धेरै ऋतुहरू यो बूढो घरको बाल्कोनीबाट
मलाई स्पर्श गरेर गुज्रिएका छन्।
नछोएको त तिमीले मात्रै हो ऋतु
किन प्रकृतिमा ऋतु जस्तै सन्तान फर्किने नियम छैन?
यो मेरो सयन कक्षभित्र
धुलाम्य भएर बसेको छ तिम्रो पास्नीको तस्वीर
एकचोटि मात्र एकचोटि आएर धूलो पुछेर जाउँ
मेरो दृष्टि बन्द हुनुभन्दा पहिले
म तिमीलाई हेर्न चाहन्छु ऋतु।
तिम्रो बाबाले ल्याएको क्लासिक घडी
तिमी आउने पछिल्लो समयको घोषणामा
अवरूद्ध भएर झुण्डिएको छ
यो स्थिर समय; तिम्रो आगमनले चलायमान होस्
हाम्रो बगैंचाको त्यो आँपको वृक्ष
जहाँ तिमीलाई आँप खुवाउँथें म
आज बूढो भएको छ म जस्तै
थोती,कुप्री,उजाड, उदास छ
गुँड लगाएर बसेका जुरेली पनि बसाइ सरिसके
ढल्नुभन्दा पहिले त्यो वृक्ष आएर समापन गरिदेउ ऋतु।
सास त चलेकै छ ऋतु
यो आशाको आश मर्दैछ
सास चल्नुमात्रै पनि जीवित हुनु रहेनछ
आश नभएको जीवनको अनुराग भएन।
कुनै दिन तिम्रो व्यस्त समयमा
यो आशा तिम्री आमालाई सम्झियौ भने
धेरै त केही भएको हुनेछैन
मेरो माशंपेशीहरू गलिसकेका हुनेछन्
अस्थीहरू तिम्रो स्वागतमा तत्पर रहनेछ।
मेरो हातमा एउटा चिठी हुनेछ
जसमा लेखिएको हुनेछ
मेरो अन्त्येष्टिमा; मेरो अस्थी सँगै तिम्रो पश्चताप जलाइदिनु
तिमी दुखी भएको हेर्न सक्दिनँ
यो बूढो घर बेचिदिनू
र तमाम त्यी व्यस्त सन्तानहरूलाई पारिश्रमिक स्वरूप दिनू
जसले आमालाई जीवित भेटिदिएर आफ्नो कर्तव्य पूरा गर्नेछन्
अन्त्यमा मैले तिमीलाई सिकाउन बिर्सेको जीवनज्ञान
तिम्रो सन्तानलाई सिकाउनू
पैसाभन्दा ठूलो ममता र करूणा हो
तिम्री आमा आशा साहनी।