारी भएर पालना गर्नुपर्ने नियमको जालोमा जेलिएका विचरा ! महिला कर्मचारी कतिका मनमा आज विविध कार्यक्रममा जाने रहर त कतिको विदामा परिवारसँग सिनेमा हेर्ने रहर कुण्ठित बनाएर काम गर्न बाध्य थिए ।
समय छउन्जेल गधाजस्तो काममा जोताएर साँझ अफिस छुट्टि हुने समयमा नारी दिवसमा अफिसमा महिला कर्मचारीको सम्मानमा कार्यक्रम गरेको नाटक प्रस्तुत गर्न हाकिम भनौदोले महिलाको गलामा खाँदा पहि¥याए र मिठाइका टुक्रा पनि बाँडि टोपल्यो । नचाहेर पनि महिलाले खादा पहिरिए । मुख पनि मिठाए ।
उसको एउटा खादा र मिठाइको टुक्रामा दिल खोलेर हाँसिदिन बाध्य थिए कर्मचारी हाकिमले फेसबुकमा पोष्ट गर्ने सुन्दर तस्वीरका लागि । उनीहरुले अनुहार ठुस्स लगाए हाकिमका आँखा रीसले ठुला–ठुला हुन्थे किनकी उसलाई आफ्ना फेसबुकमा आज आफ्नो अफिसमा नारी दिवसको अवसरमा महिला कर्मचारीहरुको भव्य सम्मान गरिएको हँसिलो तस्विर राख्नु थियो । त्यसैले हाकिमका आँखाका भाका बुझेरनै मनरुपा लगायत सबै महिला कर्मचारी हाँसिदिए । हाकिमले मख्ख परेर मुस्कान सहितका महिला कर्मचारीका तस्वीर मोवाइलमा कैद ग¥यो ।
अनुहारमा बनावटी हाँसो निकाल्न विवश ती कर्मचारीका पीडा र मनभित्रको वेदना त्यो हाकिमलाई के पत्तो र ? एक टुक्रो मिठाइ र एउटा खादाको देखावटी सम्मानमा हाम्रो अधिकार लुट्ने लुटेरा भनेर मनमनले हाकिमलाई सराप्दै महिला कर्मचारी अफिस सकेर निस्किए । दिउँसोभरि गधा जस्तो काममा जोताएर छुट्टि भएपछि एउटा खादा ओडाएर सम्मानको नक्कल गर्ने शोषक भन्दै रीसको पोको बोकेर सबै बाहिर निस्किए पछि हाकिमलाई सराप्न थाले ।
‘आज विदाको दिन छोराछोरी लिएर घुम्न जाउँला भनेको योजना चौपट्ट पारिदियो यो असति हाकिमले’ एउटा महिला कर्मचारीले रीस मिश्रित शब्द पोखिहाली हाकिमको पछाडि भए पनि । ‘आफु त माइत जाने कत्रो योजना थियो आज, आफु त कार्यक्रममा जाउँला भन्ने सोचेको के को नारी दिवस नि यही पापी हाकिमको अनुहार हेर्न लेख्या रैछ आज पनि सबैले पालैपालो गुनासो पोखेर मन हलुका पार्ने प्रयत्न गरे ।
सम्मानको नाउँमा गलामा पासो भै थमादिएको खादाबाट शासकको गन्ध आई रहेको अनुभूति भएको थियो सबैलाई । खादा झिकेर कसैले डस्टविनमा हालिदिए त कसैले रीसले हातमा मुठ्ठि कसेर डल्लो पारिरहे । सम्मान गरेको एउटा टुक्रो कागज किन नहोस् मानिसलाई प्रिय हुन्छ र जीवनभर सम्झना स्वरुप भित्तामा सजाएर राख्छन् तर यहाँ मनरुपालाई मात्र होइन सबैलाई सम्मानको नाउँमा दिएको खादा घाँडो भएको छ । मिल्ने भए त्यसको एक टुक्रो मिठाइ पनि बमिट गरिदिन्थे मनरुपाले हाकिम प्रति तिव्र रीस गर्दै भनिन्, ‘ विचरा ! ति महिला निर्जिव खादा र मिठाइ प्रति रीस पोखेर आफुहरु माथि हाकिमले गरेको अत्याचारको विद्रोह गर्दैछन् ।’ उनीहरुको विद्रोहको माध्यम बनेको छ । निदोर्ष खाँदा, दोषी हाकिम चाहिँ फेसबुकमा महिला कर्मचारीको भव्य सम्मान गरियो आफ्नो अफिसमा भनेर स्ट्याटस लेख्दै फोटो अपलोड गर्नमा व्यस्त छ ।
हाकिम प्रतिको रीस, सरकारले दिएको अधिकार पनि नपाएर दासीभैm घोटिनु पर्दाको अथाह पीडाले मन भारी बनाएर मनरुपा घर आइपुगिन् । घर आइपुग्दा उज्यालोलाई लगभग पुरै अध्यारोले वशमा पारिसकेको थियो । छोरी सरिनाले मम्मी कति अवेला गर्नु भएको आफुलाई दिउँसभरि घरमा बस्दा कस्तो दिक्क लागिसक्यो भनेर चिच्याउदै मनरुपालाई अंगालो हाल्न पुगिन् । सबैका अफिस विदा हुने, तेरो मात्र अफिस विदा नहुने भन्ने हुन्छ, यसो अफिस विदाको दिन घरमा काम सघाउँली भनेको विदाको दिन पनि काम छल्न अफिस जाने बहाना पार्छेस भन्दै सासुआमाले कामचोरको आरोप लाउँदै टोकस्न थालिन् ।
मनरुपाले छोरी र सासुआमा दुवैलाई कुनै प्रतिउत्तर दिन चाहिनन् ।
मनरुपाले मनमनै सोचिन् – आज सबैको अफिस विदा हुन्छ भन्ने कतैबाट थाहा पाएर उहाँले मलाई कामचोरको उपनाम राख्नु भएको हो, विचरी ! अशिक्षित मेरो सासुआमालाई म जस्ता कयौ नारीहरुको पीडा र हाकिमका कठोर मन के थाहा ? उनीले सासुआमाले काम चोर भन्दा पनि कुनै रीस राखिनन् सासुआमासंग किनकि उनलाई राम्रोसंग थाहा थियो सासुआमालाई विदाको समय बुहारी र नातिनी संगै बसेर मिस्ठान्न परिकार बनाएर चाख्ने रहर । शिक्षाको संसारबाट टाढा आफ्ना सासुआमासंग मनरुपालाई के को रीस शिक्षितको विल्ला ओडेको हाकिमले त नबुझेपछि ।
नारीलाई सम्मान गर्नु पर्ने दिन रे तर तिनै नारीलाई कति बुझेर वा नबुझेरै नारीबाट पीडित छन् कति पुरुषहरुको दमनमा पिल्सिन बाध्य छन् के थाह यो समाजलाई ? त्यस माथी लोग्ने खाडीमा पसिना बगाउन गएको मनरुपा जस्ता स्वास्नी मान्छेको पीडा बुझ्ने को होला र ? लोग्ने परदेश भएका स्वास्नी मान्छेलाई घर धान्न त्यसमाथि घर बाहिर एउटा जागिरे जीवन थेग्न कहाँ सजिलो छ र ? समयमै अफिस नपुगौ हाकिमको डर ? घर धन्दा पनि गर्नै प¥यो ? घर धन्दा र केटाकेटीको स्याहार गर्न छाडेर जागिर मात्र धायो भने गति छाडा आइमाइ मनिहाल्छ यो समाजले कसले बुझ्नु मनरुपाको मनको वेदना ।
मनभरि कुरा खेलाउँदै पीडालाई गाँठो पारेर भए पनि मनरुपा भान्छातिर काम गर्दै थिइन् । छोरीले पल्लो कोठाबाट चिच्याइन मम्मी बाबाले स्काइपमा कल गर्नु भएको छ चाँडै आउनुस् न । छोरीको कुरा सुनेर मनरुपाको पीडा अलि कम हुँदै जान्छ । उनी हत्तपत्त दौडेर कोठामा पुग्छिन् । उता मुस्कुराएको आफ्नो लोग्नेको अनुहारले मनरुपाका पीडा सबै दुर हुन्छ ।
‘मनरुपा सन्चै छ तिमीलाई, कस्तो थाकेको अनुहार लाएकी के भयो ?’, लोग्नेको माया मिश्रित आवाजले मनरुपा स्तब्ध बन्न पुग्छिन । उनको जवाफ नआउँदै उताबाट लोग्नेले भन्छ – कि आज अन्राष्ट्रिय नारीदिवसको दिन पनि उपहार पठाएन भनेर रिसाएकी त छैनौ नि ? लोग्नेको प्रश्न सुनेर हाकिमको दिउँसो व्यवहारको सम्झना आउँछ मनरुपालाई । तर पनि त्यो पीडा सारा भुलेर मनरुपा मुस्कान मिसाउँदै बोल्छे आफ्नो लोग्नेसंग किन रिसाउनु प¥यो । म त सधै खुसी हुनि हजुरसंग । उपहार पठाउन टाढा भएपनि आज अन्तराष्ट्रिय नारीदिवसको तिमीलाई धेरै धेरै शुभकामना मनरुपा उपहार होइन शुभकामनाका शब्द मात्र टक्राउन सके तिमीलाई लोग्नेको यस्तो जवाफले उनीभित्र लुकेको अथाह पीडा दुर भएर जान्छ ।
उनलाई यस्तो लाग्छ लोग्नेकै छात्तीमा टाँसीएर रुदै मनको अथाह पीडाको सागर उसकै छात्ती माथि बगाइदिउ तर अफसोच ऊ सात समुन्द्र पारीको संसारमा छ आफ्नो परिवारको सुनौलो सपना सजाउनकै लागि पसिना बगाउन व्यस्त छ । र सात समुन्द्र पर रहेर पनि अन्तराष्ट्रिय नारी दिवसको शुभकामनाका शब्द मात्रै पस्केर भए पनि सम्मान गर्ने आफ्नो महान लोग्ने र सम्मानको अर्थ नबुझ्ने शिक्षित शोषक हाकिम दुबैलाई ऊ तुलना गर्छे । त्योे हाकिमको रुपलाई बिर्सेर र उसले दिएका पीडाका आँसु पुछेर मनरुपा महान लोग्ने संगै मुस्कुराँदै गफमा रमाउन थाल्दछे ।