ए मान्छे
एकैछिन पर्खेर
तिम्रो (अस्तव्यस्त) समयको
एक हिस्सा मलाई दिन्छौ कि ?
जसरी तिम्रा लागि छ,
मेरा लागि पनि समय महत्वपूर्ण छ
समयको सदुपयोग गरी
गर्नुपर्ने धेरै छ
तिम्रा लागि,
शर्तहरूको पुल बाँधेर
स्वार्थै स्वार्थले भरिएको
समुद्र पार गर्नुछ
अनि, स्वार्थ सिद्धिबाट आर्जिएको
अभिमानको आशनबाट
तिम्रा आफ्नै मान्छेहरूलाई
शासन गर्नुछ
मेरा लागि,
तिम्रो अभिमानको राज्य मेटाउने,
स्वार्थको समुद्रलाई प्रेमिल बनाउने
आफूमा सबै र सबैमा आफू देख्ने
अर्को एउटा मान्छेको खोजी गर्नुछ
तिमीलाई,
अरुलाई छलेर र,
आफैंलाई छल्ने प्रयास गरी
केही दृश्य तर धेरै अदृश्य,
केही जायज तर धेरै नाजायज
कर्महरूको खेती गर्नुछ
जसले तिम्रो अपेक्षा भन्दा भिन्न
क्रोध र अहंकार बढिरहेछ
दु:ख र अशान्ति फैलिरहेछ
मेरा लागि,
भित्र र बाहिर एकै रूपको,
सदैव दृश्य र सदैव जायज
एक सत्कर्मी पात्रको खोजी गर्नुछ
जसले,
क्रोध र अहंकारको समाधिबाट
सुख र शान्तिको बाटो देखाओस्
तिमीलाई त,
यो माटो, यो हावा, यो पानी,
यो उज्यालो, यो अँध्यारो अनि,
को भरी ? को रित्तो ? हरेकसँग
केवल पाउनुछ ! केवल लिनुछ!
मलाई,
तिमीलाई सम्झाउनुछ,
यदि समेटेरै भरिने भए,
यदि लिएरै पूर्ण हुने भए,
सदियौं देखि समेटिरहेको
हर कोहीसँग लिइरहेको
तिमी (मान्छे)
किन अझै रित्तो छौ ?
किन सधैं अपूर्ण छौ ?
अनि हेर त,
तिमीले जे जे समेटिरहेका छौ
जो जसबाट लिइरहेका छौ
ती सधैं भरिला छन् !
र सधैं पूर्ण छन् !!