म जल्दैछु बाबा........!
उसैले लगाइदिएको सिन्दुर, पोते
अनि
रातो सारीको जोडामा.....।
जसको कारणले म
अकालमै जलेर खरानी हुँदैछु।
मैले आफ्ना सारा रहरहरूलाई पनि
सायद यसरी नै जलाएकी थिएँ,
जब हजुरले मेरो गाला सुम्सुमाउँदै
तिमी मेरी इज्जत हौ छोरी....,
मेरो इज्जतमा आँच आउने काम कहिल्यै नगरेस्
भन्नुभएको थियो ।
मैले आफ्ना सपनाहरूलाई
यसरी नै जलाएकी थिएँ,
जब ऊ मेरो हात माग्न आएको थियो....।
यो आशामा कि.....,
उसका हातमा हात मिलाएर
म हाम्रो सुन्दर भविष्य कोर्न सक्नेछु ।
एउटा सृष्टि रच्न सक्नेछु...।
ती तमाम सपनाहरूसँग
सम्झौता गर्न म राजी भएँ,
भोलिको सुन्दर कल्पना गरेर...।
तर उसलाई म ले मात्रै पुगेन,
बाबा....
हजुरले पनि मलाई कमी नै देख्नुभयो ।
त्यसैले त दाइजोको तराजुमा
मलाई जोखेर बिदा गर्नुभयो...।
म त भोलिको स्वर्णिम सपना सजाएर
हुर्किएको आँगनलाई बिदा गर्दै
उसको आँगनमा ओर्लिएकी थिएँ।
तर बाबा....
म तुरून्तै सपनाको संसारबाट खसेँ।
मैले देखें मेरो विपनाको भविष्य बिभत्स थियो।
म हजुरकी परी
तर म यहाँ त्यो ढक भएकी थिएँ...,
जुन तराजुमा सामान जोख्न काम आउथ्यो ।
म दाइजोको पल्लामा भन्दा बढ्ता वजन निस्किएँ।
बाबा.....!
उसलाई म भन्दा पनि ज्यादा
मसँग आउने सामानसँग सरोकार थियो।
बाबा.....
म झन पोलिएकी थिएँ....,
तर म हजुरको इज्जत पो हुँ,
कहाँ फर्किन्थे र .....,
रिझाउन खोजेँ,
उसलाई अपनत्वको आभाष दिलाउन खोजेँ,
उसलाई देख्दा बढ्ने मुटुको गति सुनाउन खोजेँ,
त्यति मात्रै कहाँ हो र?
उसका आडम्बर सोचलाई झेल्न खोजेँ...।
उसले लगाइदिएका आइरनको तातो डामहरूलाई नै
उसको न्यानो स्पर्श मान्न खोजे,
तर म फर्किनँ बाबा....।
हजुरले नै त भन्नु भएको थ्यो
उसको हातमा सुम्पिँदा....
पाले पुण्य मारे पाप !
मेरो सर्बाधिकार उसैलाई त दिनुभएको थियो..।
छोरी चाहे जस्तोसुकै
पीडामा होस्,
छोरीलाई पाल्नु इज्जत फाल्नु मान्नुहुन्छ भने
म कुन मुखले फर्किन सक्थे?
उसका आवेगहरूलाई सहिरहे...,
दिनदिनै बढ्ने प्रताडनाहरूलाई झेलिरहेँ....,
मेरो सहनशीलतालाई
उसको पराकाष्ठाले जित्यो
म बाचुञ्जेल आफ्ना रहर, सपनालाई जलाएरै बाचे
बाबा......!
आज उसले मलाई पोलेरै मार्यो ।
म आडम्बरमै जन्मिएँ,
आडम्बरकै जालोले म फक्रन पाइनँ
बाबा...
आज म आडम्बरमै जल्दैछु
उसैले लगाईदिएको सिन्दुर, पोते
अनि,
सारीको जोडामा।
बिन्ती बाबा...!
म जस्तै रहर र सपना सजाएर
सुन्दर भविष्यको कल्पना गर्ने
मेरा बैनीहरूले
आफ्ना सपनाहरूसँग सम्झौता गर्नु नपरोस्।
यी तमाम आडम्बरबाट मुक्ति पाउन्।
आडम्बरको खोल ओडेर कुनै पनि नरसंहारले
तपाईकि परीलाई ज्यूँदै जलाउने
दुस्साहस नगरोस्।
कुनै पनि चेलीहरू
दाइजोको तराजुमा उत्रिन नपरोस्।
हरेक बाबा हरूलाई बिन्ती!