युवक– रात्री बसमा भेट्दा मैले भनम् यिनले के के गर्थिन्?
जतिजति वर जान्थे त्यति त्यति पर सर्थिन्।
चिसो चिसो मौसम थियो छोटो सलको भरमा यिनी,
जीउले थोरै संकेत गर्दा ओठ टोकेरै आँखा तर्थिन् ।
युवती– झट्ट हेर्दा बुढो लाग्यो सम्झें आफ्नै बुवाजस्तै,
जीउडाल हेर्दा खानदानी झैं छाम्दा फ्यास्स भूवाजस्तै ।
छोएर मन नअघाउने प्यास त थियो कतिकति,
तीर्खा मेट्न नसकिने पानी बिनाको कुवा जस्तै ।
युवक–आखिर मनमा तिम्रो पनि, के के के के भाको रैछ,
संग्लो पानी पाए तिर्खा, मेट्ने मन नि लाको रैछ ।
पीठो पनि मिठो हुन्छ, भोक लागेको बेला पाए,
तीर्खा मेट्ने मन त रैछ, थोरै शंका बाको रैछ ।
युवती– घरमा होलान भन्ट्याङभुन्टुंग, हजुर बुवा भन्दै आउलान्,
साथीसंग सन्ध्याकालिन हरेरामको भजन गाउलान् ।
केश फुलेर सेतै भाका पावरवाला चस्मा लाका,
सोचें मैले यस्ताले नि केको दरो माया लाउलान् ।
युवक–जीउ छिप्पेर गए पनि मन तरूनो यो बुढाको,
छ्यास्स बल्ने पराल भन्दा आगो न्यानो त्यै मुढाको ।
मनमा सन्तोष भएरै होला राजा राजा भन्छन् मलाई,
औधी निको लाग्छ अरे अण्डरग्राउण्ड रेल गुडाको ।
युवती–अझै पनि पट्याउनलाई, बुन्छन केके तानाबाना,
झटारैले टिप्न खोज्छन् पाक्न लाका अनार दाना ।
भोक लागेका बेला मात्रै मीठो हुन्छ भुट्या मकै,
ताजै जस्तो के हुन्थ्यो र चाउरिएका मुला चाना ।
(पोखराका मुक्तकार रानाभाटको मुक्तक संग्रह समयका स्वरहरू प्रकाशित छ ।)