हाम्रो अन्तरिक्ष मिसन मंगल ग्रह भन्दा टाढा पुग्न सकेको थिएन। सुरक्षा संवेदनशीलताका कारण पनि पृथ्वी भन्दा बाहिर नै वार्ता गर्न उपयुक्त हुने भएकोले वार्ता गर्नको लागि पृथ्वीबाट एकल प्रतिनिधिको रुपमा मलाई मंगल ग्रहमा पठाइएको थियो।
मंगल ग्रहको सतहमा अक्सिजन ग्यास निकै कम थियो। अर्को कुरा मंगल ग्रहको गुरुत्व आकर्षण बल पृथ्वीको गुरुत्व आकर्षण बलको तीन भागको एक भाग जति मात्र थियो। म एक विशेष प्रकारको एप्रोन लगाएर मंगल ग्रहस्थित हाम्रो अन्तरिक्ष अन्वेषण केन्द्र भित्र बसेको थिए। टाउकोमा अक्सिजन माक्स जडित हेल्मेट पनि लगाएको थिए।
पूर्वनिर्धारित समय बमोजिम नै ओहोब्रह्म ग्रहका होरोबोट वार्ताका लागि अन्तरिक्ष यानमा मंगल ग्रहमा आइपुग्दै थिए। उनीहरूको अन्तरिक्ष यान अवतरणका लागि हाम्रो अन्तरिक्ष अन्वेषण केन्द्र रहेकै मरुभूमिको समथर फाँटमा व्यवस्था मिलाएका थियौ। उनीहरूको अन्तरिक्षयान निकै विशाल थियो। उनीहरूको अन्तरिक्षयान हामीले परिकल्पना गर्ने गरेको युएफओभन्दा विल्कुल फरक डुङ्गा आकारको¸ पिधँमा फिरफिरे जडित थियो। त्यस डुङ्गा आकारको अन्तरिक्ष यानको वरपर निलो बत्ती धिपधिप बलेको थियो।
उनीहरूको अन्तरिक्षयानलाई नजिकबाट हेर्दै गर्दा मेरो मन एकातिर उत्साहित थियो भने अर्कातिर कतै उनीहरुले पृथ्वीमा आक्रमण गरी आफ्नो साम्राज्य विस्तार गर्ने योजना लिएर आएका त छैनन् भन्ने कुराले भयभित पनि थियो ।
उनीहरूको अन्तरिक्ष यान नजिक नजिक आएसँगै हाम्रो अन्तरिक्ष अन्वेषण केन्द्रको भौतिक संरचनामा सामान्य पराकम्प महशुस भएको थियो। उनीहरूले आफ्नो अन्तरिक्षयान जमिनको सतहभन्दा केही मात्रमाथि स्थिर भएर रोकिराखे।
केही बेरमै त्यो डुंगा आकारको अन्तरिक्षयानको पछाडि तर्फको भागबाट एउटा ढोका खुल्यो र त्यहीँबाट एकजना होरोबोट मंगल ग्रहमा अवतरणका लागि निस्किए।
होरोबोट मंगल ग्रहको जमिनमा अवतरण गर्न लागेको देखेपछि मैले हाम्रो अन्तरिक्ष अन्वेषण केन्द्रको गेट स्वीच दबाएर खोलिदिएँ। होरोबोटले जेट प्याक उपकरणको सहायताले हाम्रो अन्तरिक्ष अन्वेषण केन्द्रको वरिपरि तीव्र गतिमा एक फन्को लगाए र विस्तारै गेट नजिक आएर अवतरण गरे।
म गेटमै होरोबोटको स्वागतका लागि उभिएको थिएँ।
होरोबोटसँग हात मिलाउन मैले उनीतर्फ एउटा हात अघि सारे। होरोबोटले म तर्फ दुवै हात अघि सार्दै मेरो हातमा केहीबेर समाए। त्यसरी होरोबोटसँग हात मिलाउँदै गर्दा मलाई भने एउटा सानो विद्युतीय झड्का नै लाग्यो।
पहिलो ऐतिहासिक वार्ता
ओहोब्रह्म ग्रहका होरोबोटका प्रतिनिधि र हाम्रो अन्तरिक्ष मिसनका प्रतिनिधिबीच यस अघि पनि टेलिसञ्चारका माध्यमबाट पाँच चरणको वार्ता भै सकेको थियो।
प्रत्यक्ष भेटघाट सहितको भने यो पहिलो वार्ता थियो। यही वार्ताका सम्बन्धमा प्रत्यक्ष जानकारी लिन पाँच शक्ति राष्ट्र प्रमुखहरूको बैठक तीब्बतको पठारमा अवस्थित अन्तरिक्ष मिसन स्टेसनमा डाकिएको थियो।
समग्र विश्वकै ध्यान यस वार्तामा केन्द्रित थियो।
वार्ताका लागि हाम्रो अन्तरिक्ष अन्वेषण केन्द्र भित्र परिसरमा बीचमा टेबल र टेबलको छेउमा दुइटा कुर्ची राखिएका थिए। हामी एक अर्काको आमनेसामने भएर बस्यौं।
टेबलमा दुइटा सादा कागजको बन्डल र कलम राखिएको थियो। भाषा नमिल्ने भएकाले वार्तामा चित्र¸ अंक र संकेतको प्रयोग गरिएको थियो।
मैले सादा कागजमा चित्र बनाउँदै संकेत गरे¸ ‘खुसी लाग्यो भेट भएकोमा।’
होरोबोटले पनि चित्र बनाउँदै तत्कालै प्रतिक्रिया दिए¸ ‘हामी पनि खुसी छौं।’
मैले चित्रमार्फत् सोधिहाले¸ ‘के तपाईंहरू हामीलाई आक्रमण गर्न त आएको होइन?’
होरोबोटः अह! यति धेरै पछि हामीले ब्रह्ममाण्डमा अर्को नयाँ जीवन भेटेका छौं। हामी त मित्रता र अनुसन्धानका लागि आएका हौं।
(सायद पृथ्वीस्थित तीब्बतको पठारमा अवस्थित अन्तरिक्ष मिसन स्टेसनबाट प्रत्यक्ष वार्ताको अवलोकन गरिरहेका पाँच शक्ति राष्ट्रप्रमुखहरूले यो कुरा थाहा पाएर सुरक्षित महशुस गरे होलान्।)
अघि भन्दा अलि सहज महशुस गर्दै मैले वार्ता अघि बढाएँ¸‘तपाईंको ओहोब्रह्म ग्रह हाम्रो पृथ्वीभन्दा कति टाढा छ?’
होरोबोटले सटिक उत्तर दिए¸ ‘५० हजार प्रकाश वर्ष’
एक प्रकाश वर्ष भनेको नै ९.४६१−१०^१२ कि.मि. हुन्छ । होरोबोटहरूले अन्तरिक्षमा यति लामो यात्रा कसरी तय गरे होलान् ? मैले जिज्ञासु हुँदै सोधें¸ ‘होरोबोटहरूको उत्पत्तिको इतिहास कति वर्ष पुरानो छ?’
होरोबोट अंकमा लेखे¸ ‘त्यस्तै १८० करोड वर्ष।’
अर्थात् होरोबोट र पृथ्वीबाट लोप भएका डाइनासोरसको विकासको समय इतिहास लगभग समान रहेछ।
मैले थप प्रश्न गरे¸ ‘तपाईंहरूले अन्तरिक्षको खोज अनुसन्धान गर्न लागेको कति समय भयो? अनि पृथ्वीको बारेमा तपाईंहरूले कहिले पत्ता लगाउनु भयो?’
होरोबोटले विस्तृतमा जानकारी दिँदै उल्लेख गरे¸ ‘होरोबोटहरूका केही पूर्खा ब्रहमाण्डको अध्ययनका लागि आजभन्दा १० लाख वर्ष पहिले नै ओहोब्रह्म ग्रहबाट अन्तरिक्षको यात्रामा हिँडेका थिए। हामी तिनै अन्तरिक्षको यात्रामा हिँडेका होरोबोटहरूको सन्तान हौं। विभिन्न तारामण्डलका ग्रहहरूमा बसाइँ सर्दै बाँकी ब्रहमाण्डको अध्ययन गर्दै हिँड्ने शिलशिलामा आजभन्दा १ लाख ५० वर्ष अगाडि प्लुटानस ग्रहमा आइपुगे पश्चात अन्तरिक्षको अनुसन्धानको क्रममा मिल्की वे तारामण्डल अन्तर्गतको सौर्य मण्डलभित्र पृथ्वीमा निकै विकसित अवस्थामा जीवन छ भन्ने पत्ता लागेको थियो।’
जब मानव ढुंगे युगको पनि प्रारम्भमा¸ अझ ढुङ्गाको प्रयोग गरेर भर्खर आगो बाल्न सिक्दै गरेको अवस्थामा थियो¸ त्यही बखत नै होरोबोटहरूले पृथ्वीको बारेमा पत्ता लगाएका रहेछन् र पृथ्वी नजिक आउनको लागि यात्रा तय गरेका रहेछन्।
मैले होरोबोटलाई उनको पुस्ताको बारेमा सोधें, ‘अनि तपाईंको पुस्ताका होरोबोटहरू कहाँ जन्मिएका हुन्?’
ह्योरोबोट, ‘मेरो पुस्ताका होरोबोटहरू हाम्रा पिता पुर्खाको अन्तरिक्ष यात्राको क्रममा विभिन्न तारामण्डलका ग्रहमा जन्मिएका हौं।’
यी सबै कुरा सुन्दा मलाई आश्चर्य लागिरहेको थियो।
***
दोस्रो शान्ति तथा मैत्री वार्ता
दोस्रो शान्ति तथा मैत्री वार्ता प्लुटानस ग्रहमा आयोजना गरिएको थियो। त्यहाँ ओहोब्रह्म ग्रहका होरोबोटहरूले अस्थायी अन्तरिक्ष मिसन केन्द्र स्थापना गरेका थिए। प्लुटानस ग्रह जानका लागि होरोबोटहरूले मंगल ग्रहसम्म उनीहरूको अन्तरिक्ष यान पठाएका थिए। म मंगल ग्रहबाट त्यही अन्तरिक्ष यानमा चढेर प्लुटानस ग्रहमा पुगेको थिएँ।
होरोबोटः तपाईं पृथ्वीबासीहरू हामीसँग उपहारमा के लिन चाहनुहुन्छ।
चिनियाँ राष्ट्रपतिले केवल अन्तरिक्षको बारेमा सूचना संकलन गरेर मात्र आऊ भनेका थिए। अमेरिकी राष्ट्रपतिले होरोबोटले केही दिन चाहे भने एक टन सुन र एक टन हिरा माग्न भनेका थिए मैले त्यही मागे।
होरोबोटले जवाफमा भने¸ ‘हामी तपाईंहरूलाई १०० टन सुन र १०० टन हिरा दिन तयार छौं।’
मंगल ग्रहमा फर्किंदा हामी हाम्रो अन्तरिक्ष यानसँगै ती धातुहरू पनि पठाइदिन्छौं। हाम्रो लागि मित्रता ठूलो कुरा हो। धातु केही ठूलो कुरा होइन। हामीले सुन र हिराका हजारौं पहाड भेटेका छौं।’
मः ‘हामी पनि तपाईंहरूलाई उपहार दिन चाहन्छौं। उपहारमा तपाईंहरू के के लिन चाहनुहुन्छ?
होरोबोटले जनावर अन्तर्गत एक जोडी हात्ती¸ बाख्रा¸ घोडा¸ परेवा¸ मुसा¸ फट्याङ्ग्रा र विरुवातर्फ वर¸ पिपलको चित्र बनाए । अर्थात उनीहरुले यी जनावर र विरुवाहरु लिन चाहेका रहेछन्।
मैले होरोबोटलाई सोधें¸ ‘मासु खानको लागि यी जनावरहरू मागेको हो?’
होरोबोटः ‘होइन¸ उनीहरू खेलेको हेर्नलाई हो। तर हामी अहिल्यै लग्दैनौं। उनीहरूको लागि बाँच्ने कृतिम वातावरणको निर्माण सम्पन्न भएपछि मात्र लग्छौं। अझै १०० वर्ष लाग्ला।’
मैले अलिकति उदार भए जसरी सोधें¸ ‘तपाईं बाघ चाहनुहुन्छ भने हामी एक जोडी बाघ पनि दिन तयार छौं?’
होरोबोटः बाघ मांसहारी हुन्छ। त्यसैले अहिलेलाई हामी बाघ चाहँदैनौं।
मैले होरोबोटलाई सोधे, ‘किन तपाईंहरू जनावर र विरुवा चाहनुहुन्छ?’
होरोबोटः किनकी जीवित प्राणी भन्दा बहुमूल्य कुरा यो ब्रह्माण्डमा अरु केही पनि छैन¸ त्यसैले।
अघिल्लो भेटमा होरोबोटसँग सोध्न बाँकी रहेका धेरै कुराहरू थिए। यो ब्रह्माण्डको अन्य भागमा अरु के के कुराहरू छन्? जीव र जीवनका सम्बन्धमा बाँकी ब्रह्माण्डमा होरोबोटहरूले के के कुरा पत्ता लगाएका छन्? मैले जीवन र ब्रह्माण्डका बारेमा यिनै कुराहरू होरोबोटसँग सोध्दै गरें ...।