कस्तो छ तपाईंलाई?
जाति नै हुनुहुन्छ नि!
हुन त,
अझै १५ वर्ष बाँच्छु
भन्नुहुन्थ्यो अस्तिताका
देशको प्रधानमन्त्री!
लामो होस् तपाईंको आयु।
आज बाको मुख हेर्ने दिन
मैले ‘बडेबा’ सम्बोधन गरेँ
तपाईं त देशबासी सप्पैको
बा हो नि, होइन र?
बडे बा!
हाम्रा सञ्चो/बिसञ्चो चैं
कहिले सोध्नुहुन्छ?
निको/ननिको
कहिले जान्नुहुन्छ ख्वै?
नसोधे पनि भन्छु है आज
देशका बालाई,
एउटी छोरीले
फुर्सद छ?
सुन्नु हुन्च आँसुका कथा?
ठूल्दाइ जनयुद्धका शिकार बने
दिदी तिनताकै हो
बलात्कृत भैच
छ महिने पेटको बच्चैसित
रुखमा पासो लाएर मरी
सात वर्ष भयो
सान्दाइ बिहे गरेर कतार गएका
फर्केनन्,
दाइ नभएको घर
भाउज्यू किन बस्थिन्, हिँडिन्
आमाको बेथै पत्ता लागेन
पोहोर सिन्काझैं सुकेर मरिन्
बा ओच्छ्यान पर्नु भाको छ अचेल
बल्लबल्ल सदरमुकाम पुगेर जचाको
निको हुन्न रे!
डाक्टरलाई सोधेँ,
के भको हो बालाई ?
भन्थे, प्रधानमन्त्रीको जस्तै रोग हो
बडे बा!
तपाईं जचाउन सिंगापुर पुग्दा
हाम्लाई सदरमुकाम पुग्न धौ
कसरी सम्भव छ गरिबको उपचार?
गहभरि आँसु पार्छन् बा
भन्छन्,
नानी! तेरो टुंगो नलाई मोर्चु क्या।
भन्छन्–
आल्लि बाँच्न पाए त
नेपालाँ नि रेल आम्च रे!
पानीजहाज आम्च रे!
घर्घराँ पाइपाँ ग्यास आम्च
भन्तो रेडियाले
देख्दाम् नि है!
प्रधानमन्त्रीको जस्तो रोग भन्तिस्
बाँचुम्ला नि गोडा पन्द्रेक वर्ष
कसरी भनुम्,
बा!
तपाईंको आयु चाँडै सकिँदैछ
बडेबा!
भो अब नदेखाउनुस्
सुख र समृद्धिको लालसा
अहँ चाहिएन
बत्ती,
पानी,
बाटा,
स्कुल,
अस्पताल,
रेल,
पानीजहाज,
अहँ चाहिँदैन
हामी भुइँमान्छेलाई सुखका कथा
परार आमा बित्दा
पिँडीमा चुपचाप सुतेको
आमाको शव
आमाकै मजेत्रोले छोपेर
मलामी खोज्न हिँडेकी म।
अब यी बालाई केही भए
कसलाई रुँघ्न लगाएर
मलामी खोजुँला?
बडे बा!
चुनाव जितेपछि
बाई! बाई! गर्दा
हल्लिएका हातहरू
हाम्रा निम्ति फेरि
कहिल्यै जोडिएनन्।
आज
देशका बासँग
एउटी छोरीले यत्ति मागे
कि त विदेशिएका दाजुभाइ
फिर्ता बोलाइदिनुस्
हैन भने गाउँका
गरिब,
रोगी,
बेसहारा,
वृद्धवृद्धालाई
पायक पर्ने गरी
नदीका छेउछाउ
छाप्रा बनाइदिनुस्
घरघरमा बेवारिसे वृद्ध
बाआमाका लाशहरू
घरभित्रै कुहिनेछन्
जसको गन्ध
सिंहदरबार नपसोस्।