घर हो मेरो पूर्व कोशी
तिम्रो पश्चिम गण्डकी ।
कर्मथलो बन्यो हाम्रो हेर
निश्चल पवित्र बागमती ।।
भेट भो हाम्रो पोखराको
एक सुन्दर गाँउमा ।
प्रेम बस्यो स्नेह बढ्यो
थालें धाउन त्यो ठाउँमा ।।
लाग्थ्यो मलाई हेरिरहुँ
सम्झी मोती तिमीलाई ।
लाग्न थाल्यो प्रेम नगरी
तिम्रो सुन्दर त्यो गाउँलाई ।।
घर हो मेरो पूर्व कोशी
तिम्रो पश्चिम गण्डकी …….
घुमफिर गर्यौं चित्ता माझ्यौं
रमणीय त्यो पोखोरा सहरमा ।
मन मिल्यो अघि बढ्यौं
जीवनको लामो सफरमा ।।
भयो होला दु:ख कष्ट
गन्तव्यको ती आकारहरूमा ।
भयो होला भूलहरू पनि
उमेरको उताउलो मोडहरूमा ।
घर हो मेरो पूर्व कोशी
तिम्रो पश्चिम गण्डकी……
बिर्सिदिउ त्यो क्षणहरू
भावीको खेल नै मानी ।
दोषी त थियो हाम्रै जवानी
मानौं उसैको भेल हो भनी ।।
छौ जस्तै मौरीको रानी तिमी
वरिपरि छन् परिवार झुमेको ।
कहिल्यै नटुट्ने माया जाल
छौ तिमीले बुनेको ।।
एकैदिन तिमी नहुँदा
शून्य लाग्छ यो संसार ।
हुन्छौ जब तिमी यहाँ
जगमगाउँछ घर परिवार ॥
घर हो मेरो पूर्व कोशी
तिम्रो पश्चिम गण्डकी
कर्मथलो बन्यो हाम्रो हेर
पवित्र अञ्चल बागमती ......