बुवा, परदेश जान्नँ म
त्यहाँ कोरा नफस्टाएका सपना पाइन्छ रे
रातो बाकसमा अकस्मात् घर फर्केर आइन्छ रे ।
बुवा, परदेश जान्नँ म
त्यहाँ देश भुल्ने मन्त्र सिकाइन्छ रे
भीडभाडमा हराउन सिकाइन्छ रे ।
बुवा, परदेश जान्नँ म
त्यहाँ समय जोखिन्छ रे
कागजको वजनमा इज्जत नापिन्छ रे ।
बुवा, परदेश जान्नँ म
त्यहाँ जीवन जिउन हैन भोग्न सिकाइन्छ रे
तृष्णाको खेतीपाति गर्न लगाइन्छ रे ।
बुवा, परदेश जान्नँ म
त्यहाँ पढे लेखेका मुर्ख बनाइन्छ रे
परेर भोग्ने हुत्तिहारा बनाइन्छ रे ।
बुवा, परदेश जान्नँ म
त्यहाँ देशको दु:खको कथा सुनाइन्छ रे
साइली र माइलीका गीत गाइन्छ रे ।
बुवा, परदेश जान्नँ म
त्यहाँ गगनचुम्बी महल बनाइन्छ रे
गगनचुम्बी सोच भत्काइन्छ रे ।
बुवा परदेश जान्नँ म
त्यहाँ देश भक्तिको नसा चडाइन्छ रे
देशको मर्माहत दु:खको नाममा दुई चार पैसा उठाइन्छ रे ।
बुवा, परदेश जान्नँ म
त्यहाँ आफ्नो बालापनको कन्काल भेटिन्छ रे
त्यहाँ तन्नेरी अवस्थाको भावनाहरू जलाइन्छ रे ।
बुवा, परदेश जान्नँ म
त्यहाँको समुन्द्रमा गर्जंदै छाल आउँछ्न् रे
देश फर्केर केही गर्ने सोच बगाएर लैजान्छ्न् रे ।।